विनाकारण ह्वात्तै बढ्यो सेयर बजार, कारोबार ५ अर्ब नाघ्यो

विनाकारण ह्वात्तै बढ्यो सेयर बजार, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौँ : साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा पुगेको छ। १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ।

 गत साताको अन्तिम कारोबार दिन बिहीबार ०.७९ को झिनो अङ्कले बढ्दै नेप्से २०१८.७६ मा पुग्दा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।

 आइतबार १३ उपसमूहकै शेयर मूल्य बढेको छ। जीवन बिमा उपसमूह सर्वाधिक ४.३८ प्रतिशतले बढेको छ। निर्जीवन बिमा ३.८१, वाणिज्य बैङ्क २.६३, उत्पादन तथा प्रशोधन १.६८, विकास बैङ्क १.६२, लघुवित्त १.३६, होटल तथा पर्यटन १.३५, लगानी १.२९,  जलविद्युत १.२५, म्युचुअल फन्ड १.१५, अन्य उपसमूह २.७६ प्रतिशतले बढेको छ।

२०३ कम्पनीका सेयर मूल्य बढेर लगानीकर्ताले कमाउँदा ४० कम्पनीको घटेको छ। ४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। सीइडीबी हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १४ करोड ८० लाखको सेयर कारोबार भएको छ।

यस्तै फर्स्ट माइक्रोफाइनान्सको ११ करोड ६८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड २३ लाख, पोखरा फाइनान्सको १० करोड ७१ लाख र सिटिजन लाइफ इन्स्योरेन्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

चार लघुवित्तहरू सबैको, आत्मनिर्भर, सामुदायिक र नेरुडे मिर्मिरेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आइतबार सेयर मूल्य घटेर गुमाउनेमा माण्डु हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त जलविद्युत कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ। पिपुल्स पावर, वाराही हाइड्रो र गुराँस लघुवित्तको सेयर मूल्य पनि घटेको छ।

बजार विश्लेषकहरूले आइतबारको बढोत्तरीलाई मौद्रिक नीति समीक्षाले बजारमा लगानीकर्ताको मनोबल बढाएको रूपमा लिएका छन्। मौद्रिक नीतिको समीक्षाले बैङ्कहरूलाई धितोपत्रहरु १ प्रतिशतमात्र बेच्न पाइने नियमलाई खुकुलो पार्दै एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बेच्न दिने नीति लिएको छ।

बैङ्कहरूले सस्तो मूल्यका सेयरहरू खरिद गर्न सक्ने बाटो केन्द्रीय बैङ्कले सहज बनाइदिएको छ। चालु महिनादेखि ब्याजदर थप घट्दा सेयर बजार अझ बढ्ने अनुमान भइरहेको छ।

जेठ ६, २०८१ आइतबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।