हतियार आपूर्ति नगर्ने अमेरिकी चेतावनीपछि बाेले इजरायली प्रधानमन्त्रीले भने- ‘हामी एक्लै उभिन सक्छौं’

हतियार आपूर्ति नगर्ने अमेरिकी चेतावनीपछि बाेले इजरायली प्रधानमन्त्रीले भने- ‘हामी एक्लै उभिन सक्छौं’

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै उभिन सक्ने बताएका छन्।

इजरायलले रफाहमा ठूलो कारबाही गरे हतियार आपूर्ति नगर्ने अमेरिकी चेतावनीपछि नेतान्याहुले यस्तो बताएका हुन्।

उनले भने, ‘आवश्यक परेको खण्डमा हामी एक्लै उभिन सक्छौँ। मैले पहिला पनि भनिसकेको छु, हामी अन्तिम साससम्म लड्नेछौँ।’

प्रधानमन्त्रीको भनाइलाई थप बल दिँदै रक्षामन्त्री योभ गालान्टले इजरायललाई पछाडी राखेर अघि बढ्न नसकिने कुरा मित्र र शत्रुहरूले बुझ्न आवश्यक रहेको बताए।

उनले भने, ‘मित्र र शत्रुले के बुझुन् भने इजरायललाई पछाडि छोडेर अघि बढ्न सकिँदैन। हामी बलियो छौँ र हाम्रो लक्ष्य हासिल गर्नेछौँ।’

अमेरिकाले मानव जीवनमा हुनसक्ने खतरालाई मध्यनजर गर्दै रफाहमा बमको ढुवानीमा प्रतिबन्ध लगाइसकेको छ।  सोमबार इजरायलले करिब एक लाख मानिसलाई रफाह छाड्न आग्रह गरेको थियो।

इजरायलले हमासमाथि विजय हासिल गर्न रफाहमा आक्रमण दोहोर्याइरहेको छ। यदि इजरायलले रफाहमा ठूलो कारवाही गरेमा हजारौं मानिसको ज्यान जान सक्ने अमेरिका र अन्य संगठनहरूको भनाइ छ।

२८ बैशाख, २०८१, ०८:४३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।