एसीसी प्रिमियर कपमा अपराजित नेपाल र साउदी अरेबियाबीचको खेल आज

एसीसी प्रिमियर कपमा अपराजित नेपाल र साउदी अरेबियाबीचको खेल आज

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ।

एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको नेपाल आज साउदी अरेबियालाई हराउने लक्ष्यमा हुनेछ।

नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार मध्यान्ह्र पौने १२ बजेदेखि अल अमरेत क्रिकेट ग्राउन्ड-१ मा हुनेछ।

ओमानमा जारी प्रदर्शनमा अपराजित रहँदै नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।

साउदी अरेबिया र नेपालको जारी प्रतियोगितामा पहिलो भेट हुँदैछ। ३ खेल खेलेको साउदीले २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना भने कायमै रहेको छ।

साउदीका प्रशिक्षक कबीर खानले नेपाललाई हराउन सके उपाधि जित्नसमेत आफूहरूलाई कसैले रोक्न नसक्ने प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, ‘नेपाल एक बलियो टिम हो, यदि हामीले नेपाललाई पराजित गर्छौँ भने फाइनल पुग्न कसले रोक्न सक्छ, प्रतियोगिता नै जित्छौँ।’

जारी प्रिमियर कपमा नेपालले समूहको बलियो विपक्षी हङकङलाई हराउँदै सुधारिएको खेल देखाएको छ।

नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो।

५ बैशाख, २०८१, ०७:५२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।