चौथो पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

चौथो पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौथो पटक विश्वासको मत लिँदैछन्।

प्रदेशसभाको मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

गतवर्ष भएको आमनिर्वाचनपछि जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका यादव नै निरन्तर मुख्यमन्त्री छन्।

तर, केन्द्रीय गठबन्धनमा हुने फेरबदलले यादवलाई पटक-पटक विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो।

पछिल्लो पटक गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल भएपछि चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो। त्यसपछि एमाले सरकारमा सहभागी भएको थियो।

चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम यादवले मंगलबार विश्वासको मत लिन लागेका हुन्।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका २५, कांग्रेसका २२, जसपाका १९ र जनमतका १३ सांसद छन्।

त्यस्तै, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ सांसद रहेका छन्।

४ बैशाख, २०८१, ०८:२२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।