बागमतीका मेयर भरत थापाविरुद्ध अकुत सम्पत्तिको मुद्दा, श्रीमती र भाइसमेत प्रतिवादी

बागमतीका मेयर भरत थापाविरुद्ध अकुत सम्पत्तिको मुद्दा, श्रीमती र भाइसमेत प्रतिवादी

काठमाडौँ : बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी सम्पत्तिमा मुद्दा दायर गरेको छ। भरत ताल निर्माण लगायतका विषयमा अनियमितता गरेकोमा अख्तियार छानबिनमै छ।

बुधवार अख्तियारले उनी विरुद्ध स्रोत नखुलेको गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो। थापा नगर प्रमुखको रूपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ देखि २०७९ माघ २९ सम्मको अनुसन्धानमा पाँच करोड ३३ लाख ५३ हजारको स्रोत नखुलेको भन्दै अख्तियारले अभियोग पत्र दायर गरेको हो।

अख्तियारका अनुसार थापा सार्वजनिक सेवामा प्रवेश गर्नु अगाडि उनी र उनको एकासगोल परिवारका सदस्यहरूको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको खातामा रहेको बैङ्क मौज्दात रकम, उनले सार्वजनिक सेवामा प्रवेशपश्वात प्राप्त गरेको पारिश्रमिक बचत आय, श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण/कर्जा आय, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा सात करोड ८६ लाख ५० हजारको वैधानिक स्रोत खुल्न आएको तर सो अवधिमा उनको सम्पूर्ण खर्च तथा लगानी १३ करोड २० लाख तीन हजार तीन सय देखिएको उल्लेख छ।

उनले १३ करोड २० लाख ३ हजार खर्च तथा लगानी गरेको तर वैधानिक आय  हेर्दा पाँच करोड ३३ लाख ५३  हजार बरावरको सम्पत्ति ऋणात्मक देखिएको भन्दै अख्तियारले सो रकम  सार्वजनिक पदको दुरुपयोग गरेर आर्जन गरेर भ्रष्टाचार गरेको दाबी गरेको छ।

अख्तियारले पाँच करोड ३३ लाख जफत र असुल उपर गर्न र थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट एकासगोल परिवारका सदस्य श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाइ राम कुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा घरजग्गा किनेको, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बिमा प्रिमियम भुक्तानी र बैङ्क खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पूरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ रेश्मी कुमारी घिमिरे थापा, राम कुमार थापा र द्वारिका राउतलाई समेत प्रतिवादी कायम गरेर सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिबाट बिगो जफत/असुल उपर गर्न माग गरिएको छ।

मेयरको रूपमा थापाले गरेको बदमासीबारे उकेराले निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो। भरत ताल निर्माण गर्दा प्रदेश सरकारबाट लिएको ३० करोड अनियमितता गरेकोबारे मधेस प्रदेशको लेखा समितिमा उजुरी कायमै छ। ताल निर्माणमा भएको भ्रष्टाचारबारे अख्तियार समेत अनुसन्धानकै दायरामा रहेको छ।

उनै थापाबारे निर्देशक दीपेन्द्र के खनालले मेयर नाममा फिल्म निर्माण गर्दै धमाधम सुटिङ समेत गरिरहेका छन्।

थापा सम्बन्धी समाचार

२८ चैत, २०८०, १३:५५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।