निर्माता हेरफेर गर्दै दीपेन्द्रले गरे फिल्म ‘मेयर’को मुहुर्त, विवादित मेयर भरत थापाको छोरीले पनि अभिनय गर्ने

निर्माता हेरफेर गर्दै दीपेन्द्रले गरे फिल्म ‘मेयर’को मुहुर्त, विवादित मेयर भरत थापाको छोरीले पनि अभिनय गर्ने
तस्बिर- सुरेन्द्र थापा

काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका विवादित मेयर भरत थापासँग उनकै पालिकाका स्थानीय बोल्नसमेत डराउँछन्। दुई कार्यकाल मेयर भएका उनले भरत तालबाट निकालेको गिटी र गेग्रान अबैध रुपमा बेचेको भन्दै अख्तियारमा नौ वटा उजुरी नै परेको छ। अख्तियार अहिले अनुसन्धानमै छ।

तिनै व्यक्तिको जीवनीमा फिल्म बनाउन मरिहत्ते गरेका लेखक तथा निर्देशक दीपेन्द्र के खनालले अन्ततः फिल्मको मुर्हत गरेका छन्। उनले सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर नारायणहिटीमा अवस्थित मन्दिरमा फिल्म ‘मेयर’को मुहूर्त गरेका हुन्।

अख्तियार जुन विषयको अनुसन्धानमा छ फिल्म निर्माण टिम त्यही विषयमा सकारात्मक रुपमा प्रभावित भएको देखियो। सरकारी नाम बागमती माछा पोखरी भए पनि मेयर भरतले त्यसलाई आफ्नै नामबाट भरततालको रुपमा प्रचार गराएका छन्।

त्यसको निर्माणकोक्रममा निकालिएको बालुवा, गेग्रानको अबैध विक्री गरेर अनियमितता गरेको अनि मधेस प्रदेशबाट आएको ३० करोडमा अनियमितता गरेकोबारे अख्तियारले अनुसन्धान गरिरहेको छ। फिल्म निर्माण टिमका लागि यी सबै सकारात्मक लागेको देखियो। 

मेयर भरत थापाको भूमिकामा निभाउन लागेका  अभिनेता खगेन्द्र लामिछानेले फिल्मका बारेमा उठेको प्रश्नहरूको सामना गर्न तयार रहेको बताए। उनले सामान्य मान्छेको जीवन कहानीमा फिल्म नबन्ने भन्दै उनले फिल्म बन्न मानिसको जीवनमा प्रश्न हुन आवश्यक रहेको उनले बताए।

‘सामान्य मान्छेको जीवन कहानीमा फिल्म बन्दैन। अहिलेका प्रधानमन्त्री प्रचण्डको बारेमा सिनेमा बन्ला, त्यसलाई कसरी लिनुहुन्छ’,उनले पत्रकारलाई प्रश्न गर्दै भने,‘त्यसमा पनि त प्रश्न हुनसक्छ नि त? प्रश्न नभईकन त कथा नै हुँदैन। त्यसकारण यस्ता प्रश्नहरू अझै धेरै आओस् भन्न चाहन्छु।’

फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र के खनालले भरत थापाको बारेमा निकै अध्ययन गरेपछि मात्रै फिल्म बनाउन तयार भएको दाबी गरे। उनले  थापाले आफ्नो ठाउँमा धेरै काम गरेको र उनी जस्तै बन्न अरु मेयरहरुलाई सुझाव दिए। अर्थात विवादित बन्न? अर्थात अख्तियारमा मुद्धा खेप्न सुझाव?

‘तराईको कान्छो नगरपालिकाको मेयर, त्यस्तो के आश्चर्य होला र फिल्म नै बनाउनुपर्ने मनमा लागेको थियो,’ उनले भने, ‘तै पनि त्यहाँ एकदमै ठूलो ताल छ रे, मोटरबोटहरू छ रे, थाइलयाण्ड जस्तो छ रे त्यहाँ, एक दुईजनाले भनेपछि साँच्चिकै हो र यो भन्ने मनमा आयो। जब म त्यहाँ पुगे म आफैँलाई विश्वास भएन।’

खनालले सर्लाहीमा भौतिक रुपमा पनि राम्रो नगरपालिका बनेको देखेको दाबी गरे। फिल्ममा मेयरका सकरात्मक तथा नकरात्मक दुवै कुरालाई प्रस्तुत गरिने  उनको दाबी छ।

यो फिल्ममा मेयर भरत थापाकै छोरी अर्विशा थापाले समेत अभिनय गर्दैछिन्। उनी पहिला यही फिल्मको निर्माता समेत थिइन्। उनले राम्रो काम गर्नेको खुट्टा तान्ने धेरै हुने भन्भदै आफ्नो बुवाको  बचाउ गरिन्।

‘तपाईंको बुबालाई आधा मान्छेले हिरो मान्छन् आधाले भिलेन मान्छन्, तपाईं दर्शकको दृष्टिकोणबाट हेर्दा बुवा कस्तो मान्छे हो?’ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘अब राम्रो काम गर्ने मान्छेको खुट्टा तान्नेहरू त भइहाल्छ। राम्रो काम गर्ने मान्छेहरू जति सफल हुन्छन्, त्यति नै नेगेटिभ कुराहरू आइरहेका हुन्छन्। आफ्नो बाबा त राम्रो लागिहाल्छ नि! उनले भनिन्।

यस फिल्मको शीर्ष भूमिाकामा अभिनेता  लामिछानेसँगै, वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी,  सञ्जोग रसाइली, अर्विशा थापा लगायतका कलाकारहरूले अभिनय गर्दैछन्।

फिल्मको निर्माता हेरफेर भएको देखियो। अघिल्लो समय फिल्मको निर्मातामा अर्विशा थापा थिइन्। अहिले शर्मिला पाण्डे र श्रृष्टिमा खनाल निर्माताका रूपमा देखिएका छन्।

फिल्मका निर्माता किन परिवर्तन भन्ने प्रश्नमा निर्देशक खनालले बजेट हाइ भएको र आफूहरूले नसक्ने जनाएपछि शर्मिला पाण्डे फिल्ममा निर्माताका रूपमा आउनुभएको दाबी गरे। 

२ फागुन, २०८०, १३:४१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।