बागमतीका विवादित मेयर थापाको बायोपिक फिल्म ‘मेयर' बन्ने, निर्माता थापाकी छोरी, निर्देशक दीपेन्द्र के खनाल

बागमतीका विवादित मेयर थापाको बायोपिक फिल्म ‘मेयर' बन्ने, निर्माता थापाकी छोरी,  निर्देशक दीपेन्द्र के खनाल

काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका विवादित मेयर भरतकुमार थापाको बायोपिक फिल्म बनाउन कस्सिएका छन् निर्देशक दीपेन्द्र के. खनाल। उनले फिल्मको नाम जुराएका छन् ‘मेयर’ ।

भरत ताल बनाएर चर्चामा आएका माओवादी केन्द्रका नेतासमेत रहेका भरतकुमार ढाँट राखेर पैसा उठाउने अनि ढुंगागिटीको अबैध कारोबारमा जोडिएर विवादमा आएका पात्र हुन्। कुनै समय सञ्जय टकलाका मुख्य सहयोगी देखिएका उनै थापाको जीवनीलाई आधार बनाएर खनालले फिल्म नै बनाउन लागेका हुन्। निर्देशक खनालले नाम चलचित्र विकास बोर्डमा दर्ता गराइसकेका छन्। 

निर्देशक खनालले उकेरासँग 'मेयर' फिल्म लगभग मेयर थापाकै बायोपिक भएको उकेरासँग खुलाए।  यो फिल्मका लागि कलाकारमा अभिनेता प्रकाश घिमिरे फाइनल भएका छन् तर अन्य कलाकार अझै छानिएका छैनन्। माओवादी केन्द्रको युवा संगठन वाइसीएलको केन्द्रीय सदस्य समेत हुन् उनी। 

सर्लाहीमा उनको दबदबा चल्छ। त्यसैको दुरुपयोग गर्दै उनले ताल बनाउने आवरणमा निकालेको माटो विक्री गरेर अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो। 

जनकपुरधामको रामानन्द चोकमा मिथिला आन्दोलनका क्रममा गराइएको बम विस्फोटको मुद्दामा जन्मकैदको फैसला अनुसार टकला कारागारमा छन्। टकला सर्लाही क्षेत्रको सडक उठाउने ढाटको ठेक्का पाउँदा थापा मुख्य सहयोगी थिए। 

सर्लाहीको बागमती नगरपालिकामा दोस्रो पटक मेयर बनेका उनले  झन्डै एक सय २१ बिघा क्षेत्रफल जग्गामा ५८ करोड सरकारी रकम खर्च गरेर ताल बनाए। तालको नाम बागमती पोखरी भए पनि आफ्नै नाममा 'भरत ताल' को रुपमा प्रचार गराए। 

दीपेन्द्रले माघदेखि सर्लाही क्षेत्रबाट नै छायांकन सुरु गर्ने तयारी भएको छ। फिल्मको निर्माता थापाकै छोरी अर्विसा थापा हुन्।  सागर मैनाली समेत निर्माणमा जोडिएकाले फिल्ममा उनको विवादित पृष्ठभूमि समेटिने सम्भावना देखिँदैन। 

२१ कात्तिक, २०८०, १७:५१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।