नेपाली फिल्म' द रेड सुटकेस'को युरोपका १५ देशको ओटिटी अधिकार एचबिओले किन्यो

नेपाली फिल्म' द रेड सुटकेस'को युरोपका १५ देशको ओटिटी अधिकार एचबिओले किन्यो

काठमाडौँ : ओटीटी प्लेटफर्मबाट युरोपका १५ देशमा हेर्न मिल्नेगरि नेपाली फिल्म' द रेड सुटकेस'को अधिकार एचबिओले किनेको छ।

बेलायतमा रहेको सेल्स एजेन्ट रिजनएडले एचबिओलाई ओटीटीमार्फत युरोपको १५ देशमा प्रदर्शन अधिकार विक्री गरेको भेराइटी डटकमको समाचारमा उल्लेख छ। मलेसिया र ब्रुनाइको अधिकार भने सूर्य फिल्मले किनेको छ।

एचबिओले अल्बानिया, स्लोभाक रिपब्लिक, हंगेरी, पोल्यण्ड, रोमानिया, माल्दोभा, क्रोएसिया, सर्भिया लगायतका १५ देशमा प्रदर्शनको अधिकार लिएको हो।

समाचारमा उल्लेख भए अनुसार नर्थ र ल्याटिन अमेरिकी देशहरूमा प्रदर्शन अधिकारका लागि दुवै पक्षबिच वार्ता जारी छ।

भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको फिल्ममा सुटकेसमार्फत वैदेशिक रोजगारीमा एक युवाको कथामा भनिएको फिल्म हो।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा निर्मित फिल्ममा प्रवीण खतिवडा, विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

श्रीलङ्कामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलङ्काकै विमुक्ति जयसुन्दरा सह निर्माता छन्। आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन्। फिल्ममा समन अलभितिगाले सम्पादन गरेका छन्। नेपालमा यो फिल्म चैत ३० मा रिलिज हुँदैछ।

२२ चैत, २०८०, २०:२६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।