डिग्रीको मुखसम्म नदेखेकाहरूले बनाएको ‘डिग्री माइला’

डिग्रीको मुखसम्म नदेखेकाहरूले बनाएको ‘डिग्री माइला’

काठमाडौं : नाटकबाट फिल्म निर्माण गरिएको ‘डिग्री माइला’ प्रदर्शनको तयारीमा छ। अर्को शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको नाम ‘डिग्री माइला’ भएता पनि कलाकारले भने डिग्रीको मुख देखेका छैनन्। 

कलाकार दयाहाङ राईले आरआर क्याम्पसमा पत्रकारितामा स्नातकसम्मको अध्ययन गरेका छन्। त्योभन्दा माथि उनको पढाई छैन। 

फिल्मकी अभिनेत्री आँचल शर्माको पढाई पनि त्यस्तै हो। कमलमणि नेपालले कलेज मात्रै चहार्ने काम गरे। उनले पनि मास्टर डिग्री गरेका छैनन्। 

यही फिल्मका निर्देशक रामबाबु गुरुङले पनि स्नातक भन्दामाथि पढाई बढाउन सकेनन्। तर, उनीहरुले फिल्मको नाम चाहि ‘डिग्री माइला’ राखेका छन्। 

बिहीबार पत्रकार सम्मेलनमा उनीहरुले आफूहरूको डिग्री पढ्ने सपना नरहेको बताउँदै फिल्मको नाम ‘डिग्री माइला’ राखेको कथा सुनाए। फिल्मका निर्देशक गुरुङले आफूले डिग्री पढ्ने सपना बुनेर फिल्म निर्माण नगरिएको बताए।

उनले भने, ‘कलेज पढ्ने भन्ने छुट्टै सपना थियो तर डिग्री पढ्छु भन्ने सपना त्यतिबेला थिएन। किनभने पढाइमा रुचि कम थियो। त्यहाँको विद्यार्थी संगठनमा, राजनीतिमा, त्यहाँको आन्दोलनमा पनि गइयो।’

यता दयाहाङले पनि आफू पत्रकारिता र म्युजिकमा बरालिँदा बरालिँदै पढाइ छाडेको बताए। 

उनले भने, ‘खासमा म्युजिक क्लास पनि छिरियो, पत्रकारिता पनि पढियो। तर खासमा पढाइ के हो, महत्व के हो भन्ने थाहा नभएर पनि होला। मलाई साहित्य, कलाले नै आकर्षित गर्यो।’

उनले राजनीतिलाई ०५२ सालबाट छाडेर कलाकारितामा लागेको खुलासा गरे। दयाहाङले आफूलाई साहित्य, कलामा रुचि भएकाले पत्रकारिता पढेको जस्तो मात्रै गरेको बताए। उनको आशय डिग्री सक्दैमा केहि फरक नपर्ने थियो। 

डिग्री पढेको भए मैले यति पढेको थिए भनेर घरमा राख्न मिल्ने थियो भन्दै उनले ठट्टा गरे। फिल्ममा  दयाहाङ र आँचलका अलावा  विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ।

सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ फिल्मका निर्माता हुन् भने कार्यकारी निर्माता क्रिश लामा हुन्।

फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ। फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्।

२२ चैत, २०८०, १८:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।