पर्यटन बोर्डमा तीन सदस्य मनोनीत गर्नेसहित यी हुन् मन्त्रिपरिषदका ५ निर्णय

पर्यटन बोर्डमा तीन सदस्य मनोनीत गर्नेसहित यी हुन् मन्त्रिपरिषदका ५ निर्णय

काठमाडौं : सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट यस्तो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ।

रिक्त रहेको सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकबाट गरिएको छ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिलाई पेस गर्ने निर्णय गरेको छ।

'नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्माननीय राष्ट्रपतिसमक्ष पेस गर्ने,' बैठकको निर्णयमा भनिएको छ।

बैठकले स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि ७७ अर्ब ५० करोड रुपैयाँ, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपैयाँ र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशका लागि ६० अर्ब रुपैयाँ र स्थानीय तहहरूका लागि ८८ अर्ब स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ न्यूनतम समर्थन मूल्य तोकेको छ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाएर कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ।

१५ चैत, २०८०, १९:००:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।