रविको राहदानी दुरुपयोगको अनुसन्धान गर्ने काठमाडौँका एसएसपी खत्रीको नौ महिनामै सरुवा

रविको राहदानी दुरुपयोगको अनुसन्धान गर्ने काठमाडौँका एसएसपी खत्रीको नौ महिनामै सरुवा

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ जिल्ला परिसरको प्रमुखसहित ६ जना एसएसपीको सरुवा गरेका छन्। गृहमन्त्री रविले सरुवा भएर आएको नौ महिनामै एसएसपीको सरुवा निकालेका हुन्।

अपराधमा रहेका सोमेन्द्रसिंह राठौर र काठमाडौँका भूपेन्द्र खत्री दुवैको सरुवा भएको हो। खत्रीले रविको राहदानी दुरुपयोगबारे अनुसन्धान गरेका थिए। प्रहरीले दोहोरो राहदानी बनाएको देखिएको तर दुरुपयोग नदेखिएको भन्दै सरकारी वकिलको कार्यालयमा गरेको सिफारिसको आधारमा जिल्ला न्यायाधीवक्ताहुँदै महान्यायधीवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो।

महान्यायधीवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट अझैँ विचाराधिन अवस्थामा रहेको छ।

उनीहरूको २०८० भदौ ८ मा सरुवा भएको थियो। प्रहरी नियमावली अनुसार एसएसपी र डिआइजीको सरुवाको अधिकार गृहमन्त्रीमा रहेको छ। प्रहरी नियमावली अनुसार सामान्यतया सरुवा भएको एक वर्ष नपुगी प्रहरीको सरुवा हुन्न।

यस अगाडि मधेसका ६ जना एसपीको सरुवा निकाल्दा सरुवा भएका एक महिना मात्र पुगेका एसपीहरु पनि सरुवामा परेका थिए। काठमाडौँका खत्रीको सरुवा  अपराध अनुसन्धान विभागमा भएको छ। विभागमा रहेका वसन्त रजौरे काठमाडौँको प्रहरी प्रमुख भएर आएका छन्।

अपराध अनुसन्धान कार्यालयका राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका छन्। परिषद्मा रहेका सानुराम भट्टराई अनुसन्धान कार्यालयमा आएका छन्।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा रहेका एसएसपी अभिनारायण काफ्ले कोशी प्रदेश तालिम केन्द्रमा पुगेका छन् भने कोशीका राजन अधिकारी प्रहरी प्रधान कार्यालयको तालिम निर्देशनालयमा आएका छन्।

१४ बैशाख, २०८१, १४:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।