८ महिनादेखि एमालेमा फर्किन खोजिरहेका छन् वामदेव, 'एमाले फुटाइदिने' डरले भाउ दिँदैनन् ओली

८ महिनादेखि एमालेमा फर्किन खोजिरहेका छन् वामदेव, 'एमाले फुटाइदिने' डरले भाउ दिँदैनन् ओली

काठमाडौं : नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफू एमालेमै जान चाहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई वामदेवले एमाले फुटाउँछ भनेर शंका नगर्न आग्रह गरेका छन्। 

सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा एकै मञ्चमा रहेका ओलीलाई नेता गौतमले आफूले पहिला पनि पार्टी नफुटाएको र अब पनि पार्टी फुटाउला कि भनेर आफूमाथि शंका नगर्न ओलीलाई आग्रह गरे। 

उनले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार्दै त्यसको आत्मालोचना गरेको भन्दै पार्टी एमाले फुटाउन आफ्नो हात नभएको दाबी गरे। 

‘मान्छेबाट गल्ती कमजोरी हुन्छन् म बाट पनि भयो र मैले त्यो महसुस गरें। पछिल्लो पटक दुइवटा अध्यक्ष दुईतिर भएको बेला मलाई चित्त दुख्यो, म कतैतिर पनि लागिन। तर, दुवै तर्फका अध्यक्षले अहिले पनि पार्टी फुटाउने वामदेव हो भने,’ उनले थपे, ‘फुटेर जाने को छ, मिलाउनको निम्ति एउटा फोरम मैले बनाए केही जनदबाब दिन सकिन्छ कि, केही हुन्छ कि भनेर मलाई कसैले साथ दिएनन्, एक्लै के गर्नु ?’  

बामदेवले ०५४ सालमा पनि आफूले पार्टी नफुटाएको चर्चा गरे। उनले पार्टीले निष्कासन गरेपछि कुनै उपाए नलागेर अर्को पार्टी बनाएको र त्यसमा आफू गलत भएको आत्मालोचना गरी फर्किएको भन्दै अहिले एमाले फुटाउनुमा आफ्नो कुनै हात नभएको स्पष्ट पारे। 

उनले एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आफूले आत्मालोचना गरी एमालेमै फर्किन चाहे पनि अध्यक्ष ओलीले शंका गरेको भन्दै थपे, ‘मैले अध्यक्षलाई ८ महिना पहिला नै भनेको थिए, मलाई कमान्डर बनाउनु भयो भने फेरि त्यस्तै हुन्छ कि, धेरै समर्थक आए भने फेरि पार्टी फुटाइदिने होकि वामदेवले भनेर डर लाग्छ भने मसँगै अर्को कसैलाई निगरानी गर्न राखिदिनोस्।’

गौतमले सँगै मञ्चमा आसीन ओलीलाई लक्षित गरेर एमालेमा फर्किन चाहनुमा कुनै स्वार्थ नभएको र आफूले एमालेको हित र पार्टीमा जीवन छउन्जेल क्रियाशील हुन चाहेको भन्दै थपे, ‘त्यसै वामदेव गौतम भएको होइन, मलाई नमर्दासम्म प्रयोग गर्नुहोस् न। के गर्नुहुन्छ हेर्दै जाऊँ, नमर्दासम्म मैले काम गरिरहन पर्छ, मरेपछि हँसिया हथौडाको झण्डा ओड्न पाउनुपर्छ। मेरो चाहना यत्ति हो।’

उनले एमालेमा जान हतारो गर्दै भने, ‘मलाई सुनिदिनु भयो विचार मन्थन गर्नुहोला र कमरेड केपी ओलीलाई छिटो भन्दा छिटो एमालेमा ल्याउ भन्नुहोला।’ 

तर, जवाफमा ओलीले वामदेवको चाहनालाई भाउ नै दिएनन्। 

त्यही कार्यक्रममा वामदेवको कुरा सुनेपछि अध्यक्ष ओलीले उनको ‘चाहनालाई सकारात्मक रुपमा लिएको’ मात्रै बताए। 

‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ। अहिले छलफल गर्ने यो थलो उपयुक्त होइन,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा प्रवेश गर्दिनँ। पछि छलफल गर्छौ।’ 

गौतमले राखेको विचार सकारात्मक भएको उल्लेख गर्दै ओलीले भने, ‘वामदेवजीको अहिले एकताको जुन अभिव्यक्ति र भावना आएको छ, त्यो सकारात्मक एकताको भावना हो। यस भावनालाई अगाडि बढाऔं, महाअभियान सफल होस्। मेरो शुभकामना छ।’

तर, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले पार्टीमा आउन राखेको चाहनाबारे भने उनले उपयुक्त स्थानमा पछि छलफल गर्ने जबाफ दिए।

२४ बैशाख, २०८१, १७:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।