कान्तिपुरका अध्यक्ष सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषा विरुद्ध रिट हाले

कान्तिपुरका अध्यक्ष सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय धनुषा विरुद्ध रिट हाले

काठमाडौँ : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका छन्। उनले आइतबार रिट दायर गरेकोमा सर्वोच्चले सोमबार रिट दर्ता गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाको नागरिकताको सम्बन्धमा परेको जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै सो रोक्न माग गरिएको छ।

प्रतिषेध भनेको न्यायिक वा अर्धन्यायिक निकायले अधिकार क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कानुन नाघेर कुनै काम कारबाही गर्न लागेमा त्यस्तो नगर्नु भनी माथिल्लो न्यायिक निकायले दिने आदेश हो।

यसले सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायले कारणवश गैरकानुनी निर्णय गर्न लागेमा त्यस्तो गर्नबाट रोक्न  सक्छ। आदेश स्थायी प्रकारको हुन्छ।

धनुषामा प्रहरीले जाहेरी दर्ता गरे पनि पक्राउ आदेश लिने वा पक्राउ गर्ने प्रक्रिया शुुरु गरेको छैन। तर उनी पहिल्यै अदालत गएका छन्।
 
सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले रिट दर्ता गरेर मङ्गलवारका लागि पेशी तोकिएको जानकारी दिए। सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै धनुषामा दर्ता भएको जाहेरीका आधारमा अगाडि बढेको अनुसन्धानमा एकै नम्बरका दुई व्यक्तिको नाममा नागरिकता जारी भएको, नागरिकता लिन आवश्यक उमेरै नपुगी नागरिकता लिएको लगायतका कैफियतहरू फेला परेका थिए।

नागरिकता प्रकरण के हो ?

जाहेरीसँगै संलग्न कागजपत्रहरूमा सिरोहियाको २०१९ जन्ममिति राखेर २०३३/०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र  २०३६ भदौ २० मा जनकपुर उप-महानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको खुलेको थियो। 

सिरोहियाले २०५७ असोज २८ को निर्णयबाट पहिलो प्रतिलिपि निकालेको नागरिकताको प्रतिलिपिमा नम्बर केरमेट भएको देखिन्छ। त्यसका उल्लेख नागरिकता नम्बर ठम्याउन भने सकिन्छ। उकेराले प्राप्त गरेको सिरोहियाको मतदाता परिचय पत्रमा उनको नागरिकता नम्बर प्रष्ट छ।

उनको मतदाता परिचय पत्रमा उल्लेख गरिएको नागरिकता नम्बर शिवजीको नागरिकता नम्बर र शिवजीको मतदाता परिचय पत्रमा उल्लेख नागरिकता नम्बर एउटै छ। ३९६९ नम्बरबाट दुवैको नागरिकता नम्बर सुरू भएको देखिन्छ।

हिमालयन रि इन्स्योरेन्सको सेयर लागत पुस्तिकामा उल्लेख गरिएको सिरोहियाको नागरिकता नम्बर भने फरक देखिन्छ। शेयर लागत पुस्तिकामा  २८३९ बाट नागरिकता नम्बर शुरु भएको छ। तर उनले बुझाएको नागरिकताको प्रतिलिपिमा भने ३९६९ बाटै नागरिकताको नम्बर शुरु भएको देखिएको थियो।

सिरोहियाले पहिलो पटक जारी गरेको ध्यानाकर्षण पत्रमा २०३४ मा नागरिकता निकालेकाले आफूभन्दा पछि निकालेको नागरिकतामा नम्बर एकै हुँदा आफ्नो सरकार नहुने तर्क गरेका थिए।

तर केही दिनपछि उनले पुन एक्स( ट्विटर) मा नागरिकताको फोटोकपी राख्दै 'राज्यका विभिन्न पदाधिकारीले व्यक्तिगत रुपमा प्रतिशोध र रिसईबी लिएर मेरो नागरिकताको विषयमा प्रश्न उठाएकामा सरोकारवाला तथा सर्वसाधरणको जानकारीका लागि मेरो नागरिकताको प्रतिलिपि यहाँ राखेको छु' लेखे।

दोस्रो स्पष्टिकरणमा उनले पहिलो स्पष्टिकरणमा गरेको आफ्नै दाबी काट्दै 'नाबालिगसहित परिवारका सदस्यका बारेमा २०३३/२०३४ सालमा राज्यले संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता र २०५७ मा प्रतिलिपि लिएको र राज्यले अभिलेखबाटै यी सबै विषय स्वभाविकरुपमा पुष्टि हुने' लेखेका थिए।

उनले स्पष्टिकरणसँगै २०३६ भदौँ २५ मिती रहेको नागरिकताको प्रतिलिपीको तस्बिर समेत राखेका छन्। सिरोहियाले नागरिकता निकालेको मिती भनेर दाबी गरे अनुसार उनीभन्दा पहिला २०३६ भदौ २० मा जनकपुर उप-महानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा नागरिकता जारी भएको र सिरोहियाले नागरिकता लिँदा तेलीको नम्बर प्रयोग भएको देखिन्छ। जवकी पहिला सिरोहियाले तेलीभन्दा पहिला नागरिकता निकालेको दाबी गरेका थिए।

के भइरहेको छ अनुसन्धान ?

अनुसन्धान सम्बद्धस्रोतका अनुसार कैलाससँगै उनको बुबा, दुई दाई लगायतकाको नागरिकताको रेकर्ड र जारीहुँदाका प्रमाण केन्द्रित भएर अनुसन्धान भइरहेको देखियो।

कैलाससँगै उनका एक दाजु काठमाडौँका मतदाता हुन्। अर्को धनुषाकै। उनीहरुले धनुषाबाटै नागरिकता निकालेको देखिन्छ। तर तीनै जनाको नागरिकताको प्रकार भने एकै नदेखिएको र आवश्यक कागजपत्रहरु समेत फेला नपरेकाले अहिले थप कागजपत्र खोज्ने काम भइरहेको स्रोतले उकेरालाई जानकारी दियो।

सिरोहियाका बाबु नेपालको बंशज नागरिक हुन् या जन्मसिद्द या अंगिकृत के हुन् भन्नेमा समेत अनुसन्धान केन्द्रित देखियो। यसबारे भिन्नभिन्न सरकारी रेकर्डमा भिन्न भिन्न तथ्यांक देखिएको स्रोतले बतायो। प्राप्त केही कागजपत्रहरु अति गम्भिर प्रकृतीको समेत रहेको स्रोतको दाबी छ।

'थप कागजपत्र फेला परेर अन्यथा देखिएको भए अलग भयो नत्र अहिलेसम्म जारी भएको नागरिकतामा कैफियत देखिन्छ। सम्भव भएसम्मको सबै पक्षमा अनुसन्धान केन्द्रित छ'स्रोतले उकेरासँग भन्यो।

सम्बन्धित समाचार:-

२४ बैशाख, २०८१, १७:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।