पूर्वउपराष्ट्रपति पुत्र दिपेशलाई सीआईबीमा बुझाइयो

पूर्वउपराष्ट्रपति पुत्र दिपेशलाई सीआईबीमा बुझाइयो

बुटवल : बुटवलको सुप्रिम बचत तथा क्रृण सहकारी संस्थाको रकम उपचलन प्रकरणमा धरौटीमा रिहा हुन साथ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीलाई बुझाइएको छ।

वैशाख ७ गते जिल्ला अदालत रुपन्देहीले दिपेश पुन सहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपनि दिपेश धरौटी नतिरेरै ७ दिन सम्म कागारामै बसेका थिए।

वैशाख ७ गते न्यायाधीश डा दीपक उप्रेतीको इजलासले सहकारी प्रकरणमा जोडिएका पुनलाई ४ लाख धरौटी तोकेको भए पनि सीआईबीबाट पक्राउ पर्ने डरले पुने धरौटी नबुझाएरै कारागारमा बसेका थिए।

तर, शुक्रबार उनले अदालतमा धरौटी तिरेको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए। धरौटी बुझाएपछि उनलाई ईलाका प्रहरी कार्यालय बुटवल मार्फत सिआईवीलाई बुझाइएको हो।

‘धरौटी बुझाएपछि हामीले सिआईवी सँग समन्वय गरेका थियौं’, ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले बताए।

अदालतको फैसलापछि पक्राउ परेकाहरूमध्ये नविन अक्षामीलाई १० लाख, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेलाई १८ लाख, नीता थापामगरलाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसित २ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। तर, दिपेश भने ७ दिनपछि मात्र धरौटी तिरेका हुन्।

२०८० चैत २ गते सुन तस्करी प्रकरणमा मुछिएका दीपेश पुन काठमाण्डौमा पक्राउ परेपछि सोही दिन सहकारी ठगी प्रकरणमा छानविन गर्न बुटवल ल्याइएको थियो।

६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग दिपेशको सम्बन्ध देखिएपछि पुन अहिले पनि छानबिनको दायरामा छन्। सहकारी प्रकरणमा धरौटी तिरेर रिहा भएपनि सुनप्रकरणमा फेरी उनी अनुसन्धानमा तानिएका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलले वैशाख ३ गते ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिबेदन बुझाएको थियो।

त्यसपछि सरकारी वकिलको कार्यालयले प्रतिबेदन अध्ययन गरेपछि राय सहित अभियोजन दर्ता गराएको थियो। त्यसपछि भएको थुनछेक बहसमा अदालतले पक्राउ परेका ७ जना मध्ये एक जनालाई मात्र थुनामा राख्दै अरुलाई धरौटीको फैसला भएको गरेको थियो।

सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख, २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो। सहकारीमा १९ हजार ३ सय ९१ सदस्य छन्।

१५ बैशाख, २०८१, ०८:०९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।