जब कृषिमन्त्री साहले झोक्किँदै​​​​​​​ भनिन्- चिया दिवसको कार्यक्रम त चिया बगानमा गर्नुपर्थ्यो...

जब कृषिमन्त्री साहले झोक्किँदै​​​​​​​ भनिन्- चिया दिवसको कार्यक्रम त चिया बगानमा गर्नुपर्थ्यो...

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले भत्ता र सरुवा, बढुवाको माग गर्ने चिया तथा कफी विकास बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी काम गर्नुपर्ने बताएकी छिन्। 

२८ औँ राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा उनले ६० हजारभन्दा बढी मानिसलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोहीअनुसार काम गर्नुपर्ने बताइन्।

उनले राष्ट्रिय चिया दिवस चिया बगानमा नै मनाउन आवश्यक रहेकामा जोड दिइन्। मन्त्री साहले काठमाडौंको हलमा कार्यक्रम आयोजना गरिएकामा पनि असन्तुष्टि व्यक्त गरिन्। इलाम वा झापाको चिया बगानमा सो कार्यक्रम आयोजना गरेको भए धेरै राम्रो हुने उनको भनाइ थियो।

'आज यो कार्यक्रम एउटा हलमा सीमित छ। मलाई पनि कताकता खुल्दुली लागिरहेको छ, यो कार्यक्रम इलामको कुनै बगानमा गर्नुपर्थ्यो। अथवा, झापाको कुनै बगानमा गर्नुपर्थ्यो,' झोक्किँदै उनले भनिन्, 'चिया बगानमा गर्दा अझ बेटर हुन्थ्यो कि भन्ने मलाई लागेको छ।'

मन्त्री साहले देशलाई समृद्ध बनाउन कृषि क्षेत्रले महत्त्वपूर्ण योगदान दिने भएकाले त्यसमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरिन्।

१५ बैशाख, २०८१, १७:३८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।