बुटवलका मेयरको बदमासी : आफूखुसी कम्पनी छानेर २५ लाखको ठेक्का, अनुसन्धान गर्दै अख्तियार

बुटवलका मेयरको बदमासी : आफूखुसी कम्पनी छानेर २५ लाखको ठेक्का, अनुसन्धान गर्दै अख्तियार

बुटवल : २०८० साउन ७ गते बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय कालिका पथ र मुख्य सडक जोड्नका लागि निकास खोल्ने भन्दै डोजर लिएर पुगे।

लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काइदिए अनि सार्वजनिक खरिद ऐन विपरीत आफूखुसी निर्माण कम्पनी छनोट गरेर सडक निर्माणको ठेक्का दिए।

मेयर पाण्डेयले विना कुनै प्रस्तिपर्धा ठेकेदार भिमलाल बस्याललाई सडक निर्माणको जिम्मा दिएका थिए। सार्वजनिक सूचना, टेन्डर प्रक्रिया वा कोटेशन जारी नगरी निर्माणको जिम्मा लगाउनु गैरकानूनी हो।

२५ लाख रुपैयाँको ठेक्का कुनै टेण्डर र कवोल विना सिधै दिएपछि अख्तियारको टोलीले अहिले अनुसन्धान गरिरहेको अख्तियार कार्यालय बुटवलले जनाएको छ।

साउनबाट थालिएको काम अहिले पनि निर्माणधीन अवस्थामै छ। निर्माण कम्पनीले अहिलेसम्म पालिकाबाट एक रुपैयाँ पनि भुक्तानी नपाएपछि घटना बाहिर आएको हो।

ठेकेदार भिमलाल बस्यालले कामको मूल्याङ्कन बाँकी रहेकाले भुक्तानी नपाएको बताए।

‘सडक बिस्तारका लागि २५ लाख रुपैयाँ विनियोजन भए पनि करिब साढे १९ लाखको काम गरेका छौं,’ उनले भने, ‘उपमहानगरले मूल्याङ्कन गरी भुक्तान दिने प्रक्रियामा छ।’

कानूनी प्रक्रिया पूरा नगरी निर्माणको जिम्मा लगाउँदा भुक्तानीमा समस्या देखिएको पाइन्छ। अहिले सोही सडकमा प्रदेशको बजेटबाट नालीको काम भइरहेको छ।

उपमहानगरले बिस्तार गरेको सडकमा लुम्बिनी प्रदेश सरकारको लगानीमा ढलान नाली निर्माण तथा सडक ढलान गरी आरसीसी सर्फेस, अस्फाल्ट लगायतको कामका लागि आरए कन्स्ट्रक्सन तिलोत्तमाले भ्याट बाहेक २ करोड १३ लाख ६३ हजार ४० रुपैयाँमा ठेक्का पाएको छ।

पूरानो योजनाको भुक्तानी नहुँदै नयाँ योजना सुरु भएपछि अहिले नयाँ योजनाको काम पनि रोकिएको छ। जसकारण सर्वसाधारणले सास्ती पाएका छन्। सडक घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने गरेको छ।

बुटवल उपमहानगर प्रमुख पाण्डेयले भने यसबारे आफूलाई केही जानकारी नभएको बताए।

‘काम प्रक्रियामै होला। सबै कुरा मलाई थाहा हुँदैन। प्रशासनलाई सोध्नुस्’, उनले भने।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल फोन अफ गरेर बसेका छन् भने सूचना अधिकारी तुल्सा अर्यालले पनि यसबारे आफूलाई जानकारी नभएको बताइन्।

बुटवल उपमहानगरपालिका इन्जिनियर गौतम रौनियारले केही प्रक्रिया नमिल्दा ठेकेदारलाई रकम भुक्तानी हुन नसकेको बताए। यद्यपि त्यो प्रक्रियाबारे भने उनले पनि थप खुलाउन चाहेनन्।

अस्पतालको पर्खाल भत्काउनका लागि स्वयं नगर प्रमुख खेलराज पाण्डेय र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतको टोली पुगेको थियो।

पर्खाल भत्काएर नगर प्रमुख पाण्डेयले मौखिक रूपमै निर्माण कम्पनीलाई सडक बनाउनका लागि जिम्मा दिएका थिए।

२६ बैशाख, २०८१, १०:२६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।