ऋणीलाई टर्चर दिएको भन्दै दुर्गा प्रसाईं निकट युवाले गरे दुइवटा बैंकमा तोडफोड

ऋणीलाई टर्चर दिएको भन्दै दुर्गा प्रसाईं निकट युवाले गरे दुइवटा बैंकमा तोडफोड

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरूले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन्। ऋणीलाई टर्चर दिएको भन्दै उनीहरुले दुइवटा बैंकमा तोडफोड गरेका हुन्। 

प्रहरीले तोडफोडमा संलग्न चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न भएको आरोपमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। पक्राउ पर्ने अन्य दुई जनाको नाम सार्वजनिक भएको छैन।

प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।  नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो।

गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता विरोधमा उत्रिएका हुन्। लगभग १ सय ५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले ज्योति बिकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढुंगा प्रहार गर्दा सो घरको १५/१६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ। 

ज्योति बिकास बैंकमा भने क्षति भएको छैन।

२७ बैशाख, २०८१, १५:०४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।