कम गुणस्तरका चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई महानगरको २ लाख जरिवाना

कम गुणस्तरका चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई महानगरको २ लाख जरिवाना

काठमाडौं : कम गुणस्तरका चाउचाउ भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। कृषि तथा पशुपन्छी विभागले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको भन्दै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको जनाएको छ। 

महानगरका अनुसार कम्पनीले वैशाख १२ गते तोकिएको जरिवाना ७ दिनभित्र बुझाउनु पर्नेछ। 

महानगरपालिकाको वडा नम्बर ६ स्थित सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको हो। २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका र अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने ब्याच नम्बर एएल/वाइएल २३ का चाउचाउ जफत गरेपछि १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि ७ गते प्रयोगशालामा पठाइएको थियो। 

११ गते नमुनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा रहेको, एसिड मूल्य पनि बढी भएकाले उक्त चाउचाउमा भएको तेल गुणस्तरहीन भएको खाद्य प्राविधिक अनिल बस्नेतले बताए। 

१३ बैशाख, २०८१, १९:३८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।