देशभर ५९ हजार बढी अपराधका मुद्दा दर्ता : एक वर्षमा ७ हजार बढीले गरे आत्महत्या, २ हजार बढी जबर्जस्ती करणी

देशभर ५९ हजार बढी अपराधका मुद्दा दर्ता : एक वर्षमा ७ हजार बढीले गरे आत्महत्या, २ हजार बढी जबर्जस्ती करणी

काठमाडौं : पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए।

उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए। उपत्यकामा १७ हजार ३ सय ९७ अर्थात् कूल अपराधको २९ .४५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम १ हजार ९६५ वटा अपराधका घटना भएका छन्।

उपत्यकापछि मधेश, कोशी र लुम्बिनीमा क्रमशः धेरै अपराधका मुद्दा दर्ता भएका छन्।

यस्तै, अपराधका घटनामध्ये सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा १३ हजार २७७ वटा मुद्दा दर्ता भएको छ। दोस्रोमा सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर १० हजार ८६३, तेस्रोमा आत्महत्या ७ हजार १९४, चौथोमा लागूऔषध ४ हजार २८४, चोरी ३ हजार २२५, जबर्जस्ती करणी २ हजार ४६८, ज्यान मार्ने उद्योग १ हजार ४५, बहुविवाह ७२६ तथा सार्वजनिक शान्ति विरुद्धको कसुरमा ५३५ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरीका अनुसार सबैभन्दा धेरै कर्तव्य ज्यान सम्बन्धी घटना मधेश प्रदेशमा २३ .२७ प्रतिशत भएको छ भने सबैभन्दा कम उपत्यकामा ६.५ प्रतिशत दर्ता भएको छ।

नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गइरहेको प्रहरी तथ्यांकले देखाएको छ। एक वर्षमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेका छन्।

पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या हुँदा कर्णालीमा सबैभन्दा कम आत्महत्याका घटना भएको प्रवक्ता ढकालले बताए।  

‘कोशी प्रदेशमा आत्महत्याका सबैभन्दा धेरै २१ .२७ प्रतिशत घटना भएको छ भने सबभन्दा कम कर्णाली प्रदेशमा ४.२४ प्रतिशत रहेको देखिन्छ। मधेशमा पनि आत्महत्या गर्नेको संख्या धेरै छ, लुम्बिनी, बागमती, गण्डकी पनि छ। आत्महत्या संख्या सबैतिर बढिरहेको छ,’ प्रवक्ता ढकालले भने।

आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै ८५ प्रतिशतले झुन्डिएको, १३.३४ प्रतिशतले विष सेवन गरेको र अन्यले आगो लगाएको, पानीमा हाम फालेर मृत्यु वरण गरेको विवरण प्रहरी तथ्यांकमा उल्लेख छन्।

एक वर्षमा महिला तथा बालबालिका सम्बन्धी २१ हजार १९७ वटा घटनाहरू भएका छन्। उक्त घटनामध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा घटेका छन्। प्रहरीले त्यसको आधा घटनाका निवेदन फर्स्यौट गरेको जनाएको छ।

देशभर २ हजार ४६८ वटा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ।

प्रहरी प्रवक्ता ढकालका अनुसार उक्त जबर्जस्ती करणीको घटना आधा भन्दा धेरै नजिकका र चिनेजानेकाबाट भएका छन्।

‘जबर्जस्ती करणीका छिमेकी तथा चिनजानकै व्यक्तिहरूबाट ८० प्रतिशत घटना चिनजान र नजिककाबाट भएको पाइएको छ। १२ प्रतिशत घटना चिनजान नभएको व्यक्तिबाट भएको देखिन्छ। नजिकका नातेदार तथा चिनजानका व्यक्तिहरुबाटै जबर्जस्ती करणीका घटना बढी हुने गरेको हाम्रो अनुसन्धानबाट पाइएको छ,’ प्रवक्ता ढकालले भने।

१५ चैत, २०८०, १५:४३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।