अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ, अधिकांश विद्यार्थी

अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवा पक्राउ, अधिकांश विद्यार्थी

एजेन्सी :  प्रहरीले अनलाइन जुवा खेल्न पल्किएका १ हजार युवालाई नियन्त्रणमा लिएको छ। 

युवा वर्गलाई लक्षित गरी अनलाइन जुवा खेलाउने विरुद्ध अनुसन्धान गरिरहेको प्रहरीले छ महिनाको क्र्याकडाउनको क्रममा हजार युवासहित २ हजार ९२५ जनालाई पनि पक्राउ गरेको हो।

दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान कार्यालयले सेप्टेम्बर २५ देखि क्र्याकडाउनको अवधिमा त्यति ठूलो संख्यामा अनलाइन जुवाडे समातिएका जनाएको छ। तिनीहरू मध्ये ५६६ जना जुवाडेलाई परामर्श केन्द्रहरूमा पठाइएको छ। ती जुवाडे युवामध्ये कतिपय गम्भीर आपराधिक कृयाकलापमा पनि संलग्न रहेको पाइएको थियो भने केही त जुवाको लतमा परेर मानसिक रुपमै शिथिल थिए।

७९८ हाइस्कुलका विद्यार्थी, २२८ मिडिल स्कूलका विद्यार्थी र सात विश्वविद्यालयका विद्यार्थी र दुई प्राथमिक विद्यालयका विद्यार्थीहरू पनि समावेश थिए, जसमा एकजना त नौ वर्षको उमेरमा १० हजार कोरियन वोनको सट्टेबाजी गर्ने सबैभन्दा कान्छो जुवाडे पनि संलग्न भएको पाइएको अनुसन्धान अधिकारीले खुलाएका छन्।

धेरै माध्यमिक र हाई स्कूलका विद्यार्थीहरूले साथीहरूको लहैलहैमा लागेर जुवा खेलमा पल्किएको सुनाएका छन्। प्रहरीका अनुसार तिनीहरू प्रायः स्मार्टफोन सन्देशहरू, अनलाइन र सोसल मिडिया विज्ञापनहरू मार्फत जुवा खेल्न पल्किएका थिए।

प्रहरीले अवैध रुपमा सञ्चालन गरिएका हानिकारक सामग्री भएका अनलाइनमा नियन्त्रण गर्ने र जुवा सम्बन्धी अपराधहरू रोक्न प्रशिक्षण विस्तार गर्ने योजना बनाएको जनाएको छ।

१३ बैशाख, २०८१, १६:३७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।