श्रीमतीको घाँटी रेटेर गाउँभरी सुनाउँदै हिँडे, त्यसपछि आफ्नै गर्धनमा हँसियाले रेटे

श्रीमतीको घाँटी रेटेर गाउँभरी सुनाउँदै हिँडे, त्यसपछि आफ्नै गर्धनमा हँसियाले रेटे

काठमाडौं : रौतहटमा सामान्य विवादमा श्रीमानले श्रीमतीको घाँटी रेट्दा उनको ज्यान गएको छ।

वृन्दावन नगरपालिका वडा नम्बर १ बलहरी गाउँको तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले हँसियाले गर्धनमा प्रहार गर्दा उनकी पत्नी अन्दाजी ३५ वर्षीया सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको हो।

दिउँसो साढे ४ बजेतिर बागमतीको बगरमा घाँस काट्न गएका श्रीमान श्रीमतीबीच विवाद हुँदा तीर्थले हँसियाले पत्नीको घाँटी रेटेर हत्या गरेका थिए। अत्यधिक मदिरा सेवन गरेका तीर्थले विवाद हुँदा आफूले श्रीमतीलाई हँसियाले घाँटी रेटी हत्या गरेको भन्दै गाउँमा आएर हल्ला गरेका थिए।

घाँटी रेटिएको अवस्थामा स्थानीयले तीर्थलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले मकैबारीमा खोज्दै जाँदा सेतीमायाको शव फेला पारेको थियो।

प्रहरीका अनुसार घटनास्थलमा दुईवटा धारिलो हँसिया फेला परेको छ।

गाउँलेलाई आफूले श्रीमतीको हत्या गरेको बताएका तीर्थले घरको आँगनमा आएर आफ्नो गर्धनमा आफैंले हँसियाले प्रहार गर्दा उनी पनि गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।

घाइते तीर्थको अहिले चन्द्रनिगापुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए।

१४ चैत, २०८०, २१:२४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।