सरकार जोगाउन मन्त्री थप्दै मुख्यमन्त्री चौधरी, आजै मन्त्रिपरिषद् विस्तार हुने

सरकार जोगाउन मन्त्री थप्दै मुख्यमन्त्री चौधरी, आजै मन्त्रिपरिषद् विस्तार हुने

बुटवल : सरकार जोगाउन लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेका छन्।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनीका मुख्यमन्त्री चौधरीले सरकार जोगाउन साना दललाई सरकारमा सहभागी गराउने तयारीमा लागेका हुन्।

चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहित स्वतन्त्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मन्त्री थप गरेर सरकार सुरक्षित बनाउने तयारी गरेका हुन्।

प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेयले नाउपाका दुई सांसद नरमाया ढकाल र राजकुमार चौधरीलाई मन्त्री बनाउन लागेको जानकारी दिए।

उनले भने, ‘आजै सरकार विस्तार हुन्छ। हिजो तयारी भए पनि प्रदेश प्रमुख नभएकाले सम्भव भएन।’

त्यस्तै लोसपाबाट एक र स्वतन्त्र सांसदलाई पनि मन्त्री बनाउने दौडधुपमा मुख्यमन्त्री लागेको बुझिएको छ। लुम्बिनीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। माओवादीले सरकारलाई दिएको फिर्ता गरेसँगै मुख्यमन्त्री चौधरी अल्पमतमा छन्।

माओवादी केन्द्रसहित आठ दलको समर्थनमा मुख्यन्त्री बन्दा चौधरीको पक्षमा ५३ सांसदको समर्थन थियो। अहिले भने चौधरीको पक्षमा कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, लोसपाका ३, जनमतका ३ र जनमोर्चाका १ गरी ३८ जना सांसदको मात्र समर्थन छ।

माओवादी, एमाले, जसपा, समाजबादी, स्वतन्त्र सांसद सहितको नयाँ गठबन्धनको सरकार बनाउन दलहरुले तयारी गरिरहेका बेला चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै आफू सुरक्षित हुन खोजेका हुन्।

तर, नयाँ मन्त्रीमण्डल विस्तार गरे पनि चौधरीलाई बहुमत पुग्न कठिन छ। अहिले राप्रपा दुवैतर्फ खुलिसकेको छैन। राप्रपा सांसद् सहभागी भए पनि उनको पक्षमा ४१ जना सांसद् मात्र पुग्ने देखिन्छ। लुम्बिनीमा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक छ।

राप्रपामा चार सांसद रहे पनि जानकीप्रसाद यादवमाथि साझेदारी वन सम्बन्धी मुद्दा परेपछि निलम्बनमा छन्।

चौधरीले आइतबारै नयाँ मन्त्री नियुक्त गरेर सपथ गराउने तयारी गरे पनि प्रदेश प्रमुख अमिक शेरचन काठमाडौं पुगेपछि हुन सकेको थिएन।

प्रदेश प्रमुख शेरचन माओवादी निकट हुन्। चौधरीले नयाँ मन्त्री नियुक्ति गर्ने सुइँको पाएपछि प्रदेश प्रमुख काठमाडौं पुगेको बताइन्छ।

चौधरीले शनिबार बुटवलमा नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीसँग भेट गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए। बुटवलको होटल पौवामा भएको गोप्य भेटमा मुख्यमन्त्री चौधरीसहित रेशम चौधरी, प्रदेश सभा सदस्य धनेन्द्र कार्की, प्रतिनिधि सभा सदस्य दिपक गिरीबीच छलफल चलेको थियो।

छलफलमा थप दुई जनालाई मन्त्री बनाउनुपर्ने प्रस्ताव रेशम चौधरीले मुख्यमन्त्री चौधरी सामु राखेका थिए। नागरिक उन्मुक्तिका लुम्बिनीमा ४ सांसद छन्। त्यस मध्ये एक जना धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन्।

तर नागरिक उन्मुक्ति पार्टी भित्र विवाद रहेकाले नाउपा सरकारमा सहभागी हुने/नहुनेको टुंगो भने छैन।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभा लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन्।

लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ।

२८ फागुन, २०८०, ०८:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।