‘होटल ल्याण्डमार्क’ हाकेका सिएन, जसले २ लाख पूँजीबाट सुरू गरेको व्यवसायको पूँजी ३२ वर्षमा ४ अर्ब पुग्यो

‘होटल ल्याण्डमार्क’ हाकेका सिएन, जसले २ लाख पूँजीबाट सुरू गरेको व्यवसायको पूँजी ३२ वर्षमा ४ अर्ब पुग्यो

बुटवल : पोखरा पिएन क्याम्पसमा व्यवस्थापन पढ्दै गर्दा सिएन पाण्डेलाई पर्यटन क्षेत्रमै काम गर्छु भन्ने लागेको थियो। लागे पनि। उनको निर्णय सही पनि भयो। दुई लाखबाट थालेको होटल ब्यवसायको पुजीँ चार अर्ब पुुगिसक्यो।

‘पर्यटकीय नगरी पोखरामा पढ्दा नै पर्यटन क्षेत्रमा लाग्नुपर्छ भन्ने सोच आयो। रुचीको विषय पनि यही थियो। संसार घुम्दै व्यापार गर्न सकिने क्षेत्र यही हो जस्तो लागेपछि पर्यटन क्षेत्रकै एक अंग होटलमा लागेँ,’ क्याम्पस पढ्दै गर्दाका दिन सम्झदै पाण्डेले भने।

त्यसपछि पोखरामा २ लाख पूँजीबाट होटल सुरू भयो।

यो ०४८ सालको कुरा हो। पोखरामा सुरू गर्दा यसको नाम ‘एसिया होटल’ थियो। पछि सन् २००७ मा नाम फेरेर त्यसलाई ‘ल्याण्डमार्क’ बनाइयो।

‘पर्यटकीय क्षेत्रसँग नजिक रहेकाले चिनाउने सजिलो होस् भनेर ल्याण्डमार्क नाम राख्यौ। त्यसपछि यसलाई ब्राण्डिङ गर्यौ,’ उनले भने।

पोखरामै होटल व्यवसायमा जमेपछि उनलाई चितवनमा पनि होटल खोल्ने सोच आयो। सौराहमा आउने पर्यटकलाई लक्षित गर्दै पाण्डेले सन् २०१४ मा ‘ल्याण्डमार्क होटल’को सुरू गरे। बजार र ग्राहक बुझेका पाण्डेलाई चितवनमा पनि सफलता मिल्यो।

त्यसको पाँच वर्षपछि सन् २०१९ मा काठमाडौंको नारायणहिटी नजिकै अर्को ‘ल्याण्डमार्क’ सुरू गरे।

अर्घाखाँचीको छत्रदेवमा हुर्केका पाण्डेले पोखरा र चितवनमा आफ्नै पारिवारिक लगानीमा होटल सुरू गरेका हुन्। त्यसबाहेक अन्यत्र भने उनले टिम बनाएर होटल सञ्चालन गरिरहेका छन्।

रुपन्देहीको भैरहवामा चारतारे ‘होटल ल्याण्डमार्क’ शनिबारबाट मात्र सुरू भएको छ।

भैरहवाका आशा गुरुङले निर्माण गरेको भवनबाट ल्याण्डमार्कले व्यवस्थापन समाल्दै होटल सञ्चालनमा आएको हो।

‘हामी कतै व्यवस्थापनमा रहेर काम गरेका छौ। कहिँ संरचनामा पनि लगानी गरेका छौं,’ पाण्डेले भने ‘टिमले अहिले ल्याण्डमार्कलाई ब्राण्डिङ गरिरहेको छ।’

२ लाखको पूँजीबाट सुरू भएको ल्याण्डमार्कको पूँजी अहिले ४ अर्ब बढी भइसकेको छ। पोखरा, चितवन, काठमाडौं र भैरहवामा गरी १ हजार जना बढीले रोजगारी पाएका छन्।

पछिल्लो समय आर्थिक मन्दी रहेको अवस्थामा धेरै होटलहरू रुपन्देहीमा सञ्चालन खर्च समेत उठाउन नसक्दा बन्द भएका छन्। तर पाण्डे यो चुनौतीलाई अवसरमा बदल्नकै लागि लगानी गर्न तम्सिएको बताउँछन्।

‘बास्तवमा जिन्दगीनै चुनौती हो। व्यवसाय त झन ठूलो चुनौती हो। विश्वका धेरै पर्यटक हाम्रो नेटवर्कसँग जोडिएकाले यो चुनौतीलाई अवसर ठानेको छु,’ उनले भने।

उनले होटल मात्र सञ्चालन गरेर पर्यटक नआउने भन्दै होटलबाट स्तरीय सेवा बेच्न सके सफलता हाँसिल गर्न सकिने बताए।

ल्याण्डमार्कका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले सिद्धार्थनगर नगरपालिका -३ को सिंगापुर कोलनीमा सञ्चालनमा आएको चारतारे ‘होटल ल्याण्डमार्क’ बौद्धिष्ट पर्यटक र भारतीय पर्यटकहरूलाई लक्षित गरेर बनाएको बताए।

‘होटल भारततीय पर्यटक र विदेशी पर्यटकका लागि हो। हामीले बुद्धिष्टहरूको लागि ठूलो तार्गेट लिएका छौं। र कर्पोरेट पनि अर्को टार्गेट ग्रुप हो,’ उनले भने।

भारतीय सीमा सुनौलीबाट साढे ३ किलोमिटर दुरीमा रहेको ल्याण्डमार्क होटलमा कानुनत: क्यासिनो सञ्चालन गर्न नपाइने भएकाले सेवा नै बिक्री गरेर यस क्षेत्रलाई चलायनमा बनाउने उनको भनाइ छ।

‘भारतीयहरू नेपालमा क्यासिनो खेल्न आउँछन्। धेरै होटल क्यासिनोकै कारण सञ्चालन भएका छन्। हामी क्यासिनो सञ्चालन गर्देनौं। तर आफ्नो ब्राण्डलाई सजिलै पर्यटकसँग बिक्री गर्न सक्छौं,’ उनले भने।

हाल भैरहवाको होटलमा डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठा तयार गरिएको छ। निकट भविष्यमै ३० कोठा थप गरी एकैपटक १५० जनालाई सेवा दिने लक्ष्यका साथ अगाडि बढेको उनको भनाइ छ।

यो होटल कुल डेढ विघामा रहनेछ। अहिले मुख्य भवन आधा विघामा बनेको छ। अब एक विघामा ६ सय र २ सय क्षमताको स्तरीय हल बनाएर होटललाई 'डिष्टिनेशन हव' बनाउने योजनामा रहेको उनले बताए।

अब बन्ने दुई हलका लागि थप ३० करोड खर्च हुने उनको भनाइ छ। अहिलेको संरचनामा ५० करोडको लगानीमा तयार भएको हो।

उनले छिट्टै नै काठमाडौं, नगरकोट र बर्दियामा ल्याण्डमार्कलाई विस्तार गर्ने योजना रहेको समेत बताए। होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ। केही कोठामा सुर्योदयको पहिलो किरण बेडमा पुग्ने गरी निर्माण गरिएको छ।

ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौं, पोखरा, चितवन र भैरहवा प्रतिवद्ध रहेको बताए।

उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौत नहुने समेत बताए।

२० फागुन, २०८०, १०:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।