वाफ वुमन्स च्याम्पियनसिप : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै, साम्बाले नखेल्ने

वाफ वुमन्स च्याम्पियनसिप : उपाधिका लागि नेपाल र जोर्डन भिड्दै, साम्बाले नखेल्ने

काठमाडौं : वाफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र जोर्डन भिड्दैछ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ।

नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

जारी प्रतियोगितामा नेपाल र जोर्डन दुवै अपराजित छन्।

समूह ‘बी’मा रहेको नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदा जोर्डनले गुआम, साउदी अरब र लेबनानलाई पराजित गरेको थियो।

आजको खेल नेपाली गोल मेसिन भनेर चिनिने सावित्रा भण्डारी ‘साम्बा’ले खेल्न पाउने छैनन्।

२८ फेब्रुअरीदेखि फिफा विन्डो सकिएकाले उनी आफू आवद्ध फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा फर्किएकी हुन्।

फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र क्लबले छोड्नुपर्नेछ। अरु समयमा क्लबमा खेलाडी रिलिज गर्न बाध्य हुनेछैन।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो। जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ। साम्बाले समूह चरणमा नै ३ खेल खेलिसके पनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो।

तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको हो।

१७ फागुन, २०८०, ०७:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।