पोस्टरमा सानो फोटो राखेपछि रिसाइन् पूजा !

पोस्टरमा सानो फोटो राखेपछि रिसाइन् पूजा !

काठमाडौं : फागुन २५ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को खासै प्रचारप्रसार छैन। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका मुख्य अभिनेत्री रेखा थापा अमेरिकामा छिन्।

यता बेनिशा हमाल हिन्दी भाषाको फिल्मको छायांकन लागि देशबाहिर छिन् भने पूजा शर्मा एकसमय बोचचाल नै बन्द भएका कलाकारको जन्मदिनको केक काट्न व्यस्त छिन्।

आफ्नो लगानीमा बनेको फिल्म थियो भने, पूजा यतिबेला युट्युबर भेला पारेर रुवाबासी गर्न भ्याइसक्थिन्। ‘म यस्तो गीत गाउँछु’ र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शनको बेला उनले गरेको रुवाबासी र मिडियाबाजी सबैले देखेकै हो।

तर, आफ्नै मुख्य भूमिका रहेको फिल्म ‘उपहार’को प्रचारप्रसारमा भने उनले खासै चासो दिएको देखिन्न। रेखा थापाको भन्दा आफ्नो पोस्टर सानो राखेका कारण पूजा रिसाएको उनी निकटको भनाइ छ।

केहि समयअघि उकेरासँगको कुराकानीमा उनले आफूले अभिनय गर्ने फिल्मलाई आफ्नै ठानेर प्रचारमा लाग्ने गरेको बताएकी थिइन्। तर भनाइ र गराइमा आकाश–जमिनको फरक देखियो।

फिल्मकी निर्मात्री तथा अभिनेत्री रेखा थापा अहिले पहिलो सन्तानलाई जन्म दिन अमेरिका पुगेकी छन्। उनले सामाजिक सञ्जालबाट फिल्मको प्रचार गरिरहे पनि सन्तानलाई नेपाली नागरिक नबनाउन चाहेको विषयलाई लिएर उनको आलोचना पनि भइरहेकै छ।

यस्तो अवस्थामा नेपालमा रहेका कलाकारहरूले फिल्म प्रचारमा जोडदारका साथ लाग्नुपर्ने हो। तर, बेनिशा र पूजाले खासै ध्यान दिएको देखिँदैन। फिल्म प्रदर्शनको संघारमा प्रचारमा तीव्रता नदिएपछि उनीहरूबीच मटमुटाव भएको गसिपसमेत फैलिन थालिसक्यो।

खैर! रेखा नसक्ने अवस्थामा हुँदा बेनिसा र पूजाले जोडतोडले फिल्मको प्रचार गरेकै जाति, बाँकी उनीहरूकै मर्जी!

फागुन १०, २०८० बिहीबार १३:२४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।