‘रामायण’का लागि बोल्ने लवज सिक्दै रणबीर, ‘सीता’ खोज्दै निर्माण टीम

‘रामायण’का लागि बोल्ने लवज सिक्दै रणबीर, ‘सीता’ खोज्दै निर्माण टीम

एजेन्सी : बलिउडका चर्चित निर्देशकमध्येका एक नितेश तिवारीले फिल्म ‘रामायण’ निर्माण गर्दैछन्। फिल्ममा रामको भूमिका रणबीर कपूरले निभाए पनि ‘सीता’ अझैसम्म भेटिएकी छैनन्। निर्माण टिम र कास्टिङ डाइरेक्टर सीता खोज्न व्यस्त छन्।

सीता अहिलेसम्म नभेटिए पनि रामको भूमिकामा पर्दामा खरो उत्रन रणबीर अहिले जोडतोडका साथ तयारी गरिरहेका छन्। निर्देशक तिवारीका अनुसार रणबीर अहिले रामको बोल्ने लवज र संवादमा काम गरिरहेका छन्, त्यसका लागि निर्माण टिमले छुट्टै विभाग बनाएको छ।

यतिमात्र नभएर ‘रामायण’मा कलाकारले लगाउने पहिरनको कामले पनि तीव्रता पाएको उनले बताए। फिल्मका प्रमुख कलाकार कस्तो देखिनेछन् भनेर टिमले अध्ययनको पनि काम गरिरहेको छ।

नितेशले रणबीरका लागि एक संवाद विशेषज्ञ नै राखेका छन्, जसले संवाद सही तरिकाले बोल्न र भूमिकालाई सही ढंगले प्रस्तुत गर्न सिकाइरहेका छन्। फिल्मकै लागि रणबीरले घण्टौंसम्म संवाद पढिरहेका छन् भने नितेशलाई भ्वाइस रेकर्ड गरेर नियमित रूपमा पठाइरहेका छन्।

ठूलो क्यानभास र बजेटमा निर्माण हुने यो फिल्ममा ठूलो मात्रामा भीएफएक्सको पनि प्रयोग हुनेछ। फिल्ममा साउथ अभिनेता यश ‘रावण’को भूमिकामा देखिने चर्चा भइरहँदा अहिलेसम्म पक्का खबर भने सार्वजनिक भएको छैन।

२५ माघ, २०८०, ०९:१३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।