माघ २२ गते देशभरका फिल्म हल बन्द

माघ २२ गते देशभरका फिल्म हल बन्द

काठमाडौं : चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने चेतावनी दिएका छन्। मंगलबार चलचित्र संघले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने चेतावनी दिएका हुन्।

संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र क्षेत्रले विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरू नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको ब्यहोरा जानकारी गराउँदछु।’

नेपाली फिल्म रिलिज नभएको अवस्थामा संघले हल बन्द गरेर विरोध जनाएको छ।

माघ २६ गतेबाट भने हलमा दुई वटा नेपाली फिल्म ‘दयारानी’ र हात्तीछाप’ प्रदर्शनमा आउँदै छन्।

१६ माघ, २०८०, १७:१२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।