चौथो अंग : एक ‘कोट’को लागि नेतालाई घण्टौ कुर्नसक्ने पत्रकारले वैज्ञानिक अनुसन्धानका कुरा बुझ्न अल्छी गर्छन्

चौथो अंग : एक ‘कोट’को लागि नेतालाई घण्टौ कुर्नसक्ने पत्रकारले वैज्ञानिक अनुसन्धानका कुरा बुझ्न अल्छी गर्छन्

केही वर्षअघि वैज्ञानिकहरूले कफि पिउँदा मस्तिष्कमा पर्ने असरबारे अनुसन्धनात्मक लेख सार्वजनिक गरे। उक्त अध्ययनमा आधारित केहि समाचारका शिर्षकहरू यस्ता थिए।

फोर्ब्सले सकारात्मक शिर्षकमा लेख्यो ‘कफि मस्तिष्कको लागि फाइदाजनक भएको थप प्रमाण’ र मिडिया डेल्लीको शिर्षक थियो ‘ठीक्क मात्रामा कफि पिउँदा मस्तिष्कलाई अल्जाइमरबाट बचाउन सकिने’। तर, इण्डिया टुडेले त्यहि खोजमा आधारित समाचारको शिर्षक थियो ‘अतिरिक्त कफि पिउनु मस्तिष्कको लागि हानिकारक’ र सिविएसको समाचार शिर्षक, ‘अध्ययन : धेरै कफि पिउनु मस्तिष्कको लागि हानिकारक’ झनै नकारात्मक थियो।

त्यहि समाचारलाई बीबीसी नेपाली सेवाले ‘कफि : बेफाइदा भन्दा फाइदा धेरै’ भन्दै ‘ठीक्क मात्रामा कफि पिउँदा नराम्रो असर नगर्ने’ भनेर समाचार लेख्यो। ठिक्क भनेको कति भनेर बीबीसी नेपालीले खुलाएन। तर, वासिंगटन पोष्टले भने अनुसन्धानको नतिजासँग मिल्ने समाचार शिर्षक राखेको थियो ‘हिजोको कफि विज्ञान : स्वास्थ्यको लागि फाइदाजनक, आज: त्यति झट्टै होइन।’

यसले के देखाउँछ भने एकै अनुसन्धान लेखमा आधारित समाचारहरूमा मिडियाले प्रवाह गर्ने सन्देश सकारात्मक वा नकारात्मक दुवै हुनसक्छ।

स्थानीय रिपोर्टरले बनाएको हेलिकप्टर सम्बन्धी समाचारमा डेक्समा बस्ने गेट किपर र सम्पादकले सोध्नुपर्दथ्यो। के हेलिकप्टर भनेको टिनको आकृति मात्र हो? त्यो समाचारमा १ लाख ८५ हजारमा हेलिकप्टर बनेको उल्लेख थियो। उनीहरूले शंका गर्नुपर्थ्यो, आफ्नो मासिक तलबभन्दा कम पैसामा हेलिकप्टर बन्छ?

वैज्ञानिक अनुसन्धानमा यस्ता अनिश्चिता र अनुमानहरू अन्तरनिहीत हुन्छन्, त्यसैले त्यसमा आधारित समाचार बनाउँदा थप सजग हुनुपर्दछ। मिडियाले वैज्ञानिक खोजसम्बन्धी समाचार बनाउँदा सन्सनीपूर्ण शिर्षक राखेर समाजलाई दिग्भ्रमित तुल्याउने गरेको उदाहरण प्रशस्त पाइन्छ। अहिले त झनै समाजमा ‘अटेन्सन डेफिसिट’ भएको बेला र समाचारलाई क्लिक हुँदा त्यसले अर्थोपार्जनमा सहयोग पुग्ने भएसँगै त्यस्ता सनसनीपूर्ण शिर्षक र समाचार बनाउने होड संसारभर नै देख्न सकिन्छ। नेपाली मिडिया पनि यसमा अछुतो छैन।

केही वर्षअघि ‘रुकुमका एक व्यक्तिले हेलिकप्टर बनाए’ भनेर ठूलै मिडियामा समाचार आयो। खासमा त्यो हेलिकप्टर आकृतिको टिनको बाकस थियो। कोरोना कालमा त झनै् ‘नेपालमै कोरानाविरुद्दको खोप बनेको दावी’जस्ता समाचार दैनिक अखबारमा छापिएका थिए। यस्ता सनसनी समाचारले मिडियाको क्लिक र बिक्री त बढाउँला त्यसले समाजमा खोक्रो आशा र भ्रम सिर्जना गर्छ।

मिडिया भनेको सत्यतथ्यको खोजी गर्ने र त्यस्ता सूचना सम्प्रेषण गर्ने माध्यम हो। स्थानीय रिपोर्टरले बनाएको हेलिकप्टर सम्बन्धी समाचारमा डेक्समा बस्ने गेट किपर र सम्पादकले सोध्नुपर्दथ्यो। के हेलिकप्टर भनेको टिनको आकृति मात्र हो? त्यो समाचारमा १ लाख ८५ हजारमा हेलिकप्टर बनेको उल्लेख थियो। उनीहरूले शंका गर्नुपर्थ्यो, आफ्नो मासिक तलबभन्दा कम पैसामा हेलिकप्टर बन्छ?

टाढाबाट समेत हेलिकप्टर नदेखेको मान्छेले हेलिकप्टर कसरी बनाउन सक्छन्? स्प्राइटको बोत्तलमा वनस्पतिको झोल राखेर खोप बनाएको दाबी गर्दैमा त्यो समाचार सम्प्रेषण लायक हुन्छ? मिडियाको काम जसले जे भने पनि पत्याउँदै समाचार बनाउने हो कि प्रमाणको खोजी गर्ने अनि दाबीहरूमाथि प्रश्न र प्रतिप्रश्न गर्ने?

सन् २०१३ मा ‘असोसियट प्रेस’को ट्वीटर अकाउन्टलाई ह्याक गरेर ह्वाइट हाउसमा दुई विष्फोट भएको टुइट सार्वजनिक भएलगत्तै शेयर मार्केटमा १३६ बिलियन डलरको नोक्सान भयो। पत्रकारिताको यस्तै जबरजस्त प्रभाव र शक्ति भएर नै यसलाई चौथो अंग भनिएको हो।

त्यस्ता समाचार पढ्न पाँउदा ‘नेपालीले गरेछन्’ भन्दै रोमान्चित र गर्वित त म पनि हुन्छु। तर, असत्य कुराले ल्याउने रोमान्स र गर्वको के अर्थ? सनसनीपूर्ण बनाउने लोभमा पत्रकारिताको आधारभूत मान्यता नै बिर्सेर समाचार उत्पादन गर्दा त्यसले समाजमा पार्ने असर भयङ्कर हुन्छ।

नेपालमा खोप बनेको उक्त समाचारको दावीलाई मैले प्रश्न गर्दा थुप्रै मान्छे म माथि सञ्जालमा खनिए। तीमध्ये कतिपय त विश्वविद्यालयका प्राध्यापक, लेखकहरू पनि थिए। म माथि खनिएर त के भयो र? तर मिडियाले गलत समाचार बनाउँदा त्यसको प्रभाव कस्तो पर्दछ भन्ने एउटा चर्चित उदाहरण भन्छु।

सन् २०१३ मा ‘असोसियट प्रेस’को ट्वीटर अकाउन्टलाई ह्याक गरेर ह्वाइट हाउसमा दुई विष्फोट भएको टुइट सार्वजनिक भएलगत्तै शेयर मार्केटमा १३६ बिलियन डलरको नोक्सान भयो। पत्रकारिताको यस्तै जबरजस्त प्रभाव र शक्ति भएर नै यसलाई चौथो अंग भनिएको हो। तर, ठूलो शक्तिसँगै जिम्मेवारी पनि ठूलै हुन्छ भन्ने हेक्का पत्रकारिता क्षेत्रले सधै राख्नु जरुरी छ।

०००

पत्रकारिता र विज्ञान एक अर्काको परिपुरक
मैले सन् २००१ मा राजधानी दैनिककोे इन्द्रेणी भन्ने ‘सप्लिमेन्टरी’ पृष्ठमा काठमाडौँको पोखरी चौरमा परिणत हुँदैछ भन्ने फुलपेज फिचर पहिलोपल्ट लेखेको थिएँ। यो मेरो स्नातकोत्तरको सोधमा आधारित थियो। त्यसपछि अध्ययनको क्रममा विभिन्न देश गएँ। विदेश बस्दा कान्तिपुर, माइसंसार ब्लग, अनलाइनखबर, नागरिक, नयाँपत्रिका लगायतका विभिन्न माध्यममा लेखिरहेँ। हाल कान्तिपुर दैनिकमा ‘बसुधा’ भन्ने स्तम्भमा लेख्छु।

वैज्ञानिकको दृष्टिकोणमा पत्रकारिताको कुराकानी गर्दा पत्रकारिता र विज्ञानका बीचमा समानताबाट कुरा शुरू गर्छु। विज्ञानले र पत्रकारिता दुवैको उद्देश्य सत्यको नजिक पुग्ने हो। उद्देश्य मात्र होइन, यी दुई विधाका विधिहरू पनि लगभग उस्तै हुन्छन्। पत्रकारिताले पनि प्रश्न सोध्ने भन्छ र वैज्ञानिक अनुसन्धानको लागि पनि प्रश्न नै प्रस्थान विन्दु हो। प्रश्नको वरपर बसेर दुवैले प्रमाण जुटाउँदै सत्यतथ्य उजागर गर्छन्। एउटा मुख्य फरक चाहिँ वैज्ञानिकहरूको लागि लेख प्रकाशन गर्नु घटनाको लामो ट्रेन्डको विश्लेषण जरुरी हुन्छ तर पत्रकारको लागि एकै घटना नै समाचार बनाउन काफि हुन्छ।

जतिखेर पनि गफ गरिने, सबैको चासोको राजनीति भने किन यति पत्रु भएको होला? म सोच्छु। फेरि लाग्छ, सायद लुतो कन्याउँदा आउने आनन्द जस्तो दैनिक हुने राजनीतिक खिचातानीका गफ गर्दा लाग्ने आनन्दमा भूलेर लुतोको उपचार नै गर्न भूलेकोले हो कि?

विज्ञान र पत्रकारिताबीचमा केही समानता र भिन्नता भए पनि मलाई यी दुवै एक अर्काका परिपूरक जस्ता लाग्छन्। विज्ञान र वैज्ञानिक अनुसन्धानलाई समाजसँग जोड्ने काम पत्रकारिताले गर्दछ। प्रयोगशाला, अनुसन्धानशाला र विश्वविद्यालयमा भएका वैज्ञानिक अनुसन्धान र जर्नलमा छापिएका माथि भनिएजस्तै नयाँ खोजका कुराहरूमा आधारित समाचार बनाएर आम सञ्चारमाध्यमले समाजलाई सुसुचित गरेर विज्ञानलाई सहयोग पुराएको हुन्छ।

सँगै, समाजमा घटेका विभिन्न घटनाको सूचना दिएर त्यसबारेमा थप अनुसन्धान गर्न वैज्ञानिकहरूलाई पत्रकारिताले सघाउँछ। त्यसकारण विज्ञानको लागि पत्रकारिता माध्यम मात्रै होइन, अनुसन्धानको आधार पनि हो। पत्रकारिताको लागि पनि वैज्ञानिक जगत समाचारको पाठक मात्रै होइन, स्रोत पनि हो। यस अर्थमा पत्रकारिता र विज्ञान एक अर्काको परिपूरक हुन् जस्तो लाग्छ।

विकसित देशमा पत्रकारिता र विज्ञानको विकास समानान्तर ढंगले बढेको देखिन्छ। तर, नेपालमा पत्रकारिताको विकासको स्तर विज्ञानको विकासको गति र स्तरभन्दा माथि छ जस्तो लाग्छ। समग्र विज्ञान क्षेत्रको विकासमा नेपाल शुरुवाती चरणमा छ। यहाँ विज्ञानमा आधारित रिपोर्टिङहरू पनि सामान्य नै हुने भयो। तर, पत्रकारिता भने फस्टाएको देखिन्छ। यद्यपि हाम्रो पत्रकारिता राजनीति र त्यसमा पनि दलीय राजनीति वरपरका विषयमा मात्रै बढी केन्द्रित भएझैँ लाग्छ।

समाचार कक्ष भित्र र बाहिर पनि पत्रकार साथीभाई भेट हुँदा केही मिनेट कुरा हुनासाथ नेताको, दलको र देशको राजनीति कुरा आइहाल्छ। राजनीति बाहेक ज्ञान-विज्ञान लगायतका अलग संसार छ भन्ने कुरामा पत्रकार साथीहरूमा ‘व्लाइन्ड स्पट’ पाउँछु यहाँका समाचार हेर्दा।

विगत ३० वर्षमा नेपालको वैज्ञानिक क्षेत्रले के प्रगति गर्यो त? यो कुरा तपाईंले नाष्टलाई, विश्वविद्यालयलाई र अन्य अनुसन्धान संस्थालाई सोध्ने हो भने सपाट उत्तर कतैबाट आउँदैन। नार्कमा केहि काम भए होला। अब्बल अनुसन्धान भएमा नै पत्रकारले त्यस विषयमा गर्ने रिपोर्टिङ पनि अब्बल हुने हो।

कहिलेकाँहि म नजिकका पत्रकार साथीहरूसँग जिस्केर भन्छु-‘ल एउटा थट एक्स्पेरिमेन्ट गरौँ, २० मिनेट गैरराजनीतिक विषयमा बात मारौँ।’ तर त्यहाँ फेरि कताकताबाट राजनीतिक गफ घुसिहाल्छ। पत्रकार मात्रै होइन, सबै व्यवसायका नेपाली गैरराजनीतिक विषयमा लगातार २० मिनेट पनि कुरा गर्न नसक्ने भइसकेको हो कि जस्तो लाग्छ मलाई त!

विज्ञानको मामिलामा हाम्रो पत्रकारिता छिपछिपे, अलमले र भावनात्मक देखिन्छ।

किन यस्तो भयो त ?
अघि भनेँ समाज नै यस्तै छ, राजनीतिबाट अति प्रभावित। पत्रकारिता पनि समाजकै अंग त हो। थप, धेरैजसो पत्रकारको पृष्ठभूमि विज्ञानको नहुनुले पनि काम गरेको होला। तेस्रो, उनीहरूमा यसबारेमा अध्ययन र चासो नभएकोले पनि होला। चौथो, हामी विज्ञान क्षेत्रमा लाग्नेले पनि प्रभाव देखाउन नसकेकोले होला।

हामी पनि त आधा घण्टा विज्ञानका मात्रै कुरा गरौँ भन्दा नसक्ने भइसकेकाछौं नि त! तर जतिखेर पनि गफ गरिने, सबैको चासोको राजनीति भने किन यति पत्रु भएको होला? म सोच्छु। फेरि लाग्छ, सायद लुतो कन्याउँदा आउने आनन्द जस्तो दैनिक हुने राजनीतिक खिचातानीका गफ गर्दा लाग्ने आनन्दमा भुलेर लुतोको उपचार नै गर्न भूलेकोले हो कि?

विज्ञान क्षेत्रमा नेपालमा आशातीत काम भएन
नेपालमा विज्ञान क्षेत्रका अनुसन्धान गर्ने संस्था, व्यक्ति र स्रोत नभएका होइनन्। लेख रचनाको संख्या पनि अहिले बढोत्तरी छ। अनुसन्धान गर्न सकिने विषयहरू प्नि प्रशस्त छन्। तर, आशातीत काम नभएको जस्तो लाग्छ। विगत ३० वर्षमा नेपालको वैज्ञानिक क्षेत्रले के प्रगति गर्यो त? यो कुरा तपाईँले नास्टलाई, विश्वविद्यालयलाई र अन्य अनुसन्धान संस्थालाई सोध्ने हो भने सपाट उत्तर कतैबाट आउँदैन। नार्कमा केही काम भए होला। अब्बल अनुसन्धान भएमा नै पत्रकारले त्यस विषयमा गर्ने रिपोर्टिङ पनि अब्बल हुने हो।

यद्यपि भएका राम्रा अनुसन्धान पनि सञ्चारमाध्यमले नजरअन्दाज गरेको भने हो जस्तो लाग्छ। नेपालमै हुने वैज्ञानिकको सम्मेलन, गोष्ठीमा व्याख्यान दिने, कार्यपत्र प्रस्तुत गर्ने वैज्ञानिकको विज्ञानका कुरा भन्दा पत्रकारले समाचार बनाउँदा त्यस सम्मेलन उद्घाटनकर्ता मन्त्री वा प्रधानमन्त्रीले ‘नेपाललाई विज्ञानको केन्द्र बनाउनुपर्छ’ भनेको कुराले समाचारमा प्राथमिकता पाउँछ।

सोच्नुस् त केही वर्षपछि नेताले बोलेका त्यस्ता बतासे कुराको के अर्थ हुन्छ? खासमा त्यस्ता सम्मेलन तथा गोष्ठीमा पेस भएका कार्यपत्र वा खोजमा आधारित रिपोर्टिङ हुनुपर्ने होइन? हुन त पत्रकार साथीहरूले विज्ञानका कतिपय कुरा नबुझेकोले भएकोले पनि हुनसक्छ। हामीले पनि कुरा बुझाउने हिसाबले प्रस्तुत नगरेका हुनसक्छौँ। तर, एक ‘कोट’को लागि नेताहरूलाई घण्टौ कुर्ने पत्रकारले एक-दुई घण्टा लगाएर कार्यपत्र पढ्ने र नबुझेको कुरा सम्बन्धित अनुसन्धातालाई सोधेर रिपोर्टिङ गर्न अल्छी मान्छन्।

एउटा भनाइ छ, प्रयोगशालामा राम्रो अध्येता कुरा बुझाउने कुरामा भने कमजोर हुन्छ। वैज्ञानिकहरू अक्सर प्रेस फ्रेण्ड्ली नभएकोले, विश्वविद्यालयका प्राध्यापक र अध्येताहरूलाई साइन्स कम्युनिकेसन बारेमा कम जानकारी र दक्षता नभएकोले साथै मिडियाले पनि विज्ञान रिपोर्टिङको लागि जनशक्तिलाई त्यही अनुसार तालिम दिन नसकेकोले पनि यी समस्या आएको होलान्। हाम्रोमा अध्येताहरूलाई अनुसन्धानलाई कसरी जनमानसमा पुर्याउने भनेर औपचारिक रूपमा सिकाइँदैन पनि।

वैज्ञानिक समाचारको स्रोत, उत्पादन र रिपोर्टिङमा मात्रै होइन, पाठकमा पनि समस्या देख्छु। पत्रकारिता पनि बजारबाटै निर्देशित हुने हो। बजारको माग अनुसारको सामग्री उत्पादन गर्नैपर्यो। हाम्रोमा विज्ञान पत्रकारिताको बजार पनि खासै छैन। खोप वा हेलिकप्टरको समाचार पढिनु वा बढि शेयर हुनुमा विज्ञानप्रतिको मोह र रूचिले भन्दा पनि ‘हाम्राले पनि गरे’, ‘हामी पनि के कम’ भन्ने पूर्वाग्रहले बढी काम गरेको जस्तो लाग्छ।

नेपालमा केही यस्ता लोभलाग्दा पत्रकार छन्, जसले मिहिनेत गरेर इश्यु खोज्छन्, लगनका साथ समाचार बनाउँछन्। जसको कारण बहालवाला मन्त्रीसमेत राजीनामा दिन बाध्य हुन्छन्। बहालवाला सचिव जेल पुग्छन्।

संकथन मन्थनमाला २०८० मा इतिहासकार महेशराज पन्तले ‘नपढ्ने नेपाली’ शीर्षकमा लेख लेख्नुभएको छ। हाम्रोमा पढ्ने संस्कार कम छ। गम्भीर पाठकको संख्या कमी छ। बच्चादेखि नै लेखपढ गर्ने बानीको विकास गर्न सकेका छैनौँ। संघीयता लागू भएपछि जताततै भ्यूटावर र गेट बनेको खबर पढियो। तर कतिवटा बाल पुस्तकालय स्थानीय तहमा बने वा बनेनन् होलान्? यस्तो समाचार किन कसैले प्रकाशित गरेन वा खोजेन? किनभने हाम्रो विकासको परिभाषामा यस्ता कुरा पर्दैनन्। र हाम्रा लागि यी समाचार नै होइनन्।

अमेरिकामा मेरो पिएचडीका गुरु र रिसर्च कमिटीका प्राध्यापकसँगको भेटमा हामीबीच बजारमा आएका नयाँ पुस्तकको बारेमा छलफल हुन्थ्यो। साथीहरू पनि ट्रेनमा हिँड्दा पढिरहेका देखिन्थ्यो र कक्षाकोठामा अन्य पुस्तक बोकेर आउँथे। मैले यहाँ स्नातकोत्तरसम्म पढ्दा पाठ्यपुस्तक बाहेकका पुस्तकको बारेमा कक्षाकोठामा वा विद्यार्थीसँग छलफल गर्ने र उनीहरूलाई पढ्न उत्प्रेरित गर्ने प्राध्यापक नै भेटिन। हाम्रो प्राज्ञिक वातावरणले पढाइको भोक र ज्ञानको हुटहुटी जगाउँदैन। कसरी पास गर्ने भन्ने मात्रै सिकाउँछ। प्राज्ञिक क्षेत्र नै यस्तो भएपछि अरू क्षेत्रबाट के आशा गर्ने?

गम्भीर पाठक भएमा नै मागअनुसार गम्भीर किसिमका रिपोर्टिङ उत्पादन हुन्छ। त्यसकारण ज्ञान विज्ञानको क्षेत्रमा गम्भीर रिपोर्टिङ नभएको एउटामात्रै होइन, अनेकौं कारण छन्। तर पछिल्लो समयमा राम्रा-राम्रा गैरराजनीतिक विषयका रिपोर्टिङहरू र लेख पनि आइरहेका छन्।

विज्ञानभन्दा पत्रकारिता अघि 
विज्ञान र पत्रकारिता सँगसँगै जाँदा समाजमा व्याप्त कुरीति, रुढी कुराहरूलाई तर्क र तथ्यले हटाउँदै लैजान सकिन्छ। हाम्रोमा भएको अभाव यही हो। समग्र पत्रकारिता क्षेत्रको प्रभाव, लगानी, र लगन विज्ञानको भन्दाअघि छ जस्तो लाग्छ नेपालमा। उपलब्धि हेर्ने हो भने नेपालको विज्ञान क्षेत्रले गरेको भन्दा पत्रकारिता क्षेत्रको सकारात्मक उपलब्धि धेरै छन्। 

उदाहरणका लागि नेपालमा केही यस्ता लोभलाग्दा पत्रकार छन्, जसले मिहिनेत गरेर इश्यु खोज्छन्, लगनका साथ समाचार बनाउँछन्। जसको कारण बहालवाला मन्त्रीसमेत राजीनामा दिन बाध्य हुन्छन्। बहालवाला सचिव जेल पुग्छन्। राजनीतिक परिवर्तनका लागि मात्रै होइन, भ्रष्टाचार निवारण, सुशासनको लागि नेपाली पत्रकारहरूको मिहिनेत अनुसरण गर्न लायक छ।

नेपाली पत्रकारिताको यस्ता सुनाउन लायक उपलब्धिको दाँजोमा विज्ञान क्षेत्रले समाजलाई दिएको सकारात्मक उपलब्धि कम भएजस्तो लाग्छ। विज्ञान क्षेत्रले ब्रेक थ्रु गर्न सकेको छैन। पत्रकारिताले गरिरहेको छ।

पत्रकारिताले गर्नुपर्ने सुधार
नेपाली पत्रकारिताले कन्टेन्टमा विविधता ल्याउन जरुरी छ, यत्रो विविधता भएको देशको पत्रकारितामा त्यो प्रतिबिम्बित हुन सक्नुपर्यो। थप, नेपाली पत्रकारिताको बुझाइमा भिज्युअल भनेको फोटो मात्रै हो। मानव मस्तिष्कले ९० प्रतिशत सूचना दृश्य माध्यमबाट पाउँछ र उसले अक्षरभन्दा ६० हजार गुणा तेज गतिमा त्यसलाई विश्लेषण गर्छ। हामी मानव भिज्युअल क्रिएचर हो। त्यसकारण समाचारको प्रभावलाई गाढा र जीवन्त बनाउन इन्फोग्राफिक्स, नक्सा, ग्राफ जस्ता कुराले ठूलो भूमिका राख्छन्।

१० चलेका अनलाइन समाचार पोर्टलमा दिनभर छापिएका खबरलाई बेलुकी लिष्ट बनाउने हो भने तिनीहरूमा तात्विक भिन्नता पाइँदैन। फलाना पोर्टलले त यो विषयमा उम्दा लेख्छ भन्ने पहिचान अझै बन्न सकेको छैन।

ल्यू क्वान यूको मृत्युपछि द इकोनोमिष्ट पत्रिकाले ‘सिंगापुर इन द ल्यू क्वान यू यर्स’ भनेर एउटा ग्राफ राखेर समाचार बनाएको थियो। सन् १९५९ मा उनले प्रधानमन्त्रीको शपथ लिँदाको बेलादेखि सन् २०११ मा राजीनामा दिँदासम्म सिंगापुरको प्रतिव्यक्ति आयमा आएको वृद्धिलाई देखाइएको उक्त ग्राफले बोलेको तथ्य सयौं पेजभन्दा बढी अक्षरले बोल्नेभन्दा बढी प्रभावकारी थियो। यस्ता भिजुअलको महत्व नेपाली मिडियामा अझै स्थापित हुन सकेको छैन।

नेपाली मिडियाले आफ्नो विशिष्टता र पहिचान पनि कायम गर्न नसकेको हो कि जस्तो पनि लाग्छ। १० चलेका अनलाइन समाचार पोर्टलमा दिनभर छापिएका खबरलाई बेलुकी लिष्ट बनाउने हो भने तिनीहरूमा तात्विक भिन्नता पाइँदैन। फलाना पोर्टलले त यो विषयमा उम्दा लेख्छ भन्ने पहिचान अझै बन्न सकेको छैन। सँगै खोजमुलक रिपोर्टले प्रभाव पारेको अनेकौं उदाहरण हुँदा-हुँदै पनि हाम्रोमा गहकिलो अनुसन्धानमुलक समाचारमा अझै कम भएको हो कि? थप, फलोअपको पनि समस्या छ। हेलिकप्टर कहाँ उड्यो? नेपाली खोप कतिले लगाए? आफैंले लेखेको खबरको हालत अहिले के छ? खोज्नु पर्दैन?

अर्काे हामी कम्फर्ट जोनबाट बाहिर निस्कन नसकेका हौँ कि? तपाईँ पत्रकार पनि हामी वैज्ञानिक क्षेत्रका मानिस पनि, प्राथमिकता चयनमा पनि चुकेका हौँ जस्तो लाग्छ। यसमा फेरि स्रोतकै कुरा आउँछ। स्रोतको अभाव पक्कै छ। तर खासमा दृष्टिकोणको अभाव हो। दृष्टिकोण प्रष्ट हुने हो भने स्रोत जुटाउन सकिन्थ्यो कि?

(वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठसँग ‘वैज्ञानिकको दृष्टिकोणमा नेपाली पत्रकारिता’ शिर्षकमा प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

१६ माघ, २०८०, १३:०४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।