सलोनको ‘युओजी’बाट सलिनमानको कमब्याक

सलोनको ‘युओजी’बाट सलिनमानको कमब्याक

काठमाडौं : अभिनेताद्वय सलोन बस्नेत र सलिनमान बनियाँ मिल्ने साथी हुन्। उनीहरू एकअर्कालाई निकै सहयोग गर्छन्।

सलिनले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ फ्लप भएपछि अर्को फिल्ममा काम गर्ने आँट गर्न सकेका थिएनन्। एकपछि अर्को फिल्म हिट होला भन्ने उनको सोचाइले फेल खायो। त्यसपछि उनी व्यापार व्यवसायमा लागे।

त्यसपछि उनले कमब्याक गर्ने सोच बनाएका थिएनन्। तर, उनलाई अभिनेता सलोन बस्नेतले आफ्नै होम प्रोडक्सनमा बन्न लागेको फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाराज)’ मार्फत कमब्याक गराउन लागेका छन्।

मंगलबार सलोनले दुवै जनाको मुख्य भूमिका रहने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको जानकारी दिए।

पोस्टरमा अभिनेता सलिन र सलोन बस्नेतलाई एक्सनमा उतारिएको छ। पोस्टरको पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ।

५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका सलिनको यो तेस्रो फिल्म हो। उनको पहिलो फिल्म ‘ए मेरो हजुर २’ थियो। पहिलो फिल्मले सफलता पाएपछि उनले दोस्रा फिल्म ‘यात्रा’मा काम गरेका थिए।

निर्माण पक्षका अनुसार फिल्म ‘युओजी’ चार करोड बजेटमा निर्माण हुन लागेको हो।

आगामी वैशाख वा जेठबाट फ्लोरमा जाने यस फिल्मको निर्देशक, प्राविधिक लगायतको टुङ्गो लागेको छैन। यो फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो।

यसअघि यही प्रोडक्सनमा निर्माण भएको फिल्म ‘जय हो’ फ्लप भएको थियो।

१६ माघ, २०८०, १२:२७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।