दयाहाङ-मिरुनालाई साहरुख-काजोल बनाउने नेपाली निर्देशकको लोभ, ‘जारी’को हल्का मिठास तीतै बन्ने जोखिम

दयाहाङ-मिरुनालाई साहरुख-काजोल बनाउने नेपाली निर्देशकको लोभ, ‘जारी’को हल्का मिठास तीतै बन्ने जोखिम

काठमाडौं : संख्यात्मक आधारमा हेर्ने हो भने बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री काजोलले सँगै अभिनय गरेका फिल्मको सङ्ख्या त्यति धेरै छैनन्। तर, यी दुवै कलाकार जोडी बनेर अभिनय गरेको चरित्रबाट कायल बनेका दर्शकहरू अझै उनीहरू एकै पर्दामा देखिने समयको पर्खाइमा देखिन्छन्।

‘बाजिगर’बाट सुरू भएको यी दुवैको अनस्क्रिन जोडीले निकै राम्रा फिल्म दिए। ‘दिलवाले दुल्हनिया ले जाएँगे’, ‘कभी खुसी कभी गम’, ‘कुछकुछ होता है’ जस्ता सफल फिल्ममा अभिनय गरेका उनीहरू साहरुख र काजोलभन्दा राज र सिम्रनको रूपमा बढी प्रिय भए दर्शकमाझ।

धर्मेन्द्र र हेमा मालिनीको युगमा फर्कनै पर्दैन। ‘बचना ए हसिनो’ अनि ‘तमासा’मा अभिनय गरेका रणबीर कपुर अनि दीपिका पादुकोणकै अनस्क्रिन जोडीलाई पनि दर्शकहरूले निकै मन पराएका थिए।

फेमस अनस्क्रिन हलिउड कपल सर्च गर्दा टन्नै जोडीहरू देखिन्छ। त्यही सूचीमा भेटिन्छन् टाइटानिकका लियोनार्दो डिक्याप्रियो अनि केट विन्सलेटदेखि ‘लभ एन्ड बास्केटबलका साना लाथन र ओमर एप्सको जोडी।

पर्दामा देखिएको प्रेमिल उम्दा अभिनयबाट क्रेजी भएका दर्शकले यी कृत्रिम जोडी हुन् भन्ने बिर्सिएर जब पर्दाकै जोडीलाई मन पराउन थाल्छन् त्यो जोडी सदाबहार सफल हुन पुग्छ साहरुख-काजोल अनि लियोनार्दो-केट जस्तै। उनीहरू वास्तविक जीवनका हैनन्, पर्दाका जोडी हुन्। तर दर्शकले उनीहरूको पर्दाकै जीवनलाई मन पराए। आदर्श जोडी माने।

उनीहरूले सँगै अभिनय नगरेको लामै समय बित्ते पनि, वास्तविक जीवनमा अर्को जोडी छाने पनि दर्शकले उनीहरूको पर्दाको जोडी सम्झिरहन्छन्।

नेपाली चलचित्र नगरीमा संख्यात्मक आधारमा केही अभिनेता-अभिनेत्री लामै समय जोडीको रूपमा काम नगरेका हैनन्। तर आदर्श जोडीका रूपमा दर्शकको मनमा बस्न सफल देखिएनन्। केही हदसम्म राजेश हमाल र करिश्मा मानन्धरले पर्दामा सफल जोडीको छवि बनाएका थिए। तर त्यो फिल्मको सङ्ख्या बढाउन मात्र काम लाग्यो। आहा उनीहरूको त्यो कायल पार्ने अभिनय भनेर सम्झने दर्शक दुर्लभ।

अन्य कलाकारको हकमा भेटिने अनि छुटिनेक्रम जारी छ। पर्दामा जोडी जमाउन असफलहरू पर्दा बाहिरको प्रेमका किस्साले केही समय चर्चामा आउँछन् अनि हराउँछन्।

जोडीकै रूपमा अहिले अभिनेता दयाहाङ राई अनि अभिनेत्री मिरुना मगरको माग बढ्दै छ निर्मातामाझ। 'कबड्डी ४' अनि 'जारी' को व्यावसायिक सफलतापछि यी दुवै अनुबन्धित भएका फिल्मको सङ्ख्या बढ्दो छ।

'जारी' पछि उनीहरू ‘नाङ्गो गाउँ’मा जोडी बने। ‘रङेली’, ‘मनसरा’, ‘घर ज्वाइँ’, ‘लोकल हिरो’अनि ‘गाउँ नै रमाइलो’मा यी दुवै अनुबन्धित भएका छन्।

यसको कारण शाहरुख अनि काजोल या लियोनार्दो डिक्याप्रियो अनि केटझैँ कायल पार्ने अभिनय या मिलेको केमेस्ट्री नै हो त?

यी दुवै एकै समुदायका सदस्य हुन्। अनि उनीहरूले नै प्रतिनिधित्व गर्ने कथामा दया र मिरुना जोडी बाँधिदा कथासँगै पात्रको अभिनयमा दर्शक केही हदसम्म बग्न सक्छन्। अपनत्व अनुभव गर्न सक्छन्। कमजोर फिल्म हुँदाहुँदै कबड्डी-४ अनि जारी चल्नुमा केही हदसम्म कथा अनि कथा अनुसारको कलाकारको केमेस्ट्रीले काम गरेको देखिएकै हो।

त्यही सफलताबाट लोभिएर 'नाङ्गो गाउँ'मा यही जोडी दोहोराउँदा जति गफ जोते पनि लगानी सुरक्षित गर्न निर्माताले ठसठस कन्नैपर्यो।

यी दुवै आदर्श प्रेम जोडीको रूपमा दर्शकको मनमा बस्न सफल भइसकेका छैनन् भन्न ठुलै सर्वेक्षणको आवश्यकता पर्दैन। यी दुवैको व्यापारिक रूपमा सफल तर कथा अनि निर्माणको गुणस्तरको आधारमा मध्यम फिल्मले नै यो तर्कको पुष्टि गर्छ। तर कबड्डी-४  अनि जारीको कथा अनुसारको पात्र चयन सही हो। त्यसैले त फिल्म चल्यो।

तर अब यी दुवैले अभिनय गर्ने फिल्मका नाम हेर्दा कथाको माग अनुसार दया-मिरुनाको चयन भन्दा पनि उनीहरूको अभिनय रहेको फिल्म चलेका आधारमा त्यसैलाई बजारको माग ठानेर अनुबन्ध गर्ने प्रतिस्पर्धा चलेको टाइटलहरूले नै धेरै हदसम्म देखाउँछ।

२० घर भएको टोलमा एउटा किराना पसल चलेको देख्यो भने थप १० जनाले त्यहीँ आएर किराना दोकान थाप्ने वा एउटाले ड्रागन फ्रुटको व्यवसाय सुरु गरेर सफल भयो भने गाउँभरि त्यही बिरुवा रोप्ने त नेपालीको विशिष्ट व्यावसायिक क्षमतै हो।

२० घर भएको ठाउँमा १० किराना पसल राख्दा ग्राहक सङ्ख्याले धान्न सक्छ कि सक्दैन वा एउटाले ड्रागन फ्रुट उत्पादन गर्दा बजारमा बिके अनुसार गाउँभर उत्पादन गर्दा बिक्छ बिक्दैन भन्ने पक्षको के मतलब। त्यसको चलेको छ भने मेरो पनि चल्छ भन्ने थ्यौरी बढो गजब छ।

अहिले निर्माता र निर्देशक झुत्ती खेलेर दया-अनि मिरुनाको पछि लाग्नुको थ्यौरी पनि 'रामबाबुले दया-मिरुना लिएर बनाएको फिल्म चल्छ भने, किताब लेख्ने उपेन्द्र सुब्बाले बनाएको फिल्म चल्छ भने मैले बनाएको फिल्म किन नचल्ने' भन्नेभन्दा फरक देखिँदैन। यही सोचले वर्षमा जम्मा पाँच फिल्मले लगानी उठाइरहेको बेलामा पाँच भन्दा बढि फिल्ममा यी नै जोडी बाधिएका छन्।

नेपाली फिल्मको व्यवसायीहरूको सर्वेको शैली पनि किराना पसल सञ्चालक र ड्रागन फ्रुटवाला भन्दा फरक कहाँ छ र! यसले 'जारी'बाट हल्का भए पनि मिठास दिएको यो जोडीलाई निर्माता र निर्देशकले जस्तो फिल्ममा नि जोडि बनाएर सन् २०२४ भरमा दर्शकमाझ 'तितै' बनाएर छाड्ने जोखिम देखिन्छ।

२२ पुस, २०८०, ०१:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।