उकेराको समाचारको संसदीय समितिमा छलफल, सांसदहरूले मागे स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा

उकेराको समाचारको संसदीय समितिमा छलफल, सांसदहरूले मागे स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा

काठमाडौँ : मेडिकल सामाग्री खरिदमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको संलग्नताको विषय संसदीय समितिमा प्रवेश भएको छ। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले त्रिशूलीमा सिटी स्क्यान मेसिन खरिदबारे उकेरामा प्रकाशित समाचार उद्धृत गर्दै ज्यान सन्न हुने भ्रष्ट्राचारको समाचार पढ्दा पनि मन्त्री पदमै रहेको भन्दै राजीनामा मागेका थिए।

बैठकमा पन्तले उकेराको नामै लिएर त्रिशूली अस्पताल लगायतको सिटी स्क्यान मेसिन किन्न भइरहेको मिलेमतोबारे छानबिनको माग गर्दै अख्तियारले समेत छानबिन सुरु गरेकाले मन्त्री बस्नेतले राजीनामा दिनुपर्ने माग गरेका थिए।

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको मङ्गलवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले उकेराको नाम त लिइनन् बैठकमा तर अधिकांश विषय उकेरामा प्रकाशित समाचारकै प्रसङ्ग निकालेर मन्त्री बस्नेतको राजीनामा माग गरिन्।

उनले यस्तो समाचार आएको छ भन्दै उकेराले मन्त्री बस्नेतसहित बागमती प्रदेशका स्वास्थ्यमन्त्रीसहितको समूह मिलेर सिटी स्क्यान मेसिन खरिदमा गरिरहेको मिलेमतो अनि बस्नेत मन्त्री भएपछि भएको खरिदको प्रसङ्ग निकाल्दै मन्त्री बस्नेतको राजीनामा मागेकी थिइन्।

बागमती प्रदेश अन्तर्गत त्रिशूली, सिन्धुली र भक्तपुर अस्पतालका लागि हुन लागेको सिटी स्क्यान मेसिनको खरिदमा मिलेमतो गरेर पाँच करोडमा आउने मेसिन आठ करोडमा जडान गर्ने तयारी भइरहेको छ। तीनै जिल्लाको खरिदमा केन्द्रको स्वास्थ्यमन्त्रीसँगै प्रदेशको स्वास्थ्य र बनमन्त्री समेत प्रत्यक्ष संलग्न देखिएका छन्। त्रिशूलीको टेन्डर बनमन्त्री मसिना खड्काको पारिवारिक सदस्यले पाएका छन्।

बस्नेत स्वास्थ्यमन्त्री नियुक्त भएपछि उनले गरेको करिब साढे २ अर्बको खरिद प्रक्रियाबारे उकेराले विस्तृत समाचार प्रकाशित गरेको थियो जसमा अधिकांश ठुला सामाग्रीको खरिदमा सेटिङ देखिएको थियो। 

सम्बन्धित समाचार

१७ पुस, २०८०, ००:५२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।