त्रिशुलीको सिटी खरिद लफडा : प्रारम्भिक अनुसन्धानमा त्रुटि देखिएपछि थप छानबिन गर्न तीन सदस्यीय समिति गठन

त्रिशुलीको सिटी खरिद लफडा : प्रारम्भिक अनुसन्धानमा त्रुटि देखिएपछि थप छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं : त्रिशुली अस्पतालको सिटी स्क्यान मेसिन खरिदको प्रारम्भिक अनुसन्धानमा त्रुटि देखिएपछि थप अध्ययन गर्न बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर नेल्सन महतलाई मन्त्रालयले त्रिशुलीमा भइरहेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियाबारे अनुगमनका लागि पठाएको थियो। उनले बुझाएको प्रतिवेदनमा प्राविधिक स्पेशिफिकेसन र टेण्डर प्रक्रियामा त्रुटि देखिएपछि नयाँ समिति गठन भएको हो।

मन्त्रालयले मंसिर १७ गते पत्र लेख्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाका दशौं तहका चिकित्सकको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेर त्रिशुली पठाएको छ।

तीन सदस्यीय छानबिन समितिको सदस्यमा हेटौंडा अस्पतालका एक जना रेडियोलोजिष्ट चिकित्सक र बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका एक जना बायोमेडिकल इन्जिनियर छन्।

स्रोतका अनुसार छानबिन टोली त्रिशुली अस्पताल पुगिसकेको छ।

मन्त्रालयले छानबिन समितिलाई दिएको पत्रमा सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा मंसिर चार गते उकेरामा प्रकाशित ‘चौबिस करोडको सिटी किन्न लक्ड स्पेशिफिकेशन, नौ करोडको कमिशनको खेलमा स्वास्थ्यमन्त्री बस्नेतदेखि प्रदेश वनमन्त्री खड्कासम्म’ शीर्षकमा छापिएको समाचारलाई आधार मान्दै मन्त्रालयले सात गते त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहलाई लिखित जवाफ पेश गर्न पत्राचार गरिएको उल्लेख छ।

सो पत्राचारपछि त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले मन्त्रालयलाई सिटी खरिद प्रक्रियाको विषयमा मंसिर १४ गते लिखित जवाफ दिएको प्रदेश स्वास्थ्य मन्त्रालयले पत्रमा उल्लेख गरेको छ।

बायोमेडिकल इन्जिनियर महतले सिटी स्क्यान मेसिन खरिद प्रक्रियाको अनुगमनको प्रतिवेदन मंसिर १७ गते मन्त्रालयमा बुझाएका छन्। बायोमेडिकल इन्जिनियरले दिएको प्रतिवेदनमा त्रिशुलीको सिटी स्क्यान खरिद प्रक्रियामा त्रुटि देखिएको औँल्याएका छन्।

बायोमेडिकल इन्जिनियर महतले कात्तिक १३ गते त्रिशुली अस्पतालमा खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिनको बोलपत्र संशोधन गरी प्राविधिक स्पेशिफिकेशनमा रहेका विभिन्न बुँदाहरू संशोधन गरेको देखिएको तर ती बुँदाहरू संशोधन गर्नुपर्ने कारण के कस्ता हुन् भन्ने प्रष्ट रूपमा नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

कार्डियाक प्याकेज र फ्लोरोस्कोपिक प्याकेजलाई ‘फ्युचर अपग्रेडाबिलिटी फिचर’को रूपमा राखिएको देखिएको र सो कुराको कारण स्पष्ट रूपमा नदेखिएको बायोमेडिकल इन्जिनियर महतले प्रतिवेदनमा औंल्याएका छन्।

खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिनको वारेन्टीको समय, विना आधार दुई वर्ष मात्र राखिएको छ। यस विषयलाई पनि महतले प्रतिवेदनमा त्रुटिका रूपमा औंल्याएका छन्।

‘कम्प्रिहेन्सिभ वारेन्टी पिरियड दुई वर्ष राखिएको देखिन्छ। कम्प्रिहेन्सिभ वारेन्टी पिरियड दुई वर्ष मात्र राख्नुको कारण स्पष्ट रूपमा देखिएन’, प्रतिवेदनमा बायोमेडिकल इन्जिनियर महतले भनेका छन्।

त्यसैगरी ‘बिडर मस्ट बी सबमिट गुड पर्फर्मेन्स एण्ड स्याटिस्फ्याक्टरी सर्भिस लेटर फ्रम एनी टु रेपुटेड इन्स्टिच्युट इन नेपाल फर दी सेम कोटेड मोडेल्स। इफ फेल टु सबमिट दी टु दी बीड विल डिसक्वालिफाइड’ पनि प्राविधिक स्पेशिफिकेशनमा लेखिएको पाइएको र यो बुँदा राख्नुको कारण स्पस्ट रूपमा नदेखिएको महतले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ।

प्राविधिक स्पेशिफिकेशनमा भएका अन्य बुँदाहरूको विज्ञ सहितको समूहद्वारा थप स्पष्ट पार्नुपर्ने प्रतिवेदन प्राप्त भएकाले संलग्न बमोजिमको ‘टीओआर(कार्यक्षेत्र विवरण)’ सहित सो उजुरी छानबिन गरी राय प्रतिक्रिया सहितको प्रतिवेदन पेश गर्न प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाका चिकित्सकको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेर त्रिशुली पठाएको स्वास्थ्य मन्त्रालयले छानबिन समितिलाई दिएको पत्रमा उल्लेख छ।

छानबिन समितिले पत्र प्राप्त गरेको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र राय प्रतिक्रिया सहितको प्रतिवेदन पेश गर्नुपर्ने मंसिर १७ गते मन्त्रालयले सचिवस्तरीय निर्णय गरेको हो।

‘उकेराको समाचार मिहीन रूपमा अध्ययन गर्नु’
मन्त्रालयले त्रिशुलीको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियाको छानबिनका लागि छानबिन समितिलाई दिएको पत्रमा ‘खरिद प्रक्रियामा प्रचलित कानुन बमोजिमको प्रक्रिया अवलम्बन भए नभएको यकिन गर्नुपर्ने’ उल्लेख छ।

त्यसैगरी ‘साबिक र परिवर्तित प्राविधिक स्पेशिफिकेशनको बुँदाहरू परिवर्तन भएको भए, प्राविधिक रूपमा औचित्यपूर्ण कारणसहित भए/नभएको छानबिन गर्नुपर्ने’ भनि छानबिन समितिलाई मन्त्रालयले निर्देशन दिएको छ।

‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर नेल्सन महतबाट पेश भएको सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अनुगमनको समाचारका सम्बन्धमा प्रतिवेदनमा उल्लेखित बुँदाहरू उकेरामा प्रकाशित समाचारलाई समेत मिहीन रूपमा अध्ययन गरी ठहर सहितको राय प्रतिक्रिया पेश गर्नुपर्ने’ प्रदेश स्वास्थ्य मन्त्रालयले छानबिन समितिलाई निर्देशन दिएको छ।

छानबिन गरी ठहर सहितको एकीन प्रतिवेदन पेश गर्नका लागि आवश्यकता अनुसार विषयगत विशेषज्ञको पनि सहयोग लिन सकिने मन्त्रालयले छानबिन समितिलाई दिएको पत्रमा उल्लेख छ।

तीन करोड कमिशनका लागि हतार-हतार खरिद
त्रिशुली अस्पतालका लागि पाँच करोडमा आउने सिटी स्क्यान मेसिन आठ करोडमा किन्ने प्रक्रियाबारे त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहलाई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। सो बारे यसअघि नै उकेरामा समाचार सम्प्रेषण भइसकेको छ।

त्रिशुली अस्पतालले प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर क्यानन-तोसिवालाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएका थिए।

यसबारे उकेराले प्रमाणसहित समाचार सम्प्रेषण गर्दै आएको छ, जुन पुष्टिसमेत भइसकेको छ।

त्रिशुली अस्पतालको खरिद प्रक्रियामा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतदेखि बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंह तथा बिचौलिया लगायतको सेटिङ रहेकोबारे उकेराले समाचार सम्प्रेषण गर्दै आएको छ।

सिटी स्क्यान मेसिनको खरिदमा भइरहेको मिलेमतो सार्वजनिक भएसँगै बढेको विवादमा प्रदेश स्वास्थ्यमत्री जोशीले स्वास्थ्य सचिव खड्कालाई प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंसिर १५ गते सरुवा समेत गराइसकेका छन्।

११औं तहका खड्कालाई हटाएपछि अहिले मन्त्री जोशीको निर्देशन अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयमा नै कार्यरत दशौं तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारीमा तोकिएको छ।

मिलेमतोमा नै सिन्धुली र भक्तपुर अस्पतालमा समेत यही किसिमको सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया सुरू भइसकेको छ।

त्यसो त खरिद विवाद अनि स्वास्थ्य मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको प्रक्रियामा नै रहेको अवस्थामा कमिसनको सेटिङका लागि क्यानन-तोसिवाको सिटी स्क्यान मेसिनसँग प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर उसैको नेपाली सप्लायर्ससँग सात करोड ८८ लाख ७४ हजारमा खरिद गर्नेगरी टेण्डर स्वीकृतिको आशयको सूचना अस्पतालले जारी गरिसकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया नटुंग्याउँदै अस्पतालले हतार-हतार सिटी खरिदको प्रक्रिया अन्तिम चरणमा पुर्याउनुले पनि खरिदमा कति बदमासी छ भन्ने प्रष्ट हुन्छ।

अख्तियारले मंसिर १ गते अस्पताललाई पत्र लेख्दै सिटी खरिदको बोलपत्र प्रकाशन गर्दा त्रुटिपूर्ण ढंगले खरिद गर्न लागेको भन्ने समेत व्यहोरा आयोगमा दर्ता हुन आएको भन्दै १५ दिनभित्र सम्बन्धित कागजात पठाउन त्रिशुली अस्पताललाई निर्देशन दिएको थियो।

सम्बन्धित समाचार

१८ मंसिर, २०८०, २२:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।