सिटी खरिद विवादमा स्वास्थ्यमन्त्रीले फालेका बागमतीका स्वास्थ्य सचिव खड्का अदालतको आदेशबाट फर्किए

सिटी खरिद विवादमा स्वास्थ्यमन्त्रीले फालेका बागमतीका स्वास्थ्य सचिव खड्का अदालतको आदेशबाट फर्किए

काठमाडौँ : सिटी स्क्यान मेसिन खरिदमा मनमुटाब बढेपछि प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्कालाई मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा सरुवा गराएका थिए। उनै सचिव खड्का  सर्वोच्च अदालतको अन्तरिम आदेशबाट स्वास्थ्यमै फर्किएका छन्।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बिहीबार खड्कालाई हटाउने निर्णय कार्यान्वयनमा रोक लगाउँदै कारण देखाऊ आदेशसँगै अन्तरिम आदेश समेत जारी गरेको छ।

नुवाकोटको त्रिशूली, भक्तपुर र सिन्धुली गरी तीन अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिदमा भइरहेको मिलेमतो सार्वजनिक भएसँगै सचिव खड्का र प्रदेश स्वास्थ्यमन्त्री जोशीबीच मनमुटाब बढेको थियो।

त्रिशुलीका अस्पताल प्रमुखलाई स्पष्टीकरण सोधेको र सो विषय मिडियालाई दिएको भन्दै जोशीले खड्कालाई मुख्यमन्त्री कार्यालयमा सरुवा गराएर उनको स्थानमा दसौँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिए। खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।

पाँच करोडमा जडान हुने सिटी स्क्यान मेसिन आठ करोडमा जडान गर्न केन्द्रको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतदेखि प्रदेशको स्वास्थ्यमन्त्री जोशी, बनमन्त्री मसिना खड्का लगायत संलग्न देखिएका थिए। खरिद प्रक्रियाबारे एकातिर छानबिन भइरहेको छ। अर्कोतिर अस्पतालले त्रिशूलीको सिटी स्क्यानका लागि सप्लायर्स समेत छानिसकेको छ।

त्रिशूली अस्पतालमा कमिसनको सेटिङमा क्यानन–तोसिवाको सिटी स्क्यान मेसिनसँग प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर उसैको नेपाली सप्लायर्सहरुसँग सात करोड ८८ लाख ७४ हजारमा खरिद गर्ने टेन्डर स्वीकृति गर्ने आशयको सूचना अस्पतालले जारी गरिसकेको छ।

अहिले खरिद प्रक्रियामा मिलेमतो भएकोबारेमा मन्त्रालयले गठन गरेको समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैतिर अनुसन्धान भइरहेको छ।

प्रारम्भमा सचिव खड्का समेत मिलेमतोमा खरिद गर्ने समूहमै थिए। उनले बायोमेडिकल इन्जिनियर पठाउने लगायतका काममा उनीहरूलाई सघाएका थिए।

उकेरामा निरन्तर प्रमाणसहित यो प्रकरण सम्बन्धी समाचार सार्वजनिक भएपछि कारबाहीबाट जोगिन सचिव खड्काले त्रिशूली अस्पतालका प्रमुखलाई स्पष्टीकरण सोधे। सचिव खड्काले प्राविधिक स्पेशिफिकेशनको मूल्याङ्कन गर्न समिति गठन गर्न खोज्दा मन्त्री जोशीले पर्दैन भन्दै एक जनालाई मात्र मौखिक जिम्मा दिए। प्रारम्भिक अनुसन्धानमा खरिद प्रक्रियामा त्रुटी देखिएपछि अहिले स्वास्थ्य मन्त्रालयले मंसिर १७ गते तीन सदस्यीय छानबिन समिति गठन गरेर छानबिन गराएको छ।

सचिव खड्काले त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहसँग स्पष्टीकरण सोधेपछि विशेषगरी मन्त्री जोशीसँगै बनमन्त्री मसिना खड्का समेत रिसाएकी थिइन्। डा. सिंहलाई स्पष्टीकरण सोधेपछि प्रदेश स्वास्थ्य मन्त्री जोशी र खड्काबीच खटपट सुरु भएको थियो। अख्तियारले छानबिन सुरु गर्दै पत्र पठाएको समाचार बाहिरिएपछि जोशी सचिवसँग रिसाएका थिए।

सचिव खड्कालाई मंसिर १२ को मन्त्रिपरिषदको निर्णय अनुसार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १५ गते पत्र लेख्दै ११ औँ तहका खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, हेटौंडामा सरुवा गरेको थियो।

खड्कालाई मुख्यमन्त्री कार्यालयमा सरुवा गरेपछि मन्त्रीको निर्देशन अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत दसौँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको थियो।

त्यसपछि प्रदेशको मंसिर २० गते बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले तिवारीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। तिवारीलाई सोही दिन बढुवा गरेर सचिवमा नियुक्त गरिएको थियो।

तिवारी प्रदेश स्वास्थ्य सेवा–समूह, एघारौँ तहको अधिकृतस्तरको निर्देशक पदमा बढुवा भएका थिए। तिवारीलाई स्वास्थ्य निर्देशनालय, हेटौंडाको निर्देशक पदमा पदस्थापन गरी स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशको प्रदेश सचिवको जिम्मेवारी तोक्दै बढुवा नियुक्ति तथा पदस्थापन गरिएको थियो।

उकेराले प्रारम्भमै त्रिशूलीमा मिलेमतोमा क्यानन–तोसिवाको सिटी स्क्यान मेसिन किन्न प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरिएको प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

त्रिशूली अस्पतालले कात्तिक ११ मा सूचना जारी गरेर जोइन्ट भेन्चर ‘ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि, लिड सिन्धु सर्जिकल कन्सर्न प्रालि, सब ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि’ लाई सिटी स्क्यान मेसिनको ठेक्का दियो।

तीन अस्पतालको सिटी स्क्यान मेसिनमा नौ करोड घोटाला हुने गरी बागमतीकी बनमन्त्री मसिना खड्काको पारिवारिक सदस्यलाई दिन समूह नै सक्रिय थियो। योजना अनुसारै त्रिशूलीको सप्लायर्स छानियो।

क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च हुन्। क्यानन जापानी मेसिन हो। हिटाची–फूजीको नेपाली सप्लायर्स (फर्म)‘क्यापिटल इन्टरप्राइजेज’ हो भने यसका मालिक जयकृष्ण श्रेष्ठ हुन्।

क्यानन–तोसिवाको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रालि’ हो। यसका प्रमुख धिरज थपलिया हुन्। सिन्धु सर्जिकल हाउसका मालिक यज्ञ भण्डारी हुन्

त्रिशूलीमा जस्तै मिलेमतो गरेर सिन्धुली र भक्तपुर अस्पतालमा समेत सिटी स्क्यान मेसिन किन्न यही समूह सक्रिय छ। सिन्धुलीमा प्राविधिक स्पेशिफिकेशन बनाउने काम भइरहेको छ। 

सम्बन्धित समाचार

२८ मंसिर, २०८०, २३:००:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।