सिटी स्क्यान उद्घाटनको तामझाम सकियो, तर मेसिन चलाउने मान्छे नहुँदा बिरामीको सास्ती उस्तै
सिरहा : सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा जडान गरिएको ‘सिटी स्क्यान’ मेसिन जनशक्ति अभावका कारण थन्किएको छ।
गत वैशाख २१ गते तामझामका साथ सेवाको उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन्।
अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा सञ्चालन गर्न एक रेडियोलोजिस्ट, एक रेडियो प्राविधिक र एक जना सहयोगी गरी तत्काल तीन जना कर्मचारी आवश्यक पर्छ।
हालै अस्पताल प्रमुखको कार्यभार सम्हालेकी डा. वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश मन्त्रालयमा निरन्तर समन्वय भइरहेको बताइन्।
उनले भनिन्, ‘हामीले मन्त्रालयमा निरन्तर ताकेता गरिरहेका छौँ, तर प्रदेशभरि नै विशेषज्ञ (रेडियोलोजिस्ट) को अभाव रहेकाले कहिलेसम्म कर्मचारी आउँछन् भन्ने टुङ्गो लाग्न सकेको छैन।’
यता, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा नागरिकमा गलत सन्देश गएको बताए।
‘आमनागरिकलाई सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा दिने पवित्र उद्देश्यले धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर चलाउने प्राविधिक नहुँदा अप्ठेरोमा परेका छौँ’, उनले भने। जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले तत्काल सहयोग गर्नुपर्ने उनको माग छ।
जानकारहरूका अनुसार प्रदेश सरकारले अस्पतालका तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साहको विज्ञतालाई हेरेर नै लहानमा यो मेसिन पठाएको थियो।
तर, मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका एक्ला रेडियोलोजिस्ट डा. साहलाई गत माघ २ गते मन्त्रालयले सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेपछि यहाँ प्राविधिक सङ्कट निम्तिएको हो।
मधेस प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा करिब रु १२ करोड लागतमा दुईवटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो।
तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. सुनिलप्रसाद कुशवाहाका अनुसार तीमध्ये एउटा मेसिन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अर्को लहान प्रादेशिक अस्पतालमा पठाइएको थियो। अहिले त्यही महँगो मेसिन जनशक्ति अभावमा प्रयोगविहीन बन्न पुगेको छ।
वैशाख ३१, २०८३ बिहीबार ०७:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।