त्रिशुलीको सिटी स्क्यान खरिद कमिसन विवाद : प्रदेश स्वास्थ्यमन्त्री जोशीले हटाए स्वास्थ्य सचिव खड्का

त्रिशुलीको सिटी स्क्यान खरिद कमिसन विवाद : प्रदेश स्वास्थ्यमन्त्री जोशीले हटाए स्वास्थ्य सचिव खड्का

काठमाडौँ : मिलेमतोमा तीन अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिदमा भइरहेको मिलेमतो सार्वजनिक भएसँगै बढेको विवादमा प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य सचिव बद्रीबहादुर खड्कालाई प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गराएका छन्।

नुवाकोटको त्रिशूली, सिन्धुली र भक्तपुर अस्पतालका लागि पाँच करोडमा जडान हुने सिटी स्क्यान मेसिन केन्द्रदेखि प्रदेशसम्मको मिलेमतोमा आठ करोडमा जडान गर्न स्वास्थ्यमन्त्री जोशी समेत संलग्न देखिएका थिए। मिलेमतो अनुसार त्रिशुलीको सिटी स्क्यानका लागि सप्लायर्स समेत छानि सकिएको छ।

कमिसनको सेटिङमा क्यानन–तोसिवाको सिटी स्क्यान मेसिनसँग प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर उसैको नेपाली सप्लायर्सहरुसँग सात करोड ८८ लाख ७४ हजारमा खरिद गर्ने टेन्डर स्वीकृति गर्ने आशयको सूचना नै अस्पतालले जारी गरिसकेको छ।

प्रारम्भमा स्वास्थ्य सचिव खड्काले सो समूहलाई सघाएका थिए। उकेरामा निरन्तर प्रमाणसहित यो प्रकरण सम्बन्धी समाचार सार्वजनिक भएपछि कारबाहीबाट जोगिन सचिव खड्काले त्रिशूली अस्पतालका प्रमुखलाई स्पष्टीकरण सोधेका थिए। सचिव खड्काले प्राविधिक स्पेशिफिकेशनको मुल्या‌ंकन गर्न समिति गठन गर्न खोज्दा मन्त्री जोशीले पर्दैन भन्दै एक जनालाई मौखिक जिम्मा दिएका थिए।

खरिद प्रक्रिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेसँगै मन्त्री जोशीले विश्वास नभएको भन्दै मुख्यमन्त्री सालिकराम जम्मकट्टेललाई दबाब दिएर सचिवै परिवर्तन गर्न लगाए।

जानकार स्रोतका अनुसार सचिव खड्काले त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहसँग स्पष्टीकरण सोधेपछि मन्त्री जोशीसँगै बनमन्त्री मसिना खड्का समेत रिसाएकी थिइन्। टेन्डर आफू अनुकूल सप्लायर्सलाई पार्न केन्द्रमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतदेखि प्रदेश स्वास्थ्यमन्त्री जोशी अनि बन मन्त्री खड्का समेत सक्रिय थिए। योजना अनुसारै त्रिशुलीको टेन्डर बनमन्त्री मसिना खड्काको पारिवारिक सदस्य आरएस भण्डारीलाई परिसकेको छ।

डा. सिंहलाई स्पष्टीकरण सोधेपछि प्रदेश स्वास्थ्य मन्त्री जोशी र खड्काबीच खटपट सुरु भएको थियो। अख्तियारले छानबिन सुरु गर्दै पत्र पठाएको समाचार बाहिरिएपछि जोशी सचिवसँग रिसाएका थिए।

उकेरालाई प्राप्त तथ्य अनुसार सचिव खड्कालाई मङ्सिर आठ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १५ गते पत्र लेख्दै ११ औँ तहका खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा सरुवा गरेको पत्रमा उल्लेख छ।

खड्कालाई मुख्यमन्त्री कार्यालयमा सरुवा गरेपछि मन्त्रीको निर्देशन अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत दशौं तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको छ।

उकेराले शुक्रवार राती तिवारीसँग सम्पर्क गर्दा उनले आफूलाई जानकारी नभएको बताए। ‘मलाई ठ्याक्कै जानकारी भएन त्यो कुरा, म चार बजे अफिसबाट निस्किएँ,’उनले भने,‘आइतबार अफिस गएपछि बुझौँला। कसै कसैले म्यासेज त गरेका थिए। बाटोमा थुप्रो फोन त आएका थिए, मैले उठाएको छैन।’

उकेराले एक हप्ता अघि मङ्सिर आठ गते ‘सिटी स्क्यान खरिद प्रकरण: त्रिशूली अस्पतालका प्रमुखलाई प्रदेश स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण पत्र’ र पाँच दिन अघि  मङ्सिर दश गते ‘त्रिशूली अस्पतालको सिटी खरिद नियमितताबारे अख्तियारले थाल्यो छानबिन’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। यही समाचारबाट मन्त्री र सचिवबीच खटपट बढेको स्रोतको दाबी छ।

‘त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहलाई सचिवले स्पष्टीकरण सोधेको अनि अख्तियारले छानबिन थालेको विषय उकेरामा आएपछि मन्त्री (जोशी) ज्यू सचिवज्यूसँग रिसाउँदै उहाँलाई हटाउने कसरतमा लाग्नु भएको थियो, त्यसैको परिणाम हो यो,’स्रोतले भन्यो।

कमिसनका लागि निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर बनाउने जिम्मा प्रदेशकी करारकी बायो मेडिकल इन्जिनियर सन्दीपा खड्काले पाएकी थिइन्। समूहको योजना अनुसार त्रिशूलीमा प्राविधिक स्पेशिफिकेशन बनाएर उनी अहिले सिन्धुली अस्पतालमा प्राविधिक स्पेशिफिकेशन बनाउन पुगेकी छिन्।

करिब तीन करोड बढी मूल्य तिरेर सिटी स्क्यान मेसिन किन्ने तयारीमा अनियमितताको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ दिनको समय दिएर टेन्डर प्रक्रियाका सबै कागजपत्र मगाएको थियो। तर कागजपत्र नपठाइ उता अस्पताल प्रशासनले टेन्डर स्वीकृतिको निर्णय गरिसकेको छ।

त्रिशूली अस्पतालले कात्तिक ११ मा सिटी स्क्यान मेसिनको ‘बोलपत्र स्वीकृत गर्ने आशयको सूचना’ जारी गरिसकेको छ।

त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहले जारी गरेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा जोइन्ट भेन्चर ‘ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि, लिड सिन्धु सर्जिकल कन्सर्न प्रालि, सब ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि’ लाई सिटी स्क्यान मेसिन खरिद गर्ने उल्लेख छ।

क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च हुन्। क्यानन जापानी मेसिन हो। हिटाची–फूजीको नेपाली सप्लायर्स (फर्म)‘क्यापिटल इन्टरप्राइजेज’ हो भने यसका मालिक जयकृष्ण श्रेष्ठ हुन्।

क्यानन–तोसिवाको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्राली’ हो। यसका प्रमुख धिरज थपलिया हुन्। भण्डारी सर्जिकल हाउसका मालिक आरएस भण्डारी हुन्। उनी ह्याम्स अस्पतालका अध्यक्ष समेत हुन्।

त्रिशूलीपछि सिन्धुली र भक्तपुर अस्पतालमा समेत यस्तै किसिमको सिटी स्क्यान मेसिन खरिद गर्नेगरी यही समूहले प्रक्रिया अगाडि बढाइसकेको छ।

सम्बन्धित समाचार

१५ मंसिर, २०८०, २३:२७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।