इचङ्गु अपार्टमेन्टबाट मृगौला रोगी मुनाको चित्कार- ‘सरकारले मर्नु न बाँच्नु बनाएर यहाँ ल्याएर थुन्यो’
काठमाडौं : सात वर्षदेखि मृगौलाको समस्यासँग जुधिरहेकी मुना खनाललाई हप्ताको दुई दिन डाइलासिस गर्न अस्पताल पुग्नैपर्छ। डाइलासिस गर्न एकदिन मात्र ढिला भए पनि उनको ज्यानै जोखिममा पर्न सक्छ।
गत वैशाख १२ गते सरकारले मनोहरा नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउँदा मुना ओछ्यानमै थिइन्। अचानक डोजर आएपछि मुनाका श्रीमान् सनकुमारलाई कहिल्यै नपरेको विपत्ति आइलाग्यो। जेनतेन श्रीमती र केही घरायसी सामान त निकाले, तर २२ वर्षदेखि बस्दै आएको बासस्थान भने जोगाउन सकेनन्।
घर भत्किएकै दिन बेलुका बिरामी श्रीमती बोकेर सनकुमार दशरथ रङ्गशालामा सरकारले सुकुम्बासी दर्ताका लागि तोकेको ठाउँमा पुगे र नाम दर्ता गराए। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा बिरामी मुनाको अवस्थालाई नजरअन्दाज गर्दै अन्य साधारण व्यक्तिलाई झैँ गोंगबुस्थित एक गेस्ट हाउसमा ल्याएर राख्यो।
घर भत्काउने बेला सनकुमारले श्रीमती बिरामी भएको भन्दै ठाउँ नछोड्ने जिद्दी गरेका थिए। तर, सरोकारवालाहरूले सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगिने र त्यहाँ औषधोपचारको सुविधा हुने आश्वासन दिएर उनीहरूलाई गोंगबु लगेका थिए। श्रीमतीको राम्रो ख्याल हुने आश्वासनपछि उनीहरू त्यहाँ जान राजी भए।

केही दिनपछि वैशाख २९ गते सरकारले उनीहरूलाई गोंगबुको होटलबाट इचङ्गुस्थित अपार्टमेन्टमा सार्यो। अहिले उनीहरू त्यही छन्।
इचङ्गु ल्याइएको दिनको स्मरण गर्दै मुनाले भनिन्, ‘गोंगबुको गेस्ट हाउसमा बस्दा डाइलासिस गरेर भर्खर आइपुगेको थिएँ। कोठामा पुग्न पनि नपाई तलैबाट गाडीमा हालेर यहाँ ल्याइयो।’
सरकारी कर्मचारीले अपार्टमेन्टमा डाक्टर हुने र आपतकालीन अवस्थामा एम्बुलेन्स तयारी अवस्थामा रहने बताएका थिए। तर, यथार्थ भने फरक भएको उनले बताइन्।
‘औषधिको चिन्ता नगर्नु, डाक्टर नै बसेर उपचार गर्छन् भनेका थिए। तर, अहिले यस्तो अवस्थामा ल्याएर छोडिदिए,’ सनकुमारले उकेराकर्मीसँग दुखेसो पोख्दै भने, ‘श्रीमतीको उपचारका लागि हरेक पटक २५ देखि ३५ सय रुपैयाँ लाग्छ। मेरो कमाइ छैन। साथीहरूसँग मागेर काम चलाइरहेको छु।’
सनकुमारलाई आफ्नो पुर्ख्यौली घर कहाँ हो भन्ने जानकारी नभएको बताउँछन्। बुबाले पुर्ख्यौली ठाउँको नाम मात्र बताएको र कहिल्यै घर नदेखाएका कारण उनीहरू बाध्य भएर सुकुम्बासी बस्तीमा बस्दै आएका थिए।
तर, श्रीमती मुनाको वीर अस्पतालले बनाइदिएको विपन्न कार्डमा उनको ठेगाना झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ भनिएको छ भने नागरिकता नम्बर उल्लेख छ।

२०६९ सालअघि उनीहरू गलैँचा बुन्ने काम गर्थे। मनोहरा नदी किनारमा सुकुम्बासी बस्ती बस्न थालेपछि त्यहीँ सामान्य घर बनाएर बस्न थालेका थिए। रङ लगाउने काम गर्ने सनकुमार अहिले पूर्ण रूपमा बिरामी श्रीमतीको हेरचाहमा व्यस्त छन्।
‘त्यहाँ बसेको २२ वर्ष भयो। पहिला गलैँचा बुन्ने काम गर्थेँ। बिरामी श्रीमती भएकाले राम्रोसँग काम गर्न पाएको छैन’, उनले भने। अब कहाँ जाने भन्ने अनिश्चितताले खनाल परिवारलाई सताएको छ।
होल्डिङ सेन्टरमा छैन आपतकालीन उपचार
काठमाडौंका सुकुम्बासीहरूलाई राख्ने भन्दै विभिन्न होल्डिङ सेन्टरमा स्वास्थ्य परीक्षण डेस्क राखिएको भनिए पनि इचङ्गुको अपार्टमेन्टमा त्यस्तो कुनै व्यवस्था छैन।
यस विषयमा नागार्जुन नगरपालिका वडा नम्बर १ का वडा सदस्य रामप्रसाद खनालले भने, ‘सरकारले हतार नगरी व्यवस्थित गरेको भए राम्रो हुन्थ्यो। बिरामी, सुत्केरी, वृद्ध सबैलाई एकैनासले उठायो। अस्ति मंगलबार डाक्टरहरू आएर चेकअप गरेका थिए। तर, स्वास्थ्य डेस्क नै भनेर राखिएको छैन। कहिलेकाहीँ आएर चेकअप गर्नुहुन्छ। दीर्घरोगीहरूलाई निकै गाह्रो छ।’
मुना र सनकुमारलाई अपार्टमेन्टको भुइँतलामा राखिएको छ। मर्मत भइरहेको अपार्टमेन्टको आवाज र रङको गन्धले मुनालाई थप गाह्रो बनाएको छ। ‘फलाम काटेको आवाज त्यस्तै छ, भर्खर रङ लगाएको छ। टाउको त्यस्तै दुख्छ। अस्ति त बमिट नै भयो’, मुनाले भनिन्।
नियमित रूपमा डाइलासिसका लागि अस्पताल जानुपर्ने मुनालाई समयमा गाडी नपाउँदा झनै सकस छ। सनकुमारले बोडेस्थित होल्डिङ सेन्टरमा राख्न अनुरोध गरे पनि कर्मचारीले नसुनेको बताए।
‘यहाँ न त गाडी लाग्छ, न एम्बुलेन्स छ। यस्तो बिरामीलाई कसरी अस्पतालसम्म पुर्याउनु? यहाँ ल्याउनुअघि नै हामीले बोडेको होल्डिङ सेन्टरमा राख्न भनेका थियौँ,’ उनले भने, ‘त्यहाँबाट कोरियन अस्पताल आउजाउ गर्न सजिलो हुन्थ्यो। वीर अस्पताल जान पनि गाडी पाइन्थ्यो। हामीलाई बोडे सारिदिए हुन्थ्यो।’
त्यति मात्र होइन, अपार्टमेन्टमा सुरक्षा गार्डले राति १० बजेदेखि बिहान ५ बजेसम्म गेट बन्द गर्ने हुँदा राति केही भइहाले के गर्ने भन्ने चिन्ताले सनकुमारलाई पिरोलेको छ।
‘राति ८ बजेभित्र अपार्टमेन्टभित्र छिरिसक्नुपर्छ। १० बजेदेखि बिहान ५ बजेसम्म गेट बन्द हुन्छ। यस्तो बिरामी राखिएको छ, न डाक्टर छ, न एम्बुलेन्स। राति केही भयो भने मैले के गर्ने?’, उनले प्रश्न गरे।
‘३ वर्षअघि छोरा हरायो, अहिले उठिबास लाग्यो’
खनाल दम्पतीका तीन सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको छ भने एक मात्र छोरा तीन वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। छोराले कमाएर सुख देला भन्ने आश थियो।

सुरुको एक महिना सम्पर्कमा रहेका छोरा अचानक सम्पर्कविहीन भएपछि उनीहरूले धेरै ठाउँमा हारगुहार गरे। एकातिर छोरा हराएको पीडा, अर्कोतिर सरकारले घरमा डोजर चलाएपछि उनीहरूमाथि बज्रपात भएको छ।
‘२०८९ भदौ ७ गते कमाउन भनेर दुबई गएको थियो। एक महिनासम्म सम्पर्क भयो। आमालाई फोन गरिरहन्थ्यो। हाफ तलब आयो समेत भनेको थियो। तर, त्यसपछि एकाएक सम्पर्कविहीन भयो। अहिलेसम्म के भयो भन्ने थाहा छैन’, सनकुमारले मलिन स्वरमा भने।
सरकारसँग हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि सनकुमार आफैँ म्यानपावर कम्पनी पुगेका थिए। म्यानपावर कम्पनीले दुबईको कम्पनीमा बुझ्दा छोरा त्यहीँ काम गरिरहेको जवाफ दिएको थियो।
‘आमा-छोराको दिनदिनै कुराकानी भइरहेकै थियो। एक्कासी छोरा हरायो। हारगुहार कसलाई गर्ने? हाम्रो कुरा कसले सुनिदिन्छ र! म्यानपावरले त छोरो काम गरिरहेकै छ भन्यो। छोरा बाँचेकै होला भन्ने आशमा छौँ, तर देखेको, सुनेको छैनौँ’, उनले भने।
जेठ २, २०८३ शनिबार ११:००:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।