त्रिशुली अस्पतालको सिटी खरिद अनियमितताबारे अख्तियारले थाल्यो छानबिन

त्रिशुली अस्पतालको सिटी खरिद अनियमितताबारे अख्तियारले थाल्यो छानबिन

काठमाडौं : मिलेमतोमा हुन लागेको नुवाकोटको त्रिशुली अस्पतालको सिटी स्क्यान मेसिन खरिद प्रक्रियाबारे  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ।

अख्तियारले मंसिर १ गते सिटी खरिद प्रक्रियाका विषयमा कागजातसहित विवरण उपलब्ध गराउन त्रिशुली अस्पताललाई पत्र पठाएको छ। 

पत्रमा ‘चालू आर्थिक वर्षमा सिटी खरिदको बोलपत्र प्रकाशन गर्दा त्रुटीपूर्ण ढंगले खरिद गर्न लागेको भन्ने समेत ब्यहोरा आयोगमा दर्ता हुन आएको भन्दै १५ दिनभित्र सम्बन्धित कागजपत्र पठाउन भनिएको छ। 

केन्द्रदेखि प्रदेशसम्मको स्वास्थ्य मन्त्रालयको नेतृत्व र उच्चतहका कर्मचारीहरूले स्वास्थ्य उपकरणको निश्चित आयातकर्तासँग मिलेर पाँच करोडमा जडान हुनसक्ने सिटी आठ करोडमा किन्न लागेकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।

अख्तियारले सिटी स्क्यान खरिदको स्वीकृत बजेट , टेण्डरको स्पेशिफिकेशन र स्पेशिफिकेशन तयार गर्दा लिइएका आधार तथा निर्णय सम्बन्धी कागजात, खरिदका लागि लागत अनुमान र लागत अनुमान तयार गर्दाका आधार तथा निर्णयहरू, बोलपत्रसम्बन्धी कागजात, सूचना र सर्तहरूसमेत उपलब्ध गराउन निर्देशन दिएको छ।

त्रिशुलीसँगै सोही समूहले सिन्धुली र भक्तपुर अस्पताल पनि उसैगरि मिलेमतोमा सिटी किन्ने तयारी गरिरहेको छ। तीन अस्पतालका लागि सिटी किन्दा नौ करोड घोटालाको तयारी भइरहेको छ।

ती अस्पतालमध्ये नुवाकोटको त्रिशुली अस्पतालमा सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सिन्धुली र भक्तपुरमा भने खरिद प्रक्रिया प्रारम्भको चरणमा छ।

एक सिटी स्क्यान मेसिन किन्दा तीन करोड अनियमितता गर्नेगरी भइरहेको खरिद प्रक्रियाबारे उकेरामा समाचार प्रकाशित भएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले त्रिशुली अस्पतालका प्रमुखलाई खरिदको विषयमा स्पष्टीकरण पत्र पठाएका थिए। उनले खरिदमा आफू संलग्न नरहेको दाबी गर्दै आएका छन् तर उकेराले पाएको तथ्यमा खरिद प्रकरणमा उनको भूमिका समेत शङ्कास्पद देखिन्छ।

बिहीबार मन्त्रालयले त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहलाई स्पष्टीकरण पत्र पठाएको उकेरासँगको कुराकानीमा सचिव खड्काले नै पुष्टि गरिसकेका छन्। स्पष्टीकरण पत्रसहित उकेरामा प्रकाशित समाचार समेत प्रिन्ट गरेर मन्त्रालयले सिंहलाई पठाएको थियो।

बिहीबार नै मन्त्रालयले प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका स्थायी बायोमेडिकल इन्जिनियर नेलशन महतलाई त्रिशुलीको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा बनाइएको प्राविधिक स्पेशिफिकेशनको अध्ययनको जिम्मेवारी दिइसकेको छ।

तर, बायोमेडिकल इन्जिनियरलाई लिखित नभई मौखिक निर्देशन मात्रै दिइएको छ। पछिल्लो समय बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनमा उनलाई त्रिशुली अस्पताल पठाइएको थियो।

यसबारे समिति नै गठन गर्न सुझाव आए पनि मन्त्री जोशीले ‘पर्दैन’ भन्दै छानबिनको कर्मकाण्डी पूरा गरेर कमिशनको लोभले मौखिक निर्देशनमा महतलाई जिम्मेवारी दिएका हुन्। महत त्रिशुली पुगेर फर्किसकेको स्रोतले जानकारी दिएको छ।

त्रिशुलीमा कसरी खरिद प्रक्रिया अगाडि बढ्छ त्यसैलाई मध्येनजर गरेर सिन्धुली र भक्तपुरले खरिद प्रक्रिया अगाडि बढाउने दाउमा रहेका उनीहरू पर्ख र हेरको अवस्थामा छन्। प्रदेशले बजेट छुट्याएपछि मिलेमतोमा बजार मूल्यभन्दा तीन करोड बढीमा सिटी स्क्यान मेसिन किन्ने तयारी भइरहेको हो।

तर, त्रिशुलीमा अगाडि बढेको सिटी खरिदमा भएको अनियमितताको सेटिङका विषयमा उकेराले निरन्तर समाचार सम्प्रेषण गरेपछि कमिसनको कनेक्शनको विषय छताछुल्ल भयो। 

त्रिशुली अस्पतालमा पाँच करोडमा आउने सिटी स्क्यान मेसिन आठ करोडमा किन्न मेसिनको प्राविधिक स्पेशिफिकेशनमा निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी लक्ड गरिएको छ। 

सिटी खरिदको कमिसनको सेटिङमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतदेखि बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, नेता तथा बनमन्त्री मसिना खड्का , बिचौलिया र त्रिशुली अस्पतालका प्रमुख डा. सिंह लगायत देखिएका छन्। खरिदमा मेडिकल सामानको आपूर्ति गर्दै आएका मन्त्री खड्काको श्रीमान् तथा मेडिकल व्यवसायी विकास सर्जिकलका अक्कल बहादुर भण्डारी र हेम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी लगायत सक्रिय देखिएका छन्।

कमिसनका लागि निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर बनाउने जिम्मा प्रदेशकी करारकी बायोमेडिकल इन्जिनियर सन्दीपा खड्काले पाएकी छन्।

अब के हुन्छ?
त्रिशुली अस्पतालको सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनमा राखिएका अधिकांश मुख्य बुँदाहरू क्यानोन/तोसिवाको सिटी स्क्यान मेसिनसँग मिल्छन्। यही उत्पादक कम्पनीको सिटी खरिद गर्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर बनाइएको छ।

उकेरामा प्रमाणसहित समाचार प्रकाशित भएपछि क्यानोन/तोसिवाको सिटी खरिद गर्दा खरिद प्रक्रिया छानबिनमा आउन सक्ने भन्दै अहिले हिटाची/फुजीको सिटी खरिद गर्न सकिने विकल्पमा खरिद प्रक्रिया अघि बढिरहेको विश्वस्त स्रोतले जानकारी दियो।

हिटाची र फुजी एउटै कम्पनी हुन्। तर, क्यानोन/तोसिवालाई टेण्डर दिँदा छानबिन तथा अनियमितताको फन्दामा परिने अनि हिटाची/फुजीलाई दिँदा थोरै कमिशन आउने स्थिति हुँदा सिटीको टेण्डर नै रद्द हुने समेत सम्भावना रहेको विश्वस्त स्रोतले बतायो।

१० मंसिर, २०८०, १४:१०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।