जाजरकोट भूकम्प पीडितका लागि सरकारद्वारा सहयोगको अपिल

जाजरकोट भूकम्प पीडितका लागि सरकारद्वारा सहयोगको अपिल
फाइल फोटो

काठमाडौं : सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको खोज, उद्धार र उनीहरूलाई राहतका  लागि  सहयोग गर्न अपिल गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार बिहान एक सुचना जारी गर्दै दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी सहयोग गरिदिन अपिल गरेको हो। 

त्यसका लागि सरकारले नौवटा बैंकका खाता नम्बर समेत उपलब्ध गराएको छ।

शुक्रवार राती ११ : ४७ मा जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्याङ्कअनुसार भूकम्पबाट जाजरकोटमा मात्रै तीन हजार ६५० घरमा क्षति पुगेको छ। ९ सय ५ घर पूर्ण रुपले क्षति भएका छन्।

भूकम्पमा परी गम्भीर घाइतेलाई सुर्खेत, नेपालगन्ज र काठमाडौँ लगिएको छ। भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ।

तीमध्ये जाजरकोटमा १ सय ५ जना र रुकुम पश्चिममा ५२ जनाको ज्यान गएको हो।  भूकम्पबाट २ सय ४६ जना घाइते भएका छन्।

२० कात्तिक, २०८०, ०८:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।