स्वास्थ्य मन्त्रालयको ताल, एक विषयमा निकालेको विज्ञप्ति दुई पटक सच्यायो

स्वास्थ्य मन्त्रालयको ताल, एक विषयमा निकालेको विज्ञप्ति दुई पटक सच्यायो

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक प्रसङ्गमा निकालेको विज्ञप्ति दोस्रो पटक सच्याएको छ। उकेराले मन्त्रालयमा चर्किएको विज्ञप्ति काण्डबारे मङ्गलवार समाचार प्रकाशित गरेको थियो। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अब नसच्याउने दाबी गरेका थिए तर बुधबार दोस्रो पटक विज्ञप्ति सच्याएर जारी गरे।

मन्त्रालयले कात्तिक १२ मा आयुर्वेदिक औषधिप्रति प्रयोगकर्तामा भ्रम फैलने भाषा प्रयोग गरेर विज्ञप्ति जारी गरेको थियो। त्यसपछि आयुर्वेदतर्फका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए।

अनि १२ गते विज्ञप्ति सच्याइयो। त्यसमा पनि आयुर्वेदिक चिकित्सकहरूले चित्त नबुझाएपछि बुधबार फेरी मन्त्रालयले विज्ञप्ति सच्याएको हो।

मन्त्रालयले कात्तिक १२ गते जारी गरेको विज्ञप्तिप्रति केही सरोकारवालहरूको बुझाई अन्यथा हुन गएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति सच्याएको हो।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा ‘उक्त विज्ञप्ति सम्बन्धित परिषद्मा दर्ता भएका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको परामर्शमा सेवन गर्ने औषधि व्यवस्था विभागमा दर्ता भएका आयुर्वेदिक औषधिहरू तथा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्ट, श्रृगांरका सामग्री, नुडल्सको विषयमा नभई जथाभाबी रूपमा शरीरमा दुष्प्रभाव पार्ने सम्भावना भएका जडीबुटी, गह्रौं धातु, खनिज पदार्थहरू रहेको पेन्ट, श्रृगांरका सामग्री, नुडल्स बारेमा जारी गरिएको जानकारी गराउन चाहन्छौं।’

मन्त्रालयले यसअघि आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरूमा रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको भन्दै विज्ञप्ति जारी गरेको थियो। मन्त्रालयको त्यो विज्ञप्तिले समग्र आयुर्वेदिक औषधिप्रति नै भ्रम फैलिएको भन्दै आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले असन्तुष्टि जनाएका थिए।

१५ कात्तिक, २०८०, २३:०६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।