स्वास्थ्य मन्त्रालयमा विज्ञप्ति काण्ड, प्रवक्ता भन्छन्- ‘कति सच्याउनु’

स्वास्थ्य मन्त्रालयमा विज्ञप्ति काण्ड, प्रवक्ता भन्छन्- ‘कति सच्याउनु’

काठमाडौँ  : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेदिक औषधिप्रति नै भ्रम फैलाउन गरी विज्ञप्ति जारी गरेपछि आयुर्वेदतर्फका चिकित्सकहरू मन्त्रालयको नेतृत्वप्रति रुष्ट छन्।

मन्त्रालयले १२ गते ‘लेड (सिसा)को विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह पारेर जारी गरेको विज्ञप्तिमा ‘नेपालमा भएका अनुसन्धानहरूमा बालबालिका, प्रजनन् समूहका वयस्क मानिसहरू, आयुर्वेदिक औषधि सेवन गर्ने बिरामी, सरसफाईकर्मीहरु एवं रंगरोगनमा संलग्न पेन्टरहरुको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको’ उल्लेख गर्यो।

विज्ञप्तिमा आयुर्वेदिक औषधिको सेवन गर्ने बिरामीहरूको रगतमा अत्यधिक मात्रामा सिसा पाइएको समेत उल्लेख गर्यो। तर कुन प्रकारको औषधिमा यस्तो देखिएको हो अनि कसले अनुसन्धान गरेको हो भन्ने खुलाएन। विज्ञप्तिको अर्को बुँदामा रगतमा सिसा देखिनुको सम्भाव्य स्रोत आयुर्वेदिक औषधि भनेर राख्यो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको हस्ताक्षर रहेको विज्ञप्तिले निश्चित आयुर्वेद भन्दा पनि समग्र आयुर्वेदिक औषधिमै सिसा हुन्छ भनेको प्रस्टै देखिन्छ। मन्त्रालयले हचुवा पारामा विज्ञप्ति निकालेको भन्दै आयुर्वेदसँग जोडिएका सरकारी संस्था, चिकित्सक लगायतकाले विमति जनाएपछि कात्तिक १२ को मिति राखेर १३ गते अर्को विज्ञप्ति जारी गर्यो।

दोस्रो विज्ञप्तिमा ‘केही आयुर्वेदिक’ औषधि सेवन गर्ने बिरामीहरू भन्ने राखियो। दोस्रो पटक जारी गरेको विज्ञप्तिमा ‘यसको सम्भाव्य स्रोतहरू रंगरोगन (पेन्ट्स), सौन्दर्यका प्रशाधनहरु (लिपस्टिक, काजल), रङ्गीचङ्गी खेलौनाहरू, खानेकुरा (नुडल्स), केही तथा दर्ता नगरिएका आयुर्वेदिक औषधि भनेर लेखियो।

दोस्रो विज्ञप्तिले पनि आयुर्वेदका चिकित्सकहरूको चित्त बुझाउन सकेन। उनीहरूले  मन्त्रालयले नै आयुर्वेद चिकित्साविरुद्ध भ्रम फैलाउन लागेको भन्दै कि कुन औषधिमा अधिक सिसा फेला परेको हो सो प्रमाणित गर्न कि विज्ञप्ति सच्याउन माग गरिरहेका छन्।

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएजस्तै आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यमा नै गम्भीर नकारात्मक असर गर्ने सिसाको मात्रा अत्यधिक छ त? औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मन्त्रालयले कुन औषधिमा त्यस्तो सिसाको मात्रा छ भन्ने उल्लेख नगरेको र त्यस्तो घातक सिसा भएको औषधि कुन हो भन्ने थाहा नभएको बताए।

‘विभागले मानव स्वास्थ्यलाई नै असर पर्ने किसिमको अत्यधिक लिड (सिसा)को मात्रा भएको आयुर्वेदिक औषधि उत्पादन तथा बिक्री वितरणको लागि अनुमति दिँदैन र दिएको छैन’ उनले भने।

केही आयुर्वेदिक (प्लान्ट बेस) औषधिहरूमा सिसाको मात्रा हुनसक्ने भए पनि त्यो सीमा भित्र मात्रै हुनुपर्ने उनले बताए। विभागले यस्तो सीमा भित्र नै रहेर उत्पादन तथा विक्रिवितरण अनुमिति दिने ढकालले तर्क गरे।

‘सीमा भित्र छ भने त्यसलाई प्रयोग गर्न मिल्छ,’ढकालले भने,‘सीमा बाहिर भयो भने हामीले अनुमति नै दिँदैनौँ।’

मन्त्रालयको विज्ञप्तिमा कहाँको र कुन आयुर्वेदिक औषधिमा अत्यधिक मात्रामा सिसा पाइएको भन्ने खुलाइएको भए कुन आयुर्वेदिक औषधिमा सिसाको मात्रा धेरै छ भन्ने अध्ययन गर्न औषधि व्यवस्था विभागलाई पनि सहज हुने ढकालले तर्क गरे।

उनले यस विषयमा मन्त्रालयमा सोध्दा यो नेपालको उत्पादनसँग जोडिएको (विषय) नभई अन्तर्राष्ट्रिय अध्ययन, विभिन्न अनुसन्धानमा आएको विषयलाई सचेतनामूलक विषय भएकाले (विज्ञप्ति) जारी गरेको’ भन्ने जवाफ आएको उनले उकेरासँग बताए।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सल्लाहबिना नै स्वास्थ्य मन्त्रालयले सो विज्ञप्ति जारी गरेकाले मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटी देखिएको विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताए।

उनले मन्त्रालयले जारी गरेको विज्ञप्ति सच्याउनुपर्नेमा जोड दिए। आफू मन्त्रालयको आधिकारिक जानकारीबाट नभई सामाजिक सञ्जालबाट यो विषय थाहा पाएको उनको दाबी छ। यस विषयमा मन्त्रालयका प्रवक्तासँग पनि समन्वय भइरहेको उनले जानकारी दिए।

उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी केही आयुर्वेदिक औषधिमा लिड हुने तर्क गर्छन्। एक पटक विज्ञप्ति सच्याइसकिएकाले अब सच्याउनु नपर्ने उनले बताए।

‘त्यो भन्दा बढी (विज्ञप्ति) सच्याउँदैनौँ,’ उनले भने, ‘त्यतिसम्म सच्चियो।’

‘आयुर्वेदिक केही मेडिसिनमा लिड छ। त्यो त स्वीकार्नैपर्यो। त्यस क्षेत्रमा काम गर्ने डाक्टरसापहरूले पनि २० प्रतिशत जति आयुर्वेदिक मेडिसिनमा लिड बेस्ड हुन्छ भन्नु भएकै छ त’, उनले भने।

उनले आयुर्वेद औषधिको विषयमा स्वास्थ्य मन्त्रालयको रिसर्च नभई वातावरण विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित निष्कर्षलाई आधार मानेर नै विज्ञप्तिमा यो विषय लेखिएको तर्क गरे।

२० प्रतिशत सिसा देखिएका आयुर्वेदिक औषधिको (कम्पनीको) नाम र ब्याच नम्बर रिसर्चरसँग मागिरहेको र प्राप्त गरिसकेपछि औषधि व्यवस्था विभागमा परीक्षणका लागि पठाइने प्रवक्ता डा. बुढाथोकीले तर्क समेत गरे।

आयुर्वेदिक चिकित्सक भन्छन्,‘मन्त्रालयले भ्रम फैलायो’
सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व प्रबन्ध निर्देशक तथा आयुर्वेदिक चिकित्सक डा. वंशदीप शर्मा खरेल स्वास्थ्य मन्त्रालयको विज्ञप्तिले आयुर्वेदिक औषधिप्रति भ्रम फैलिने तर्क गर्छन्।

आयुर्वेद विधामा लिड (सिसा)लाई ‘नाग’ भनिन्छ। नाग अन्तर्गत नाग भष्म, त्रिवङ्ग भष्म आयुर्वेदिक औषधि पर्छन्। आयुर्वेद चिकित्सामा नाग भस्मलाई प्रयोग गर्दा विशेष निकासानिकास प्रयोग गर्नुपर्छ भन्ने विषय शास्त्रमा नै उल्लेख भएको उनले तर्क गरे।

चिकित्सकहरूले नाग भष्मको प्रयोग गर्दा बिरामीको अवस्था लगायत बिचार गरेर सकभर कम मात्रामा प्रयोग गर्ने प्रचलन रहेको डा. खरेलले तर्क गरे।

‘यी औषधि बजारमा औषधि व्यवस्था विभागबाट दर्ता भई अनुज्ञापत्र प्राप्त औषधि नै चिकित्सकहरूले प्रयोग गर्दै आएका छन्,’उनले भने।

तर, नाग भष्म बाहेक कुनै पनि आयुर्वेदिक औषधिहरूमा सिसा (लिड) नहुने डा. खरेल बताउँछन्। एक-दुई औषधिलाई लिएर (केही) आयुर्वेदिक औषधिमा लिड पाइन्छ भनेर मन्त्रालयले विज्ञप्ति जारी गर्नु भ्रमपूर्ण काम भएको उनले बताए।

डा. खरेल औषधि तथा खाद्यपदार्थमा सिसा (लिड)को मात्रा अनुपात पाँच न्यूमाइक्रो मिलिग्राम भन्दा कम भएको खण्डमा मानव शरीरलाई नकारात्मक असर समेत नपर्ने बताउँछन्। त्यसैले मन्त्रालयले जारी गरेको विज्ञप्तिले भ्रम सिर्जना गर्ने उनको तर्क छ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घका निवर्तमान अध्यक्ष तथा आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवाली स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिले समग्र आयुर्वेद औषधिप्रति नै भ्रम फैलाएको बताउँछन्।

‘मन्त्रालयले जारी गरेको विज्ञप्ति त्रृटीपूर्ण छ,’ उनले भने, ‘त्यसले मान्छेलाई आयुर्वेदिकप्रति भ्रम सिर्जना गर्छ। विज्ञप्ति सच्याउन जरुरी छ।’

१४ कात्तिक, २०८०, २१:४४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।