क्रिप्टोकरेन्सी र सट्टेबाजीमा दुई अर्बको कारोबार गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा दुई अर्बको कारोबार गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

काठमाडौं : विभिन्न अनलाइन बेटिङ साइटमा क्रिप्टोकरेन्सी र सट्टेबाजी कारोबार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको मण्डनदेउपुर–८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगाना रहेका छन्। उनलाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईका अनुसार ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको र विभिन्न माध्यमबाट दुई अर्ब १ करोड बढीको कारोबार गरेको खुल्न आएको छ।

१५ वटा वालेटहरू प्रयोग गरी पाँच करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको हो।

त्यसैगरी बिनान्सबाट दुई खाता प्रयोग गरी २ सय ४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य एक अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

ढुंगानाले सामाजिक सञ्जालमा जुवा ३ सय ६५ नामको पेज चलाएर प्रचार गर्दै आएका थिए। उनको साथबाट अनिल साहको नामबाट भारतीय आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएस बैंकको चेकबु एटिएम कार्ड र एरटेल कम्पनीको सीमकार्ड प्रयोग गर्ने गरेको पनि खुल्न आएको छ।

उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ। 

वैशाख ३१, २०८१ सोमबार १३:४१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।