किष्टमा मिर्गौला र कलेजोको दुर्लभ प्रत्यारोपण सफल, अङ्ग पाउनेको स्वास्थ्य सामान्य

किष्टमा मिर्गौला र कलेजोको दुर्लभ प्रत्यारोपण सफल, अङ्ग पाउनेको स्वास्थ्य सामान्य

काठमाडौँ   किष्ट शिक्षण अस्पतालले जटिल एवम् दुर्लभ प्रकृतिको कलेजो र मिर्गौलाको एकै पटक सफल प्रत्यारोपण गरेको छ। नेपालको मेडिकल इतिहासमा यो पहिलो सफलता भएको किष्टले दाबी गरेको छ। दुवै अंगको प्रत्यारोपण सफल भएपछि बिरामी डिस्चार्ज भइसकेका छन्।

बिरामीको कलेजोमा भएको जन्मजात रोगका कारण उनको दुवै मिर्गौला बिग्रेको थियो। उनले लामो समयदेखि डायलाईसिस सेवा लिइरहेकी थिइन्। उनमा दुर्लभ रोग रहेको किष्ट अस्पतालमा भएको परीक्षणबाट पहिचान भएको अस्पतालले जानकारी दिएको छ।

बिरामीको जीवन रक्षा गर्न दुवै अङ्गको एकै साथ प्रत्यारोपण शल्यक्रिया मात्र अन्तिम उपाय देखिएपछि अस्पतालले शल्यक्रिया गरेको थियो।

शल्यक्रिया प्रक्रियामा किष्ट शिक्षण अस्पतालका विभिन्न विधाका एक सय  भन्दा बढी स्वास्थ्यकर्मी परिचालित गरिएको थियो भने  १८ घण्टा भन्दा बढी समय लगाएर दुवै अङ्गहरूको एकै साथ प्रत्यारोपण गरिएको थियो।

चिकित्सक टोलीले सुरुमा कलेजो दाताको शल्यक्रिया गरी लगत्तै कलेजो ग्रहणकर्ताको शल्यक्रिया गरेको थियो। मिर्गौला प्रत्यारोपण समेत एकै समयमा गर्नुपर्ने भएकाले किष्ट अस्पतालका मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक टोलीले मिर्गौला दान दिने व्यक्तिको शल्यक्रिया प्रारम्भ गरेको थियो।

कलेजो प्रत्यारोपण सम्पन्न भए लगत्तै बिरामीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। जटिल प्रक्रियामा अङ्ग ग्रहणकर्ता र दुईजना अङ्गदाताहरूको एकै साथ अति समन्वयात्मक रूपमा तीन वटा अपरेसन थिएटरहरू प्रयोग भएको थियो।

 

कलेजो प्रत्यारोपण टोलीमा आमन्त्रित शल्य चिकित्सक भारत स्थित ईन्दप्रस्थ अपोलो अस्पतालका डा. निरभ गोयलडा. अरुण कुमार भेनुथुरिमिल्लिडा. सञ्जीव अनेजा थिए। किष्ट अस्पतालका वरिष्ठ शल्य चिकित्सक प्रा. डा. मुकुन्दराज जोशीले टिमको नेतृत्व गरेका थिए। टोलीमा नेपाल सरकारबाट अनुमति पाएका लिभर ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंह र लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. वरुण श्रेष्ठ सहभागी थिए। मिर्गौला प्रत्यारोपण टोलीमा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुसालनेफ्रोलोजिस्ट डा. सन्तोष क्षेत्रीडा. कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरू सहभागी रहेको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जानकारी दिए।

मिर्गौला अङ्ग दाता ट्रान्सप्लान्ट भएको एक सातामा डिस्चार्ज भएका थिए भने कलेजो अङ्ग दाता १३ दिनपछि डिस्चार्ज भएका थिए। ट्रान्सप्लान्ट गरिएको व्यक्तिलाई तीन साता अस्पतालमा राखेर निगरानी गरिएको थियो। तीन सातासम्म उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि कात्तिक १२ गते डिस्चार्ज गरिएको थियो।

१४ कात्तिक, २०८०, १७:५२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।