४ अस्पतालको खरिद अनियमितता हेर्न छानबिन समिति, प्रहरी अस्पतालको बदनियत रोक्न आईजीपीले दिएनन् चासो

४ अस्पतालको खरिद अनियमितता हेर्न छानबिन समिति, प्रहरी अस्पतालको बदनियत रोक्न आईजीपीले दिएनन् चासो

काठमाडौं : चार वटा अस्पतालको स्वास्थ्य सामान खरिद प्रक्रिया विवादमा तानिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा भरतपुर अस्पताल, ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन गर्न समिति गठन भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकरण खरिदमा भएको अनियमितताबारे छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको थियो। 

भरतपुर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले एमआरआई मेसिन खरिद प्रक्रिया अगाडि बढाएको थियो भने भक्तपुर क्यान्सर अस्पतालमा प्रक्रियामा रहेको सिटी स्क्यान मेसिन र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भएको मेसिन खरिद प्रक्रियाबारे छानबिनका लागि मन्त्रालयले समिति गठन गरेको हो। 

स्वास्थ्यमन्त्री मोहन बस्नेतले उकेरासँग छानबिन समिति गठन भएको पुष्टि गरेका छन्। उनले स्वास्थ्य उपकरण खरिद प्रक्रिया विवादित देखिएपछि सत्य तथ्य पत्ता लगाउन समिति गठन गरेको उनले बताए। 

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा असार १ मा सचिव स्तरीय निर्णय भएर पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिको संयोजकमा वीर अस्पतालका न्यूक्लियर फिजिसियन डा. कञ्चन अधिकारी छन्। 

समितिमा मन्त्रालयको कानुन शाखाका प्रमुख रेशराज शर्मा, कर्मचारी प्रशासनका उपसचिव कृष्ण थापा, लेखा अधिकृत शालिग्राम चौधरी र स्वास्थ्य सेवा विभागका बायोमेडिकल इन्जिनियर आशीष चौहान छन्। 

सुरुमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो। तर, मेसिन  खरिद प्रक्रियामा भएका प्राविधिक स्पेशिफिकेशन र आर्थिक जस्ता पक्षको अध्ययन गर्नुपर्ने देखिएपछि बायोमेडिकल इन्जिनियर र लेखा अधिकृतलाई समेत समितिमा थपेर तीन सदस्यीय समितिबाट पाँच सदस्यीय बनाइएको मन्त्रालय स्रोतले जानकारी दियो। 

मेसिन खरिदका लागि प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर निश्चित कम्पनीलाई मात्रै टेण्डर पर्ने गरी डेण्डर प्रक्रिया अगाडि बढेको विषयमाथि प्रश्न उठेकाले सूक्ष्म रूपमा प्राविधिक स्पेसिफिकेशनको अध्ययन गर्नुपर्ने देखिएपछि बायोमेडिकल इन्जिनियरलाई पनि समितिमा थपिएको हो। खरिद प्रक्रियामा भएको आर्थिक पाटोलाई पनि केलाउनुपर्ने देखिएपछि लेखा अधिकृतलाई समितिमा थपियो। 

स्रोतका अनुसार मेसिन खरिदका लागि स्पेसिफिकेनशन नै लक्ड गरेर निश्चित कम्पनीलाई मात्रै टेण्डर पर्ने गरी खरिद प्रक्रिया बढेको विषमा नै प्रश्न उठिरहेकाले सचिव डा. रोशन पोख्रेलले स्वास्थ्य सेवा विभागमा सम्पर्क गरेर बायोमेडिकल इन्जिनियर थप्न लगाएका हुन्। 

मन्त्री बस्नेतले एक हप्तामा छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। तर, विषय जटिल भएकाले एक हप्तामा सक्न सहज नभएको समितिका एक सदस्यले बताए। 

खरिदमा प्राविधिक स्पेसिफिकेशन नै लक्ड गरी निश्चित कम्पनीको उत्पादन मात्रै मिल्नेगरी टेण्डर प्रक्रिया अगाडि बढेको थियो। त्यसको अध्ययन गर्न केही समय लाग्छ नै।  

मन्त्री बस्नेतले नै संयोजकमा डा. अधिकारीको चयन गरेका हुन्। डा. अधिकारी सिमेन्स कम्पनीको नेपालस्थित इष्टवेष्ट कर्नसर्नसँग निकट चिकित्सक रहेकाले उनले छानबिन समिति औपचारिकताका लागि मात्र बनेको मन्त्रालय स्रोत दाबी गर्छ। 

यस विषयमा डा. अधिकारीसँग जिज्ञासा राख्दा उनले इष्टवेष्टसँग नजिक भएको आरोप मात्र भएको र त्यो सत्य नभएको दाबी गरे। 

तपाईं त मेसिन उत्पादक सिमेन्स कम्पनीको नेपाली एजेण्ट इष्टवेष्ट कन्सर्नसँग नजिक हुनुहुन्छ भन्ने सुनियो, अनि सिमेन्सले टेण्डर सेटिङ गरेको ठाउँमा निष्पक्ष रुपमा अध्ययन हुन्छ भनेर कसरी विश्वास गर्ने? भन्ने जिज्ञासामा डा.अधिकारीले भने, ‘कसरी नजिक भयो त इष्टवेष्टसँग? यो नेपालमा म जति फेयर मान्छे कमै पाउनुहुन्छ होला। मलाई  जसले, जति, जे आरोप लगाए पनि केही फरक पर्नेवाला छैन। मलाई पहिला काम गर्न दिनुस् त्यसपछि कुरा गरौंला।’

स्वास्थ्य सचिव डा. पोख्रेलको इन्ट्रेसमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले सिमेन्सलाई नै टेण्डर पर्नेगरी खरिद प्रक्रिया बढाएका थिए। यसबारे उकेराले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ।

भक्तपुर ट्रमा सेन्टरमा पनि लक्ड स्पेसिफिकेशन बनाएको आरोप लागेको थियो। स्वास्थ्यमा बस्नेत आएपछि उनकै निर्देशनमा भरतपुर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरको एमआरआई खरिद प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको थियो। 

यी दुवै अस्पतालका प्रमुखले करिब ६० करोड रुपैयाँ खर्चेर एमआरआई खरिद गर्ने प्रक्रिया बढाएका थिए। 
भरतपुर अस्पतालले ३२ करोड ४० लाख रुपैयाँ मूल्य बराबरको थ्री टेस्ला एमआरआई मेसिन इष्ट वेष्ट कन्सर्न प्रालिसँग किन्ने गरी प्रक्रिया अगाडि बढाएको थियो।

सो कम्पनीले त्यस्तै किसिमको मेसिन निजामती अस्पताललाई २२ करोड ७६ लाखमा दिएको थियो। 

त्यसैगरी ट्रमा सेन्टरका पूर्व निर्देशक डा. रुद्रप्रसाद मरासिनीले करिब २५ करोडभन्दा कम मूल्यमा आउने एमआरआई ३० करोडमा खरिद गर्नका लागि टेण्डर प्रक्रिया बढाएका थिए। 

उनले युनाइटेड इमेजिङको एमआरआई खरिद गर्ने तयारी गरेका थिए। 

मन्त्री बस्नेतले दुई हप्ताअघि डा. मरासिनीलाई ट्रमा सेन्टरको निर्देशकबाट हटाएर टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिएका छन्। हाल ट्रमा सेन्टरको निर्देशकमा डा. बद्री रिजाल छन्।

भक्तपुर क्यान्सर अस्पतालमा पनि २५६ स्लाइसको सिटी स्क्यान मेसिन करिब १८ करोडमा खरिदका लागि सिमेन्स कम्पनीको नेपालस्थित इष्टवेष्ट कन्सर्नलाई नै टेण्डर दिने योजनासहित टेण्डर प्रक्रिया अघि बढिरहेको स्रोतले जानकारी दिएको छ। 

भक्तपुर अस्पतालले २०८० वैशाख १३ गते सिटी स्क्यान मेसिन खरिदका लागि टेण्डर गरेको थियो। 

मेसिन खरिदका लागि सप्लायर्स कम्पनीहरूले मेसिन ल्याइदिनका लागि टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति असार तीन गतेसम्म थियो। सो मितिमा अन्य कम्पनीको मेसिनसँग मिल्नेगरी प्राविधिक स्पेसिपिकेशन नै नबनाएर सिमेन्स कम्पनीको सँगमात्रै मिल्ने भएपछि अन्य कम्पनीले असहमति जनाउँदै टेण्डर प्रस्ताव दर्तासमेत गरेनन्। 

उकेराले भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिनको टेण्डर हुनु पूर्व २०७९ माघ १३ गते नै भक्तपुर क्यान्सर अस्पतालले खरिद गर्न लागेको सिटी स्क्यान मेसिनमा सेटिङको विषयमा समाचार सम्प्रेषण गरेको थियो। 

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रियासमेत विवादमा परेपछि त्यसबारे समेत छानबिन गर्न मन्त्रीले निर्देशन दिएका हुन्। 

प्रहरी अस्पतालमा गुपचुप किनियो सी-आर्म, एमआरआई रोकियो 

नेपाल प्रहरी अस्पतालमा प्रक्रिया मिचेर महँगोमा किन्न खोजिएको एमआरआई मेसिनको खरिद प्रक्रिया रोकियो। तर प्रहरी कल्याण कोषबाट सेटिङमा सी-आर्म मेसिन किनियो।

प्रहरी अस्पताल प्रमुख आशा सिंहले ‘सिमेन्स’ कम्पनीका नेपाल एजेन्ट इष्टवेष्ट कन्सर्नसँगको मिलेमतोमा अस्पतालको स्वास्थ्य सामग्री महँगोमा किनेकी हुन्।

उनले जीईको स्थानीय एजेन्ट म्याक्स मेडिटेकसँग मिलेर बढीमा ८० लाखमा आउने सी-आर्म एक करोड १८ लाखमा खरिद गरेकी हुन्।

सी-आर्म खरिद प्रक्रिया अगाडि बढाउने क्रममा ‘स्पेसिफिकेशन’ बनाउँदा नै जीईको उत्पादनसँग मात्रै मिल्ने गरी बनाइएको थियो। यसबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरसमेत जानकार थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परे पनि बदनियतपूर्ण खरिद रोकिएन। 

सिंहकै नेतृत्वमा ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिदको जिम्मा इष्टवेष्टले पाउने गरी २९ करोड २० लाखको खरिद प्रक्रिया अगाडि बढेको थियो। बदनियत रूपमा निश्चित कम्पनीलाई नै टेण्डर पार्नेगरी खरिद प्रक्रिया अगाडि बढाइएको भन्दै खरिद समितिमा रहेका एक सदस्यले हस्ताक्षर गर्न नमानेपछि एमआरआई मेसिन खरिद भने अगाडि बढ्न सकेन।

तर आफ्नै अस्पतालमा बदनियतपूर्ण रूपमा भएको सीआर्म मेसिनको खरिद रोक्न प्रहरी महानिरीक्षकले नै वास्ता गरेनन्।स्रोतका अनुसार सेटिङमा महँगोमा किनिएको सीआर्म मेसिन अस्पतालमा जडान भइसकेको छ।

७ असार, २०८०, १५:११:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।