किनमेल शैली बदलेर विदेशको अवसर नेपालमै छ भन्ने प्रमाणित गर्न प्रयासरत आवास

किनमेल शैली बदलेर विदेशको अवसर नेपालमै छ भन्ने प्रमाणित गर्न प्रयासरत आवास

बुटवल : देशमा केही नयाँ काम गर्ने सम्भावनै छैन भन्ने मनोभाव बोकेर बिदेसिने युवाहरूका लागि रुपन्देहीका युवा आवास बन्जाडेको काम उदाहरणीय हुन सक्छ। कारण, विदेश जान सक्ने राम्रो सम्भावना भए पनि उनी नेपालमै दुई अर्बको लगानीमा पुजीँ र जाँगर भए नेपालमा पनि सम्भावना छ है भन्ने सन्देश दिन प्रयत्नरत छन्।

भारतको बेङ्लुरुबाट व्यवस्थापनमा स्नातकोत्तर गरेर नेपाल फर्किएका उनले रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामको कफी कम्पनीमा २ अर्ब बढी लगानीको 'एनजी मार्केट’ चलाइरहेका छन्। उनी त्यही मार्टबाट किनमेलको शैली बदल्ने प्रयासमा छन्।

‘सहरमा बढ्दो भिड छ। बजारमा पार्किङ छैन। एउटै सामान एकै स्थानमा नपाउँदा उपभोक्ताले हैरान छन्। एउटै मार्टमा सबै सामानहरूको किनमेल गर्न सक्ने योजनाले मार्ट सञ्चालन गरेको हुँ’ २६ वर्षीय बन्जाडेले भने।

उनको लक्ष्य ब्यापार त भयो नै। सँगै उनी रैथाने बजारमा किनमेल गर्नेलाई उपभोक्तालाई त्यही मूल्यमा मार्टमा पनि सामान किन्न सकिन्छ है भन्ने सन्देश दिएर उपभोक्ताको किनमेल शैली बदल्न चाहन्छन्।

 ‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास हुन्छ, त्यसलाई चिर्न सके ‘सपिङ सेन्टर’को भविष्य राम्रै देख्छु' उनले भने।

बहुतले विनाको ‘ह्वाइट हाउस’ आकारको मार्केट उनले आफ्नै शैलीमा बनाएका छन्। ग्राउन्ड फ्लोरमा सबै ‘ग्रोसरी’ उपलब्ध छन्। वैशाख देखि मात्र सञ्चालनमा आएको मार्ट ढाई बिगाहा क्षेत्रफलमा फैलिएको छ। अब छिट्टै सैलुन, नर्सरी, होलसेल मन्डी, आफ्नै खाद्यान्न प्रशोधन, प्याकेजिङको सुरुवात गर्ने तयारीमा छन् उनी।

उनले यसको प्रारम्भ गर्नुमा बुवा नारायण बन्जाडेको भूमिका रहेछ। नारायण आफू राइस मिल र चिउरा उद्योग चलाउने गर्थे। छोरा मार्टको योजनामा गए। छोराको कामबाट नारायण पनि खुसी छन्।

‘हाम्रा उपभोक्ता सस्तो भन्दैमा आँखा चिम्म गरेर सामान खरिद गर्ने परिपाटी अहिले पनि छ। भारतमा गएर ल्याउने सामानको गुणस्तरबारे उपभोक्ताले चासो दिँदैनन्। त्यही कारण हामीले सस्तो तर गुणस्तरीय सामान उपलब्ध गराउने प्रयास गरिरहेका छौँ’ उनले भने।

भारतीय बजारमा गर्ने किनमेलबाट प्रति व्यक्ति १० हजारको सामान खरिद गर्दा राज्यलाई ५ हजार घाटा हुने उनको दाबी छ। पारीबाट ल्याउँदा भन्सार, भ्याट नर्तिदा सरकारलाई घाटा हुन्छ। सामानको गुणस्तरमा त्यस्तै समस्या छ।

‘विदेश के हो भन्ने सबै थाहा थियो। ग्रीनकार्डबाटै म युरोप, अमेरिका बस्न बाबु बाजेले कमाएको पैसाले पुग्थ्यो पनि। तर मैले देशमै केही गर्नुपर्छ भन्ने सोचेर मार्टको अवधारणा सुरु गरे। खुसी नै छु, उनले भने।

१५ चैत, २०७९, १६:३६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।