सन्दीपको मागबमोजिम सर्वोच्चको आदेश, तर थपियो अर्को शर्त

सन्दीपको मागबमोजिम सर्वोच्चको आदेश, तर थपियो अर्को शर्त

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेमाथि उच्च अदालतले लगाएको विदेश जान रोक लगाउने आदेशलाई सर्वोच्चले बदर गरिदिएको छ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको माग बमोजिम विदेश जान रोक लगाउने आदेश बदर गरेको हो। यद्यपि उनीमाथि अर्को शर्त भने थपिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।

उनले भने, ‘उनी (सन्दीप) खेल समाप्त भएको मितिले स्वदेश फर्कँदा लाग्ने युक्तिसंगत म्यादबाहेक १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित हुनुपर्नेछ।’

सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान अदालतको अनुमति

इजलासले लामिछानेलाई धरौटीमा छोड्ने निर्णयलाई सदर गर्दै रोक्का गरिएको राहदानीसमेत फुकुवा गर्नसमेत आदेश दिएको छ।

लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग–२ शृंखलामा खेल्न जानका लागि गत बिहीबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

यूएईमा सोमबारबाट आईसीसी विश्वकप लिग–२ शृंखला सुरू भएको छ र जसको पहिलो खेलमा नेपाल ४ विकेटले विजयीसमेत भएको छ।

अदालतले लामिछानेलाई यूएई जान अनुमति मागिएको निवेदन र धरौटीमा रिहा गर्ने निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन दुवैलाई सँगै राखेर सुनुवाइ गरेको थियो।

तर सर्तसहित उनलाई रिहा गर्ने पाटन अदालतको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा दायर गरिएको निवेदन शुक्रबार हेर्न नभ्याइनेमा राखिएको थियो।

अदालतको आदेशकै कारण नेपाल क्रिकेट सङ्घले यूएई शृंखलाका लागि राष्ट्रिय टोलीमा लामिछानेको नाम समावेश नगर्ने निर्णय लिएको थियो।

यसअघि अघिल्लो साता कीर्तिपुरमा भएको आईसीसी विश्वकप लिग-२ शृंखलमा चारवटा खेलमा लामिछानेले १३ विकेट लिएका थिए।

क्रिकेटर लामिछानेले बिहीबार मात्र आफू यूएईमा हुने शृंखलामा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएका थिए।

१५ फागुन, २०७९, १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।