फिल्म राधा: दर्शकलाई थरीथरीका भर्सन, कलाकारलाई छैन चासो

फिल्म राधा: दर्शकलाई थरीथरीका भर्सन, कलाकारलाई छैन चासो

'फिल्म एउटै तर कुनै फेस्टिभल कुनै चाहिँ हल भर्सन। हलमा पनि अहिले अर्को परिमार्जित भर्सन। कलालाई जति नै मिलाए पनि पूर्ण नहुने रहेछ',  लामो श्वास फेर्दै 'द सेक्रेट अफ राधा' फिल्मका निर्देशक सुवर्ण थापाले कुरा सुरु गरे।

पाँच दिन हलमा लागेर बाहिरिएको थियो फिल्म राधा। निर्देशक थापा आफूले बेलैमा फिल्मलाई हलबाट निकालेर 'सेफ ल्याण्डिङ' गराएको बताउँछन्। 

तर, फिल्म क्षेत्रका मानिसहरू भने फिल्म कमजोर भएर हलबाट भागेको भन्छन्। सेफ ल्याण्डिङ हो या भागेको, यो फिल्म क्षेत्रकै मानिसले जानून्।

यतिबेला फिल्म पुनः हलमा चलाउने योजनामा छन् थापा। मलामी, सुनगाभा जस्ता फिल्म बनाएका थापा, राधा फिल्म बनाउँदासम्म दर्शकको मनोदशा बुझ्नमै व्यस्त छन्।

पहिले उनले फिल्म ब्ल्याक एण्ड ह्वाइटमा खिचे। यस्तो प्रयोग नेपाली दर्शकले मन नपराउन पनि सक्छन् भन्ने सल्लाह सुझाव पाए। मनन्‌योग्य लाग्यो उनलाई। आफैँले पनि सोचे- विदेशमै देखाउने हो भने ब्ल्याक एण्ड ह्वाइटमा न सिन्दुर देखिन्छ, न टीका। उतै योभन्दा गज्जबका ब्याल्क एण्ड ह्वाइट फिल्म छँदैछन्।

राधालाई कसैले पनि 'लभ स्टोरी'का रूपमा नहेरेको उनको गुनासो समेत छ। भने, 'गाउँघरमा श्रीमान्‌को पर्खाइमा समय बिताएकी एक युवतीको प्रमी पर्खाइको कथा हो यो।'

हल भर्सनमा पनि केही कमी देखिए। त्यसलाई सच्याउँदा परिमार्जित भर्सन तयार भयो। खोजिएका कारण र त्यसको उत्तर दिन खोज्दा यसका धेरै भर्सन तयार भए। 

फिल्मको चरित्र निर्माणमा समेत ध्यान दिइएको छ। राधाका श्रीमान् बासुदेव र मित सुदाम। उनले अनुहार खुम्च्याउँदै भने, 'यदि फिल्म चलेको भए यी विषयमा समेत चर्चा हुन्थे होलान्, चलेन त्यसैले केही चर्चा भएन।'

विदेशी दर्शकले कलामा कारण खोज्दैनन्
राधा बन्ने क्रममा सुवर्णले धेरै विषयमा आफैँलाई प्रश्न गरे। विदेश जाने समयमा अर्काको पासपोर्ट प्रयोग गरेका घटना छन् कि छैनन्, एक्लो महिलाले समाजसँग कस्ता झुट बोल्नसक्छन्, घरमा आगो लाग्दाको परिस्थितिमा के कस्ता प्रश्न उब्जिन सक्छन् लगायत।

कथा सुनाउँदा आएका सल्लाह सुझावलाई पनि मनन् गरे। सकेसम्म प्रश्न उब्जन नसक्ने कथा निर्माणमा जोड दिए। 

निर्देशक थापा भन्छन्, 'केही समय विदेश बसेँ, त्यहाँका विभिन्न महोत्सव र फिल्मी कार्यक्रमहरूमा सहभागी भएँ। विदेशतिर कलामा कारण खोज्दैनन्। कथा कसरी प्रस्तुत गरिएको छ भन्नेतिर ध्यान दिन्छन्।'

नेपाली र विदेशी दर्शकको स्वाद फरक, सिनेमा हेर्ने तरिका फरक। यही कारण उनले दुई वटा भर्सन तयार पारे, एउटा इन्टरनेसनल अर्थात फेस्टिभल भर्सन र अर्को हल भर्सन।

हल भर्सनमा पनि केही कमी देखिए। त्यसलाई सच्याउँदा परिमार्जित भर्सन तयार भयो। खोजिएका कारण र त्यसको उत्तर दिन खोज्दा यसका धेरै भर्सन तयार भए। 

'के दर्शकको मनोभाव बुझ्ने चक्करमा यसरी थरीथरीका भर्सन जन्मिएको हो?' भन्ने प्रश्नमा भने उनले 'हैन' भन्ने जवाफ दिए।

बजेट अभावले भनेको गर्नै पाइएन
फिल्म यसरी दोधारे पर्नुमा बजेटको भूमिका ठूलो रहेको बताउँछन्, निर्देशक थापा। उनले भने, 'राधा फिल्म एकैछिनको न्यानो हैन मेरा लागि। धेरै सोचेर, विचार गरेर यसलाई बनाउने निष्कर्षमा पुगेको हुँ। तर आर्थिक व्यवस्थापनमा समस्या हुँदा सोचेजस्तो गर्न सकिएन, फिल्म अन्तै मोडिन पुग्यो।'

पैसाकै लागि धेरै काममा 'कम्प्रोमाइज' गर्नुपरेको उनको भनाइ छ। 

'फिल्मको कन्सेप्ट परिवर्तन गर्नुपर्यो, कथा परिवर्तन गर्नुपर्यो, कुनै सट चित्तै नबुझे पनि दिन लम्बिएसँगै खर्च बढ्ने डरले ओके भनियो। त्यसैले राधा सोचेजस्तो बन्न सकेन', उनले भने।

त्यसैले फिल्मको नाम 'द सेक्रेट अफ राधा' भए पनि राधाको सेक्रेट स्क्रिनमा देखिन पाएन। राधाको सेक्रेट दर्शकसामु खुलेन, त्यो फिल्म सकिएसँगै सधैंका लागि सेक्रेट बन्यो।

यतिसम्म कि प्रचारप्रसार भनेजसरी गर्नै पाइएन पैसा अभावका कारण।

त्यसपछि फिल्मलाई कलरमा सारियो। नेपालको हलमा लगाउन त गीत नभई के मज्जा। यो कुरा पनि सही लाग्यो सुवर्णलाई। 

तीजको छेको पारेर गीत रेकर्ड गरियो- राधा पियारी, पावैमा पाउजु छैन बरिलै। 

गीत सोचेभन्दा धेरै हिट भयो। फिल्ममा गीतै राख्ने ठाउँ नभए पनि बीचमा घुसाइदिए। एडिटिङका क्रममा जे गर्न खोजे त्यो भएन, जे गरे त्यसले दर्शक तान्न सकेन।

अहिले परिमार्जनसहित फिल्म हलमा लगाउने तयारीमा छन् उनी। परिमार्जित भर्सन सबैले हेर्नुपर्ने खालको बनेको छ तर फिल्मका अन्य सदस्यहरूमा भने जोश हराउँदै गएको छ।

कलाकार सेलाए, निर्देशक मात्रै तात्दैछन् फिल्म चलाउन
यतिबेला फिल्म विदेशका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ। तर निर्माता समेत रहेका फिल्मका नायक सौगात मल्ल र फिल्म पूरै धानेकी सृष्टी श्रेष्ठ पुनः प्रदर्शनलाई लिएर गम्भीर देखिँदैनन्। उनीहरू कहिले अन्य फिल्मको शुटिङमा व्यस्त हुन्छन् त कहिले बिरामी।

सँगै प्रर्दशनमा आएको फिल्म 'प्रकाश'मा प्रदीप खड्काले मच्चाएको हल्ला, ताल न बेतालको फिल्ममा पूजा शर्माले गरेको रोनाधोना लगायतलाई स्मरण गर्दै उनी 'खिस्स' हासे मात्रै।

केहि दिनअघि परिमार्जित भर्सन भन्दै फिल्ममा चासो राख्ने दर्शक बोलाएर फिल्मको स्पेसल शो गरिएको थियो। विश्वज्योती मलमा अवस्थित हलमा भरिने गरेर दर्शक आए, पहिले फिल्म हेर्न नपाएका केही कलाकार पनि आए तर मुख्य भूमिका निर्वाह गरेकी नायिका सृष्टी आइनन् न त फिल्मको निर्माता रहेका सौगात, पर्दामा राम्रै उपस्थिती जनाएका खगेन्द्र लामिछाने नै आए।

फिल्मको पर्दाबाहिर जति  समूहले काम गरे पनि दर्शकले हेर्ने पर्दामा देखिनेहरूलाई नै हो। दर्शकलाई प्रभाव पार्ने पनि पर्दामा देखिने कलाकारले नै हो। तर राधा फिल्ममा बिँड तातेको थियो, ताप्के चिसिँदो थियो।

यही सन्दर्भमा फिल्मका निर्देशक सुवर्णलाई सोधियो, 'फिल्म चल्न कलाकार कत्तिको तात्नुपर्ने रहेछ त?' 

सँगै प्रर्दशनमा आएको फिल्म 'प्रकाश'मा प्रदीप खड्काले मच्चाएको हल्ला, ताल न बेतालको फिल्ममा पूजा शर्माले गरेको रोनाधोना लगायतलाई स्मरण गर्दै उनी 'खिस्स' हासे मात्रै।

२३ मंसिर, २०७९, १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।