साप्ताहिक शेयर समीक्षा: भावी सरकारको आकलनले बजार तल-माथि

साप्ताहिक शेयर समीक्षा: भावी सरकारको आकलनले बजार तल-माथि

निर्वाचनपछि नेप्सेमा के हुन्छ? शेयर बजार कता जान्छ? बजारका लागि कसको सरकार राम्रो? कुन दलको सरकार अर्थतन्त्रका निम्ति योग्य हुन्छ भन्ने जस्ता प्रश्नहरू लगानीकर्ताका लागि चासोका विषय हुन्।

यता, निर्वाचनपछि शेयर बजार बढ्ने अपेक्षा गरेका लगानीकर्ताले मङ्गलबार पनि घाटा व्यहोर्नुपर्यो। प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सकिएपछि खुलेको पहिलो दिनको शेयर बजार केही ओर्लिएर बन्द भएको थियो।

निर्वाचनअगाडि १९३६.८४ मा बन्द भएको नेप्से परिसूचक उक्त दिन ७.१३ अंकले घटेर १९२९.११ अंकमा कायम भयो। उक्त दिन कुल एक अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो। केही समय यताका कारोबारलाई हेर्दा यसलाई नराम्रो मान्न मिल्दैन। र, यो हुनुको प्रमुख कारण सुरुआती चरणमा नेप्से परिसूचक बढ्नु हो।

कारोबार खुलेको १५ मिनेटमै नेप्से बढेर १९६० अंकसम्म पुगेको थियो। तर शेयरबजार बन्द हुने समयमा अप्रत्यासित रूपले ओरालो लागेको थियो।

यस्तै  बुधबार पनि नेप्से परिसूचक ७.७ अंकले घटेर १९२१.९९ अंकमा कायम भएको थियो। नेप्से परिसूचक घटेसँगै यस दिन बजार कारोबार रकममा पनि कमी आएको थियो। अर्थात् मङ्गलबार एक अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार उक्त रकम घटेर एक अर्ब दुई करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँमा झरेको थियो।

साताको अन्तिम कारोबारको दिन अर्थात् बिहीबार भने शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। बिहीबार बजार परिसूचक नेप्से ११.५६ अंक (०.६० प्रतिशत) ले बढेर १९३३.५५ अंकमा बन्द भएको छ। यस दिन बजार परिसूचकमा सुधार भए पनि कारोबार रकम भने एक अर्ब पनि पुग्न सकेन।

बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ।

शेयर बजार यसरी कछुवा गतिमा तल-माथि हुनुको प्रमुख कारण भावी सरकारको जोडघटाउ (आकलन) भएको अर्थविद्हरू बताउँछन्। शेयर लगानीकर्ताहरूमा सरकार र अझ विशेषरूपमा अर्थ मन्त्रालयमा माओवादीको नेतृत्त्व आउलान् कि भन्ने भय रहेको देखिन्छ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको शेयर बजार मङ्गलबारदेखि मात्रै खुलेको थियो। मङ्गलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार दोहोरो अंकले बढेर बन्द भए पनि समग्रमा खुलेको अंकभन्दा घटेर बजार बन्द भएको छ।

अर्थात् साताको सुरुमा १९३६.८४ मा खुलेको नेप्से परिसूचक बिहीबार बन्द हुँदा १९३३.५५ मा पुगेको थियो।

साताभरिको कारोबारको रुझान हेर्दा लगानीकर्ताहरू हाइड्रोपावरमा बढी केन्द्रित भएको देखिन्छ। दोस्रो समूहमा व्यापार र तेस्रोमा बैंकिङ सेक्टरप्रति लगानीकर्ता आकर्षित भएका छन्।

शेयर बजार यसरी कछुवा गतिमा तल-माथि हुनुको प्रमुख कारण भावी सरकारको जोडघटाउ (आकलन) भएको अर्थविद्हरू बताउँछन्। शेयर लगानीकर्ताहरूमा सरकार र अझ विशेषरूपमा अर्थ मन्त्रालयमा माओवादीको नेतृत्त्व आउलान् कि भन्ने भय रहेको देखिन्छ। लगानीकर्ताहरूले माओवादीलाई शेयर बजारप्रति सकारात्मक नभएको ठान्ने गरेका छन्।

९ मंसिर, २०७९, ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।