मदिराको मस्तीले मस्तिष्क स्वाहा

मदिराको मस्तीले मस्तिष्क स्वाहा

काठमाडौँ : मनोरञ्जनसँगै मदिरा अनिवार्य समान बन्दैछ। कुलतको रूपमा हेरिने मदिरालाई अहिले सामाजिक पेयको रूपमा स्वीकार्य बन्दै गइरहेको छ। सँगै यसबाट स्वास्थ्य जटिलता समेत बढाइरहेको छ।

मदिरा सेवनले मस्तिष्क लगायत शरीरका विभिन्न अङ्गमा नकारात्मक असर गर्नेतर्फ चिकित्सक सजग गराउँछन्। मदिरा सेवनका कारण मस्तिष्क पक्षाघात हुनेलगायतका नकारात्मक असर पर्ने उनीहरूको मत छ।

शरीरको सबैभन्दा बढी रगत लिने अङ्ग मस्तिष्क भएकाले मदिरा सेवन गरेको खण्डमा मस्तिष्कमा अल्कोहल चाँडै पुग्ने वीर अस्पतालका न्युरो सर्जन प्रा.डा. राजीव झा बताउँछन्। जसले मस्तिष्कमा अल्कोहलको प्रभाव चाँडै पर्छ।

मस्तिष्कपछि कलेजो, आमाशय, मिर्गौला, रक्तकोषिका जस्ता अङ्गमा अल्कोहलको असर पर्दै जाने चिकित्सकको मत छ। यसरी शरीरका अङ्गमा नकारात्मक प्रभाव पर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भई व्यक्तिको शरीरमा विभिन्न किसिमका रोगले आक्रमण गर्ने जोखिम बढ्दै जान्छ।

मदिरा सेवन गरेर हिँड्दा टाउकोमा चोटपटक लाग्ने सम्भावना हुने नै भयो। त्यसै गरी भर्खरै शल्यक्रिया गरेको व्यक्तिले मदिरा सेवन गरेको खण्डमा घाउ सन्चो हुने प्रक्रियालाई समेत नकारात्मक असर पर्ने भएकाले मदिरा सेवन नगर्न वीर अस्पतालकै कन्सल्टेन्ट न्युरो सर्जन डा. सुशिलमोहन भट्टराईको सुझाव छ।

मदिरा सेवन गरेको व्यक्ति सामान्यतया गलत आसनमा सुत्ने भएकाले नसा निदाउने तथा दीर्घकालीन रूपमा नै नसा बिग्रने समस्या हुन सक्नेतर्फ सजग गराउँछन् उनी।

डा. झा मदिरा सेवन गरेपछि व्यक्तिमा क्षणिकरुपमा खुसी दिने किसिमका हार्मोन उत्सर्जन (रिलिज) हुने बताउँछन्। मदिरा सेवनले डोपामिन र सेरोटोनिनजस्ता खुसी दिने मस्तिष्क हार्मोनलाई उत्तेजित गराउँछ। त्यसैले मदिरा सेवन गरेपछि व्यक्तिले सुरुवाती चरणमा आनन्द महसुस गर्ने उनी बताउँछन्।

मदिरा सेवन गरेपछि जिब्रो देखिनै कोशिकाले अल्कोहल सोस्दै जाने चिकित्सक बताउँछन्। व्यक्तिले मदिरा मुखमा राख्यो भने झन् चाँडो सोसिएर मस्तिष्कमा पुग्ने डा. झाले बताए।

‘कोही मान्छेले रक्सी, बियर ननिली मुखमा राख्यो भने त्यो त झन् चाँडो दिमागमा पुग्छ,’उनले भने,‘चाँडो सोसिन्छ। त्यसो गर्नु हुँदैन।’

चिकित्सकको मत अनुसार मदिरा सेवन गरेपछि जिब्रोबाट नै अल्कोहल सोसिँदै पेटमा जान्छ। पेटमा गइसकेपछि पेटको सानो आन्द्रा, पेटको सानो भागमा सोसिन्छ। त्यसपछि अल्कोहल रगतको माध्यमबाट शरीरका विभिन्न अङ्गमा पुग्छ। 

डा. झाका अनुसार मदिरा सेवन गरेपछि मदिरामा भएको अल्कोहल रगतको माध्यमबाट मस्तिष्कमा पुग्छ। शरीरको विभिन्न अङ्गमध्ये सबैभन्दा बढी रगत मस्तिष्कले खपत मस्तिष्कले गर्छ।

सामान्यतया वयस्क तथा स्वस्थ व्यक्तिले बियर भए एक क्यान, वाइन भए एक गिलास र ह्विस्की भए ह्विस्की गिलासको एक चौथाइ भन्दा बढी मात्रा पिउन नहुने डा. झाको सुझाव छ।

‘सयमा करिब २५ प्रतिशत रगत मस्तिष्कले लिन्छ,’डा. झाले भने।

मस्तिष्कले सबैभन्दा बढी रगत खपत गर्ने भएकाले रगतको माध्यमबाट सबै भन्दा बढी अल्कोहलको मात्रा पनि मस्तिष्कमा नै जाने उनले बताए। मस्तिष्कमा नै अल्कोहलको मात्रा बढी गएपछि अल्कोहलको बढी असर मस्तिष्कमा नै पर्छ।

न्युरो सर्जन डा. झाका अनुसार व्यक्तिको मस्तिष्कभित्र करोडौँको सङ्ख्यामा न्युरोन हुन्छन्। न्युरोन एक अर्कामा जोडिएका हुन्छन्। एक आपसमा न्युरोन जोडिएर मस्तिष्कले काम गर्छ।

व्यक्तिले मदिरा सेवन गरेपछि न्युरोन पनि लट्ठिन्छ। जसले गर्दा सन्देश प्रवाह गर्ने न्युरोनको काम नै ढिलो  गतिमा हुन्छ। यसरी न्युरोन नै लट्ठिएपछि शरीरमा आवश्यक सन्देश प्रवाह गर्न सक्दैन।

न्युरोनको कामको प्रक्रिया ढिलो (स्लो) हुनुलाई चिकित्सकीय भाषामा ‘इन्हिबिशन’ भनिन्छ। जसले गर्दा मदिरा पिएको व्यक्तिमा डर हट्ने र रमाइलो अनुभूति हुनुकासाथै व्यक्तिमा उत्तेजना आउने चिकित्सक बताउँछन्।

मदिरा सेवन गरेको व्यक्तिमा अल्कोहलको मात्रा बढ्दै गएको खण्डमा मस्तिष्कमा भएका कोशिका लट्टिँदै जान्छन्। जसले गर्दा व्यक्ति लट्टिँदै जानुका साथै निदाउन पुग्छ। यसरी शरीरमा अल्कोहलको मात्रा धेरै भएको खण्डमा व्यक्ति अचेत समेत हुन्छ।

मस्तिष्क नै लट्ठिएपछि व्यक्तिले सोच्न नसक्ने, निर्णय लिन नसक्नेलगायत समस्या निम्तन्छन्। धेरै मदिरा सेवन गरे अल्कोहलले मस्तिष्कमा प्रभाव पारेपछि आँखा राम्रो नदेख्ने, कान राम्रो नसुन्ने, व्यक्ति शारीरिक तथा मानसिक रूपमा असन्तुलन हुने डा. झा बताउँछन्।

‘रक्सी धेरै पिउँदै गयो भने त व्यक्ति कोमामा नै जान्छ,’डा. झाले भने।

धेरै मदिरा सेवन गरेको समयमा व्यक्तिले गरेका गफ समेत याद नहुने उनी बताउँछन्। त्यसो  त मदिरा सेवन गरेकै समयमा व्यक्तिले आफ्नो मनको कुण्ठा व्यक्त गर्ने चिकित्सक बताउँछन्।

मनोविद् गोपाल ढकालका अनुसार मदिरा सेवन गरेको अवस्थामा व्यक्तिमा क्षणिक रूपमा उत्तेजना आउँछ। ढकालले भने,‘अल्कोहलले मस्तिष्क लट्ठ बनाउँदा  विचार, भावनामा प्रभाव पार्छ।’

नियमित व्यक्तिले मदिरा सेवन गरेको खण्डमा व्यक्तिमा मानसिक रोगको समेत जोखिम हुनसक्नेतर्फ ढकाल सजग गराउँछन्। मदिरा सेवन गर्ने व्यक्तिमा निन्द्रामा गडबडी हुनुकासाथै तथा दैनिकीमा नै नकारात्मक प्रभाव पर्दा मानसिक रूपमा तनाव उत्पन्न हुनसक्ने ढकालले बताए।

सकभर त मदिरा सेवन गर्नै हुँदैन। तर, मदिरा पिउने नै भए सामान्यतया वयस्क तथा स्वस्थ व्यक्तिले बियर भए एक क्यान, वाइन भए एक गिलास र ह्विस्की भए ह्विस्की गिलासको एक चौथाइ भन्दा बढी मात्रा पिउन नहुने डा. झाको सुझाव छ।

अल्कोहलमा मुख्य रूपमा इथानोल र मेथानोल जस्ता रसायन हुन्छन्। जुन रसायनले शरीरका कोशिकालाई मार्ने चिकित्सक बताउँछन्।

त्यसो त शरीरका अङ्गलाई सन्तुलित बनाउने काम मस्तिष्कले गर्छ। तर, मदिरा सेवन गरेपछि मस्तिष्कको क्षमता नै निष्क्रिय हुँदै जाने भएकाले व्यक्तिको हातखुट्टा लरबराउने, बोलीमा असन्तुलन हुने लगायतको प्रभाव पर्ने चिकित्सक बताउँछन्।

त्यसैले नियमित मदिरा  सेवन गर्ने व्यक्तिको मस्तिष्क लगायत शरीरका अङ्गमा नकारात्मक प्रभाव पर्दै जान्छ।

धेरै तौल भएको व्यक्तिको तुलनामा कम तौल भएको व्यक्तिलाई चाँडै अल्कोहलको प्रभाव पर्ने चिकित्सक बताउँछन्। मदिरा सेवनका कारण मस्तिष्कमा क्षति हुने भएकाले त्यसको नकारात्मक प्रभाव भविष्यमा देखिँदै जाने जोखिम हुन्छ।

अनियन्त्रित रूपमा मदिरा सेवन गर्नाले शरीरका स्नायु प्रणालीमा क्षति पुगी स्मरण क्षमतामा कमी हुने लगायतका असर पर्ने चिकित्सक बताउँछन्।

नियमित मदिरा सेवन गर्ने व्यक्तिको मस्तिष्क सुकेर राम्रोसँग काम गर्न नसक्ने अवस्थामा पुग्छ।

चिकित्सकको मत अनुसार मदिरा सेवनका कारण मस्तिष्क घात हुने जोखिम त्यतिकै हुन्छ। अत्यधिक मदिरा सेवनको कारण मुटुको चालमा गडबडी लगायतको जोखिम हुन्छ।

जसले गर्दा व्यक्तिको ज्यानै जानसक्नेतर्फ चिकित्सक सजग गराउँछन्। मुटुरोग तथा रक्तचाप, डाइबेटिज जस्ता बिरामीले मदिरा सेवन गरेको खण्डमा मस्तिष्कघात हुने सम्भावना बढी हुने डा. झाले बताए।

१६ असोज, २०७९, १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।