सरकारी अस्पतालका स्वास्थ्यकर्मीले कार्यालय समयमा निजीमा काम गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी

सरकारी अस्पतालका स्वास्थ्यकर्मीले कार्यालय समयमा निजीमा काम गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा निजी अस्पतालमा काम नगर्न र प्रचारप्रसार नगर्न सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ।

मन्त्रालयले बिहीबार पत्र पठाउँदै मन्त्रालय मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधवार कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो।

मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले जारी गरेको सूचनामा मन्त्रालय र अन्तरगतका विभाग, अस्पताल, केन्द्र तथा मातहतका निकाय एवं कार्यालयमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले कार्यालय समयमा निजी क्षेत्रका विभिन्न अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी जाँच गर्ने लगायतका काम गर्ने र सो प्रयोजनको लागि विभिन्न सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेको गुनासो आएको उल्लेख छ।

मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा सरकारी स्वास्थ्य संस्था बाहेकका निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानुन, नैतिकता, व्यक्तिगत आचरण विपरीत भएको भन्दै पत्रमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न भनिएको छ।

आगामी दिनहरूमा कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले यस्ता प्रकारका गतिविधि एवं क्रियाकलाप गरे नेपाल स्वास्थ्य सेवा ऐन, २०५३. नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही हुने पत्रमा उल्लेख छ।

१३ बैशाख, २०८१, १३:२१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।