यातायात व्यवसायीको धम्कीपछि तीन वर्ष थन्किएको विद्युतीय बस बल्ल सञ्चालनमा आउँदै

यातायात व्यवसायीको धम्कीपछि तीन वर्ष थन्किएको विद्युतीय बस बल्ल सञ्चालनमा आउँदै

बुटवल: लामो समयदेखि लुम्बिनीमा थन्किएका विद्युतीय बस आजदेखि सञ्चालनमा आउने भएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लुम्बिनीलाई विशेष प्राथमिकता दिएर एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीमा विद्युतीय बस ल्याइएको थियो।

सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी गाडी विगत तीन वर्षदेखि थन्किएका थिए। बस खरिद हुनुअघि नै लुम्बिनी विकास कोषले यसको सञ्चालनको मोडालिटी बनाउन निजी क्षेत्रका यातायात व्यवसायीलाई समेत बोलाएर छलफल गरे पनि उनीहरूले बस चलाउन नदिने धम्की दिएका थिए। त्यसपछि लुम्बिनी विकास कोष हच्किएको थियो।

दशैंको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गर्ने तयारी गरिए पनि लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि भने अझै टुङ्ग्याएको छैन।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सङ्घ–संस्थाको बैठकले बिहीवारदेखि नै तत्काललाई पाँच वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

तत्कालका लागि पाँच वटा बस विभिन्न रूटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले जानकारी दिए।

थन्किएका बस निःशुल्क सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको उनले बताए।

तत्काललाई बेलहियादेखि गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुनेछन्।

कोषले सबै बिजुली बस तथा भ्यान यही असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा पनि ल्याउने भएको छ।

१३ असोज, २०७९, ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।